काठमाडौँ । नेपाल वित्तीय संस्था संघमा नयाँ कार्यसमिति चयन भएको छ । २०८३ असोज २ गते संघको ३०औँ तथा ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।
साधारण सभाले संघको विगतका गतिविधि तथा प्रगतिको समीक्षा गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
साधारण सभाबाट सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठ नेपाल वित्तीय संस्था संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया, महासचिवमा प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ, कार्यसमिति सदस्यमा गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङ, इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनिल जोशी निर्वाचित भएका छन् ।
संघका निवर्तमान अध्यक्ष सुनिल पन्तले आगामी दिनमा निरन्तर संघसँग आबद्ध रही नयाँ कार्यसमितिलाई आवश्यक मार्गदर्शन प्रदान गर्ने जनाइएको छ । त्यसैगरी, संघले यसअघि तत्कालीन निवर्तमान अध्यक्षका रूपमा जिम्मेवारी निर्वाह गरेका सरोज काजी तुलाधरले संघको संस्थागत विकास, सदस्य संस्थाहरूको सामूहिक हित तथा संघका गतिविधिहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन पु¥याएको योगदानको प्रशंसा गर्दै धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ ।
नवनिर्वाचित कार्यसमितिले नेपालका वित्तीय संस्थाहरूबीचको समन्वय, सहकार्य र संस्थागत एकता थप सुदृढ गर्ने, सदस्य संस्थाहरूका साझा विषय तथा समस्याहरूलाई प्रभावकारी रूपमा सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्ने तथा वित्तीय क्षेत्रको समग्र विकासका लागि नेपाल राष्ट्र बैंक, नेपाल सरकार तथा अन्य सम्बन्धित सरोकारवाला निकायहरूसँग थप प्रभावकारी र रचनात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्