‘काठमाडौंमा एनसेलको भ्वाइस तथा डेटाको गुणस्तर उत्कृष्ट’


काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले गरेको विभिन्न परिक्षणमा एनसेल उत्कृष्ट देखिएको छ । प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गत असार १२ गतेदेखि २२ गतेसम्म भ्वाइस तथा डेटा सेवाको गुणस्तर परीक्षण गरेको थियो । टंगाल, हाँडीगाउँ, सानो गौचरण, बौद्ध, चाबहिल, गौरीघाटलगायतका क्षेत्रमा गुणस्तर परीक्षण गरेको प्राधिकरणले जनाएको छ।

जसअन्तर्गत एनसेलबाट कल सेटअप सफल दर (कल सेटअप सक्सेस रेट) शतप्रतिशत रहेको भने नेपाल टेलिकमको ९५.७१ प्रतिशत र स्मार्ट टेलिकमको ९४.५२ प्रतिशत रहेको छ। प्राधिकरणले फोनकल फोनकल सेटअप सफल दरको थ्रेसहोल्ड ९९.९९ प्रतिशत वा त्योभन्दा बढी हुनुपर्ने कायम गरेको छ।

यस्तै फोन लाग्ने समय (कल सेटअप टाइम) मा पनि एनसेलनै अघि देखिएपनि प्राधिकरणले तोकेको थ्रेसहोल्ड भित्र परेको छैन। पाँच सेकेन्ड वा त्योभन्दा कम हुनुपर्नेमा फोनकल लाग्ने समय एनसेलको ५.१३ सेकेन्ड, टेलिकमको ७.२७ सेकेन्ड र स्मार्टको ९.३ सेकेन्ड छ।

कल ब्लक रेट (ग्रेड अफ सर्भिस) एनसेलको कल ब्लक रेट शून्य प्रतिशत रहँदा टेलिकमको ४.२९ प्रतिशत र स्मार्टको ५.४८ प्रतिशत रहेको छ। प्राधिकरणले कल ब्लक रेटको थ्रेसहोल्ड दुई प्रतिशत वा सोभन्दा कम हुनुपर्ने तय गरेको छ।

कल काटिने दर (कल ड्रप रेट) दुई प्रतिशत वा त्योभन्दा कम हुनुपर्नेमा तीनवटै अपरेटरहरुको फोनकल काटिने दर शून्य प्रतिशत रहेको परीक्षणले देखाएको छ।

डेटाको हकमा भने यसमा भने टेलिकम अघि देखिएको छ। टेलिकमको ९०.८ एमएस, स्मार्टको १७२.९३ एमएस र एनसेलको १९२.८९ एमएस देखिएको परीक्षणले देखाएको छ। प्राधिकरणले यसको थ्रेसहोल्ड २५० एमएस कायम गरेको छ।