गरिबको खाना भनेर चिनिने कोदोको महिमा


भिमफेदी, मकवानपुर। । “कोदोको योगदानः खाद्य तथा पोषण सुरक्षामा बरदान” मूलनाराका साथ आज दोस्रो कोदो दिवस सम्पन्न भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ५ छवेलीकी ६० वर्षे वृद्धा दिल कुमारी लामाले आफूले कोदो बेचेर मनग्य आम्दानी गर्दै आएको बताइन् । राष्ट्रिय कृषक समूह महासंघ नेपाल, एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस् र छवेली कृषक समूह भिमफेदी ५ मकवानपुरको संयुक्त आयोजनमा श्रवाण १५ गते दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै भिमफेदी गाउँपालिका वडा ५ छवेली कृषक समूहकी उपाध्यक्ष दिल कुमारी लामाले आफूले विगतका दिनहरु कोदो खेतिबाट मनग्य आम्दानी गर्दै आए पनि आजका दिनहरुमा यसको लोप हुदैँ गएको बताएकी छन् । लामाका अनुसार कोदोको परिकारलाई कालो भनेर हेप्दा अन्य ठाउँहरुमा यसको लोप हुदैँ गएको उनले गुनासो गरेकी छन् ।

जलवायुमैत्री खेती साथै कोदोको स्वास्थ्य लाभ र यसको खेतीका लागि उपयुक्तता बारे जनचेतना अभिवृद्धि गर्ने उदेश्यले ७० भन्दा बढी देशहरुको समर्थनमा सन् २०२१ मार्चमा संयुक्त राष्ट्रसंघको महासभाले २०२३ लाई कोदो अन्तराष्ट्रिय वर्षको रुपमा मनाउने घोषणा गरेको छ । २०७६ सालदेखि महासंघ र अनाजले कोदोको बारेमा बहस चलाउँदै आइरहेको थियो । २०७७ सालदेखि दिवसकै रुपमा मनाउन थालिएको हो ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा रहेकी समावेशी आयोगका सदस्य (किसानतर्फ) विष्णु माया ओझाले कोदोको संरक्षणमा जोड दिँदै किसानलाई उत्पादन गर्नुको साथै त्यसको उपभोगमा पनि ध्यान दिन आग्रह गरिन् । उनले भनिन्, “यो उत्पादन मात्र होइन, यसलाई सेवन पनि गर्नुस्, अब यसलाई लुकाएर होइन, सबैलाई देखाएर खानुस् ।’’

खाद्यान्नमा कोदो सबभन्दा बढी पोषिलो रहेकाले यसबाट किसानले आर्थिक तथा स्वास्थ्यको फाइदा लिन सक्ने बताउँदै उनले लोप हुन लागेको कोदोलाई जोगाउन आवश्यक रहेको बताइन् । कोदोबाट थुप्रै परिकारहरु बनाउन सकिने बताउँदैे यसको वजारको समस्या छैन तर नेपालमा यसको उत्पादन नरहेको उनको भनाइ थियो ।

राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतका अनुसार नेपाल सरकारले धान खेतिलाई मात्र प्रथामिकता दिएको र कोदो उत्पादन गर्न किसानलाई प्रोत्साहन नगरेको बताए । उनले भने, “सरकारले धान दिवसलाई मात्र प्रचार गरेको छ । जसले गर्दा आजको दिनमा कोदो कस्तो हुन्छ भनेर आउने पुस्ताले प्रश्न गर्ने बेला आएको छ । त्यसैले हामी केही संस्थाहको सहकार्यमा अघिल्लो वर्षबाट कोदो दिवस मनाउँदै आएका छौँ । ’’

यूएन सदस्य भएका राष्ट्रले २०२३ कोदोे वर्षको रुपमा मनाउने बस्नेतको भनाइ छ । “त्यो बेला हामीले पनि नेपाल सरकारलाई श्रवाण १५ गते कोदो दिवसको रुपमा देशभर मनाउन गरि कोदो दिवस घोषण गर्न माग गर्नेछौँ । ’’ उनले भने ।

युवाहरुलाई विदेश पठाएर रेमिटेन्सले देश चलाउनु भन्दा कोदो जस्ता रैथाने खेतिमा युवाहरुलाई आकर्षित गर्दा देशको अर्थतन्त्र बलियो हुने राष्ट्रिय किसान आयोगकी सदस्य तथा पवक्ता जिवनति पौडेलले बताइन् । उनले भनिन्, “हामीले छोरा छोरीलाई आर्शिवाद दिदाँ डाक्टर, पाइलट हुनु भनेर आर्शिवाद दिन्छौँ तर किसान हुनु भनेर दिदैनौँ । त्यसकारण हामीले किसानलाई प्रोत्साहन गर्नेको लागि बेलाबेलामा रैथाने बाली सम्बन्धी तालिम दिन जरुरी रहेको छ । उनले थपिन, “हामीले देखावटी कृषि गर्दै आएका छौँ । जसकारण आज कोदो उत्पादन हुने जग्गाहरु बाँझो छन् । अनि बजारमा गर्बका साथ त्यै कोदो बढी दाममा किनेर खान्छौँ । ’’

कोदोको महत्तव र फाइदा

कोदो पोष्टिकताको हिसाबले विश्वको महत्तवपूर्ण बाली रहेको छ । यसमा असाध्यै धेरै पौष्टिक तत्व रहेको हुन्छ । रेसा र शरिरलाई चाहिने क्याल्सियम, फसफोरस, फलाम, लवन, अमिनोएसिड लगायतका खाद्य पदार्थ पाइन्छ । त्यसकारण यसले मधुमेह, एनिमिया, हडिड् बलियो बनाने, मुटु तथा रगतको मात्र बढाउनलाई औषधीय वस्तुको रुपमा प्रयोग भएको पाइन्छ । कोदोलाई हिमालयन सुपर फुडको रुपमा चिनिन्छ । त्यसैगरि नेपालमा आदिवासी, जनजाति समुदायहरुमा चाडपर्व तथा पुजा आजामा कोदोको रक्सी चढाउने तथा अतिथि सत्कारमा प्रयोग हुदैँ आएको छ ।’

त्यस्तै, भिमफेदी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष जाहारसिङ्ग लामाका अनुसार उक्त वडाले कोदो उत्पादनमा किसानलाई थप प्रोत्साहन गर्ने हेतुले पालिकाको निति तथा कार्यक्रममा बजेट विनियोजन गरेको बताए । उनले भने,“ छिटो भन्दा छिटो भिमफेदी गाउँपालिकाले कोदोको पिडोलाई ब्राण्डको रुपमा चिनाउने छ ।’’

विदेशबाट कोदोको आयात

सिमावर्ती क्षेत्रमा हुने सस्तो र कम गुणस्तरको उत्पादन र आयातले आन्तरिक उत्पादन विस्थापन गरायो । फलस्वरुप गत वर्ष सात करोड १५ लाख २७ हजार रुपियाँ बराबरको कोदो आयात भएको पाईन्छ भने आर्थिक वर्ष २०७७/७८ मा सात करोड २२ लाख रुपियाँ बराबरको कोदो आयात भएको सरकारी तथ्याङ्कले देखाएको छ । पाखो खोस्रेर दाना फाल्दा पनि उम्रेर फल्ने भएकाले उत्पादनलाई व्यवस्थित गर्दै करोडौंको आयात रोक्न स्वेदशमै कोदो उत्पादनलाई प्रवद्र्धन गर्न आवश्यक देखिन्छ ।