अघि बढ्यो बुक बिल्डिङ : आइपीओ जारी गर्न सर्वोत्तम र रिलायन्सले मागे बोर्डसँग अनुमति


काठमाडाैं । सर्वत्र चासो र चर्चाको विषय बनेको बुक बिल्डिङ प्रणाली बल्ल अगाडि बढेको छ । पछिल्लो समय लगानीकर्ताले व्यग्र प्रतीक्षा गरेको सर्वोत्तम सिमेन्ट लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ प्रणालीमार्फत आइपीओ निष्काशन गर्न प्रक्रिया अगाडि बढाएका हुन् ।

बुक बिल्डिङ मार्फत आइपीओ निष्काशन गर्ने कम्पनीले आशय मूल्यको लागि संस्थागत लगानीकर्ताहरुसँग (रोड सो) छलफल कार्यक्रम गर्नुपर्ने हुन्छ ।

कम्पनीले न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव लिनुपर्नेछ ।

बुक बिल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गर्ने कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्नेछ ।

गत असारमा यी दुवै कम्पनीले बुक बिल्डिङमार्फत साधारण सेयर आइपीओ निष्काशन गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको बिक्री प्रबन्धक ग्लोबल आइएमआई क्यापिटलले जनाएको छ ।

यी दुवै कम्पनीले पहिलो चरणमा पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताहरूलाई ४० प्रतिशत आईपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको ग्लोबल आइएमआई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले बताए ।

बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्दा सर्वसाधारणमा निष्कासन गरिने सेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ ।

ढकालका अनुसार सर्वोत्तम सिमेन्टले प्रथम चरणमा २४ करोड रूपैयाँ बराबरको २४ लाख कित्ता आईपीओ निष्कासन गर्न असार २८ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

त्यस्तै रिलायन्स स्पिनिङ मिल्सले पनि प्रथम चरणमा ७ करोड ७० लाख ६४ हजार रूपैयाँ बराबरको ७ लाख ७० हजार ६ सय ४० कित्ता आईपीओ निष्कासन गर्न असार ३१ गते बोर्डमा निवदेन दिएको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।
दुवै कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमआई क्यापिटल रहेको छ ।

“सर्वोत्तम सिमेन्टले मूल्यांकन गरेर २४ लाख कित्ता सेयरको प्रतिकित्ता ५ सय १ रुपैयाँ वा सोभन्दा माथि हुने गरि मूल्य माग्यो,” ढकालले भने “ संस्थागत लगानीकर्तासँगको छलफल कार्यक्रम (रोडसो) सत प्रतिशत भन्दा बढी सेयर बिक्री हुने गरी कम्पनीले राखेको ५ सय १ रुपैयाँ मूल्य भन्दा माथि नै आशय मूल्य आएको छ ।”

‘रोड सो’ भनेको संस्थागत लगानीकर्ताले प्रस्तावित गरेको मूल्यमा हुने छलफलबाट कायम हुने मूल्य हो ।

त्यस्तै रिलायन्स स्पिनिङ मिल्सले प्रतिकित्ता ७ सय १ रुपैयाँ मूल्य राखेर ७ लाख ७० हजार कित्ता सेयर प्रस्ताव गरेको थियो । तर, ‘रोड सो’मा कम्पनीले राखेको मूल्य भन्दा कम मूल्य प्रतिकित्ता ६ सय ८ रुपैयाँमा सत प्रतिशत सेयर बिक्री हुने गरी आशय मूल्य आएको ढकालले बताए ।

उक्त ‘रोड सो’बाट संस्थागत लगानीकर्ताहरुले राखेको आशय मूल्य विवरण पत्रमा उल्लेख गरेर दुवै कम्पनीले धितोपत्र बोर्डसँग अनुमति मागेका छन् ।

धितोपत्र बोर्डले अनुमति दिने बेला विवरण पत्रमा केही कुरा चित्त नबुझे तल–माथि हुन सक्छ । “बोर्डबाट अनुमति पाएपछि हामीले बोलकबोल गछौं ढकालले भने “बोर्डले तोकेको बिक्री मूल्यको दायरामा बसेर बोलकबोल गछौं, जुन मूल्यमा विक्री गछौं त्यो ‘कट अफ’ मूल्य हुन्छ भने त्यही मूल्यमा १० प्रतिशत छुट दिएर सर्वसाधारणमा सेयर आउँछ ।”

बुक बिल्डिङमार्फत आईपीओ जारी गर्नको लागि सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको निवेदन आएको धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले बताए ।

हामीहरुले वास्तविक क्षेत्रका कम्पनीहरुलाई बुक बिल्डिङ प्रणालीमा आउन प्रर्बधन तथा प्रोत्साहन गर्ने लाइनमा बोर्ड रहेको हुनाले सकेसम्म छिटो गर्ने तयारी रहेको केसीले जनाए ।

बुक बिल्डिङ प्रणालीमार्फत् आइपीओ जारी गर्ने पहिलो कम्पनी भनेर बहुचर्चित बनेको सर्वोत्तम सिमेन्ट पछिल्लो समय निकै विवादित बनेको थियो । आइपीओ निष्काशन गर्ने तयारीमा भएको कम्पनीको भित्री कारोबार भएपछि विवादित बनेकोे थियो ।

सर्वोत्तम सिमेन्टको सेयर सेयर किनबेचमा (भित्री कारोबारमा) संलग्न भएको पुष्टि भएपछि धितोपत्र बोर्डका तत्कालीन अध्यक्षभीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो भने नेप्सेका सिइओ चन्द्रसिंह साउदले राजीनामा नै दिनुपरेको थियो ।

यही विवादमा करिब ६ महिना बोर्ड र नेप्से नेतृत्वविहीन भयो जसले गर्दा बुकबिल्डिङ प्रणाली कार्यान्वयन प्रक्रिया अगाडी बढ्न सकेको थिएन ।

बोर्ड अध्यक्ष र नेप्से सिइओ विना यो प्रक्रिया अगाडि बढ्न नसक्ने बताउँदै आएको सर्वोत्तमले दुवै निकायमा नेतृत्व नियुक्त भएपछि आइपीओ लागि प्रक्रिया अगाडि बढाएको सर्वोत्तम सिमेन्टले जनाएको छ ।