यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने


काठमाडाैँ । सरकारले चालु आवभित्र ३० अर्ब रूपैँया बराबरको विद्युत भारत–बंगलादेशमा निर्यात गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत निर्यातबाट गत वर्षको तुलनामा बढी विद्युत् बेच्ने योजना बनाएको हो ।

प्राधिकरणकाअनुसार यस वर्ष विद्युत निर्यातबाट ३० अर्ब रुपैयाँको विजुली निर्यात गर्ने योजना छन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हालसम्म करिव २४–२५ अर्ब रूपैयाँ बराबरको विद्युत निर्यात भइसकेको यो वर्ष ३० अर्बको विद्युत् निर्यात हुने जानकारी दिए ।

पछिल्ला तीन–चार महिनामा प्रत्येक महिना करिब ५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको उनले बताए । उनकाअनुसार गत आर्थिक वर्षमा नेपालले करिव २९ अर्ब रूपैयाँ बराबरको विद्युत् निर्यात गरेको थियो ।

यस वर्ष भोटेकोसी बाडीले केही क्षति पुर्याएपनि वर्षा राम्रो भएकाले नदीमा पानीको बहाव बढेको र त्यसले विद्युत उत्पादनमा समेत सहयोग पु¥याएको श्रेष्ठको भनाइ छ ।

विद्युत उत्पादन बढ्दा निर्यातको परिमाण र आम्दानीसमेत गत वर्षभन्दा बढ्ने उनको भनाइ छ । नेपालले गत वर्ष २९ अर्बको बिजुली बेचेकोमा यसवर्ष ३० अर्ब पु¥याइने उनको भनाइ छ ।

नेपालले देशभित्रको विद्युत् माग पूरा गरी वचत भएको वर्षायामको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ । भारततर्फ विद्युत निर्यात दुई माध्यमबाट हुँदै आएको छ ।

द्विपक्षीय विद्युत विक्री सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा विद्युत विक्री गरिन्छ भने बाँकी विद्युत भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे–अहेड तथा रियल टाइम बजारमा प्रतिष्पर्धी दरमा विक्री हुँदै आएको छ ।

द्विपक्षीय मध्यकालीन विद्युत विक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत बिक्री गरिन्छ । यसरी भारतमा हुने विद्युत् व्यापारसँगै बंगलादेशमा समेत नेपालले वर्षायामको अतिरिक्त विद्युत् निर्यात गर्दै आएको छ ।

तर गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पु¥याएपछि बंगलादेशतर्फको विद्युत निर्यात रोकिएको थियो ।

बाढीका कारण द्विपक्षीय सम्झौताअनुसार स्वीकृति प्राप्त जलविद्युत केन्द्रमा क्षति पुग्दा भारतको हरियाणा राज्यतर्फको विद्युत निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो ।

बाढीबाट प्रभावित आयोजनाको सट्टामा अन्य जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्ने व्यवस्था मिलाइएको प्राधिकरण श्रेष्ठले जानकारी दिए ।

भारतको केन्द्रिय विद्युत प्राधिकरणबाट अन्य आयोजनाको विद्युत बंगलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि केही दिनअघिदेखि पुनः निर्यात शुरु गरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

नयाँ व्यवस्थाअनुसार यसअघि स्वीकृति प्राप्त त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा भारतको हरियाणा राज्यतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ । र सोहीअनुसार विजुली बेच्न थालिसकिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले बाढीबाट प्रभावित जलविद्युत आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगे पनि अन्य आयोजनाबाट विद्युत निर्यातलाई निरन्तरता दिन सक्नु र बंगलादेशतर्फको निर्यात पुनः शुरु हुनु नेपालको विद्युत् व्यापारका लागि ठूलो उपलब्धि भएको बताए । यसले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युतको बजार व्यवस्थापन र क्षेत्रीय विद्युत व्यापार विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ । 

नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत निर्यातसम्बन्धी पाँचवर्षीय सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात हुँदै आएको छ ।

बंगलादेशसँगको सम्झौता र भारततर्फको द्विपक्षीय तथा प्रतिस्पर्धी बजारमा हुने विद्युत विक्रीले नेपालको अतिरिक्त विद्युत व्यवस्थापनमा सहयोग पु¥याउँदै आएको छ । यस वर्ष जलविद्युत उत्पादन अनुकूल रहेकाले भारत र बंगलादेश दुवैतर्फको निर्यात बढ्ने र त्यसबाट विद्युत निर्यात आम्दानीसमेत गत वर्षको तुलनामा वृद्धि हुने प्राधिकरणले जानकारी दिएको छ ।