आगामी कार्तिक दोस्रो साता सीएनआई रोजगार तथा सीप मेला हुने


काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) को आयोजनामा सिएनआई रोजगार तथा सीप मेला २०७९ सम्पन्न हुने भएको छ। आगामी कार्तिक १७ देखि २० सम्म काठमाडौंस्थित भृकुटीमण्डपमा मेला सम्पन्न गरिने सीएनआईले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

विभिन्न कम्पनी तथा कामको खोजिमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न मेलाले पुलको काम सीएनआईले जनाएको छ । रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता हुनेछ ।

बजारमा सीपको उपलब्धता र सीपको आवश्यकता बीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम हुने, सरकार तथा अन्य सरोकारवालाहरूलाई रोजगारदाता र रोजगारीको खोजिमा रहेकाहरुको आवश्यकतामा काम हुने र नेपालमा विश्वस्तरीय जनशक्ति सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताहरूको पहिचान हुने लगायत मेलाका अपेक्षित उपलब्धि हुने सीएनआईले जनाएको छ ।

तीन दिने मेलामा २०० भन्दा बढी कम्पनीहरु सहभागि हुने अनुमान गरिएको छ । “कर्पोरेट हाउस, नवप्रवर्तन, शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमुलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरुसमेत गरी ५० हजार भन्दा बढी व्यक्तिहरुले मेलाको अवलोकन गर्ने अपेक्षा गरेका छौं,” सीएनआईले भनेको छ । मेला संयोजकको रुपमा द्धिराज शर्मा र अमित बेगानी तोकिएको जनाइएको छ ।