एक–दुई जनामाथि महाअभियोग लगाउँदैमा न्यायालयको सुधार हुँदैन, न्यायालयको पुनःसंरचना आवश्यक छः खुश्बु ओली


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न न्यायालयको पुनःसंरचना आवश्यक रहेको बताएकी छिन् । 

सोमबार नेपाली काँग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सर्वोच्चका न्यायाधीश तथा प्रधानन्यायाधीशको समेत नाम जोडर सार्वजनिक भएका घटनाहरुले न्यायालयप्रति सर्वसाधारणको विश्वास कमजोर भएको बताएकी हुन्।

एक–दुई जना व्यक्तिमाथि महाअभियोग लगाउँदैमा न्यायालयको समग्र सुधार सम्भव नहुने भन्दै उनले न्यायालयको पुनःसंरचनामा सरकार गम्भीर हुनुपर्ने बताइन् । उनले न्यायालयको विषयलाई संसदमा गम्भीर बहसको विषय बनाउनुपर्ने भन्दै यथाशिघ्र संसद आह्वान गर्न समेत माग गरिन् । 

उनले भनिन्, “न्यायालयमा जुन किसिमको घटना बाहिर सार्वजनिक भएको छ त्यो अत्यन्त चिन्ताको विषय पनि हो । आम सर्वसाधारणले अन्य प्रशासनिक निकायलाई विश्वास नगरे पनि न्यायालयलाई विश्वास गरिराखेका हुन्छन् । त्यसकारण न्यायालयमा व्यापक सुधारको आवश्यकता छ । एक–दुई जना व्यक्तिहरूमा महाभियोग लागेर मात्र यो पूर्ण रुपमा सुधार  हुँदैन । यद्यपि छानबिनको क्रममा प्रमाणहरू कस्तो देखाउँछ, त्यसपछि आधिकारिक धारणा राष्ट्रिय प्रजातन्त्र पार्टीले बनाउने छ । र अहिले चाहीँ हामीलाई के लाग्छ भने न्यायालयमा जुन किसिमको एउटा विकृति हामीले अनुभव गरिराखेका छौँ, त्यसलाई हामीले व्यापक रूपमा सुधार गरेर न्यायालयको  पुनर्गठनमा नै जानुपर्नेछ ।”

उनले प्रहरी र सरकारबीचको सम्बन्ध, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्ति लगायतका कुराहरु संसदमा छलफल गर्नुपर्ने समेत बताइन् ।