अभियान लघुवित्तको आइपीओ सोमबार बाँडफाँड हुने


काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड साउन ३० गते सोमबार हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय नारायणचौर, नक्साल काठमाण्डौंमा आइपीओ बाँडफाँड गरिने तय भएको क्यापिटलले जनाएको छ ।

मागभन्दा धेरै आवेदन परेका कारण लघुवित्तको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाद्धारा १० कित्ताका दरले बाँडफाँड हुने क्यापिटलले जनाएको छ ।

लघुवित्तले साउन १८ गतेदेखि साउन २३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ०.५ प्रतिशत १२ हजार ५०० कित्ता० कर्मचारीहरुका लागि र ५ प्रतिशत ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयर खरिदका लागि सर्वसाधारण लगानीकर्ताबाट आवेदन मागिएको थियो ।

अन्तिम दिनसम्ममा लघुवित्तको आईपीओमा २० लाख ७९ हजार ७८८ वटा आवेदन परेको थियो । यो आवेदन २९ गुणा बढी हो । उक्त संख्याबाट २ अर्ब ३५ करोड ६८ लाख ३६ हजार रुपैयाँ बराबरको २ करोड ३५ लाख ६८ हजार ३६० कित्ता सेयर माग परेको छ ।

कम्पनी उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको थियो ।