भदौ ८ गतेदेखि खप्तड लघुवित्तले आईपीओ निष्काशन गर्दै


काठमाडौं । भदौ ८ गतेदेखि खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।

निष्काशन गर्न लागेको कुल शेयरमध्ये ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुिवत्तको आइपीओमा छिटोमा भदौ १२ गते र ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि धेरैमा १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ छ। सर्वसाधारणलाइ आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ।