निगमले गर्यो १ अर्ब ३५ करोड रुपैँया ऋण भुक्तानी


काठमाडौं । नेपाल वायुसेवा निगमले १ अर्ब ३५ करोड रुपैँया ऋण भुक्तानी गरेको छ । निगमले असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिुर्नपर्ने ऋण दायित्व बापतको किस्ता भुक्तानी गरेको जनाएको छ ।

कर्मचारी सञ्चय कोषलाई निगमले ९० करोड रुपैँया भुक्तानी गरेको छ । न्यारोबडी खरिद बापत ४५ करोड र वाइडबडी जहाज खरिद बापतको ४५ करोड किस्ता भुक्तानी गरेको उल्लेख गरेको छ ।

निगमले नागरिक लगानी कोषलाई वाइडबडी खरिद गर्दाको ऋण दायित्वको किस्ता बापतको ४५ करोड रुपैँया भुक्तानी गरेको जनाएको छ ।

विगतमा विश्वव्यापी कोरोना महामारीका कारण विश्व उड्डयन बजार नै धराशायी हुँदै गर्दा निगम पनि अप्ठ्यारो समयबाट गुज्रिनु परेको यथार्थका बीच व्यवसायमा आएको तत्कालीन शिथिलताले आम्दानीको स्रोतमा समेत नकारात्मक असर पर्न गएको थियो ।

पछिल्लो समय कोरोनासम्बन्धी स्वास्थ्य मापदण्डमा आएको विश्वव्यापी खुलापनसँगै अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी दरमा सुधार, उडानमा भएको सामान्यीकरण तथा नियमिततासँगै आम्दानीमा समेत तुलनात्मक बढोत्तरी भएको कारण उक्त किस्ता तिर्न सहज भएको निगमको भनाइ छ ।