हिमालयन हाइड्रोपावरको पहिलो कारोबार आइतबारदेखि, ओपनिङ रेन्ज कति ?


काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको सर्वाजनिक गरेको आइपीओसहित कुल १ करोड ९ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको छ ।

नेप्सेमा यो कम्पनीको १०० अंकित दरका कुल १ करोड ९ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको छ । जसमा स्थानीयको ९ लाख कित्ता, सर्वसाधारणको १३ लाख ५० हजार कित्ता र संस्थापक समूहको ८७ लाख कित्ता सेयर छन्।

सर्वसाधारणका लागि खुला गरेको आईपीओ असार २८ गते मंगलबार कम्पनीले बाँडफाँड गरेकोमा साउन २० गते शुक्रबार धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत गरेको हो । यससँगै अब आइतबारदेखि कम्पनीको धितोपत्र दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि एचएचएल कारोबार संकेत प्रदान गरेको छ भने धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ७६.३३ रुपैयाँदेखि अधिकतम २२८.९९ रुपैयाँसम्मको अधिकतम कारोबार रेञ्ज तोकेको छ ।