नेप्से ३४ अंकले घट्याे, कारोबार रकम साढे २ अर्ब माथि


काठमाडाैं । साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) पनि सेयर बजारले ओरालो लागेको छ । शुक्रबार कारोबार भएको २ घण्टामा ३४ अंकले घटेर बजार बन्द भएको छ भने कारोबार रकम २ अर्ब माथि पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३४.८५ अंकले घटेर २११३.३० अंकमा झरेको छ भने सेन्सेटिभ परिसूचक पनि ५.९१ अंकले घटेर ४०६.३४ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड बाहेक बाँकी सबै वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ ।

शुक्रबार पनि कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १५ करोड ६६ लाख २९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज जोशी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ५.९१ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.१८ प्रतिशतले घटेको छ ।

कूल २१३ वटा कम्पनीको ६४ लाख १६ हजार ६ सय २९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९ सय ४८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।