चिया उद्यममा जमेकी शान्ता


निर्यातबाट विदेशी मुद्रा आर्जनको उच्च सम्भावना बोकेको चिया क्षेत्रलाई सरकारले नयाँ नीति तर्जुमा गरेर किसानमुखी योजना ल्याउन सके चिया उत्पादन र गुणस्तर बढ्न सक्छ ।

शान्ता बाँस्कोटा, उद्यमी

आत्मनिर्भर भएर निर्यात गर्ने नेपालका थोरै उत्पादनमध्येमा अग्रणी नाम हो चिया । सयौं वर्षको इतिहास रहेको चिया उत्पादन, प्रशोधन, प्रवद्र्धन र बजारीकरणमा पनि धेरैले भूमिका खेल्दै आएका छन् । यस्तै भूमिका खेल्ने पाको नाम हो दिपकप्रकाश बाँस्कोटा । 

सन् १९८४ मा बाँस्कोटाले अर्गानिक (प्रांगारिक) चियाको उत्पादन सुरु गर्दा सरकारी निकायका पदाधिकारीसमेत यस विषयमा बेखबर जस्तै थिए । उनले पाँचथरमा सहकारी मोडलमा अर्गानिक चियाखेती गर्दा चिया क्षेत्र अन्य क्षेत्रजस्तो व्यावसायिक भएको थिएन । पाँचथरमा रहेको उक्त चिया बगान नेपालकै पहिलो अर्गानिक सर्टिफाइड बगान पनि हो । पूर्व गृहराज्यमन्त्री समेत रहेका बाँस्कोटाले अर्गानिक चिया खेतीका रूपमा सुरु गरेको कञ्चनजंघा टि स्टेट एण्ड रिसर्च सेन्टरले ३७ वर्ष पार गरिसकेको छ । 

आफ्नो उत्पादनको ७० प्रतिशत हिस्सा निर्यात गर्दै आएको छ उनको कम्पनीले । सात दशक पार गरेका बुबाको सक्रियता समाजसेवामा मोडिँदै गर्दा उनको बिँडो थामेकी छिन् छोरी शान्ता बाँस्कोटाले । अर्गानिक उत्पादनलाई विश्वबजारमा लैजान उनकी माइली छोरी शान्ताले नेतृत्व गरिरहेकी छन् । शान्ताको यो यात्रामा उनकी बहिनी ताराले पनि साथ दिएकी छन् । “म बाबाको व्यवसायमा सहयोगी बनेर प्रवेश गरेको २० वर्ष भइसकेछ । म चिया क्षेत्रमा लाग्दा कामदार महिला संलग्नता अति न्यून थियो,” पुराना दिन सम्झिँदै उनी भन्छिन्, “कामदारको रूपमा चिया टिप्न, प्याकिङ गर्न, मार्केटिङजस्ता काममा कामदारका रूपमा खुम्चिएका थिए । उद्यमीका रूपमा महिलाको संलग्नता बिरलै पाएकी थिएँ ।” 

कञ्चनजंघा टि स्टेटले पाँचथरको ९५ हेक्टर जग्गामा उत्पादन गर्दै आएको छ । यसबाहेक थप करिब पाँच सय किसानले उत्पादन गरेको चिया खरिद गरी बजारमा पठाउने गरिएको छ । पछिल्लो समय इलाम र ललितपुरको चियालाई कञ्चनजंघाले प्रोत्साहन गरी बजारीकरणमा सहयोग गरेको छ । “नेपालभरका अर्गानिक सर्टिफाइड चियाका नमुना अमेरिका पठाएर व्यावसायिक बनाउन सहयोग गरेका छौं,” शान्ताले भनिन्, “उपभोक्ताले रुचाए भने नेपालभरिका सबै बगैंचाको चिया हामीले प्रवद्र्घन गर्छौं ।” 

श्रीमानकाे एक वाक्यले मोडिएको जीवन

पाँचथरमा जन्मिएकी शान्ताले त्रि–चन्द्र कलेजमा समाजशास्त्र विषयमा स्नाकोत्तर सक्दासम्म पनि बैंकमा जागिर खाने लक्ष्य थियो । बैंकको जागिरप्रति यति मोह थियो कि मानविकी संकाय पढेकी उनी धेरै बैंकमा कागजपत्र बोकेर धाइन् । शान्ताको काम गर्ने हुटहुटी देखेपछि उनका श्रीमान्ले ‘जागिरेका रूपमा काम गर्न होइन, आफ्नै उद्यम गर्न’ प्रेरणा थपे । श्रीमान्को पे्ररणाले उनको जागिर खाने मानसिकता फेरियो । उद्यमी बन्ने भोक लिएर उनी बुबाको व्यवसायमा सहयोगीको भूमिकामा प्रवेश गरिन् । दुई दशक चिया क्षेत्रमा बिताएकी शान्ता अहिले कञ्चनजंघाको नेतृत्व गरिरहेकी छन् । 

करिब एक सय किसान परिवार जोडिएको संस्थाले वार्षिक करिब ५० टन चियाको कारोबार गर्दै आएको छ । छिमेकी मुलुक चीनदेखि सात समुद्र पारि अमेरिका, क्यानडा र युरोपका दर्जन बढी राष्ट्रमा करोडौं रुपैयाँ बराबरको चिया निर्यात गर्ने संस्था बनेको छ । अर्गानिक उत्पादनमा केन्द्रित रहेको कञ्चनजंघाले अर्गानिक तरिकाबाट उत्पादन भएका विभिन्न चियालाई गुणस्तर परीक्षण र बजारीकरणमा सहयोग गरिरहेको बाँस्कोटा बताउँछिन् । “चियामा उपभोक्ताको पहिले सर्त भनेको गुणस्तर हो, उपभोक्ताले रुचाए भने हामी अन्य व्यवसायीको उत्पादनलाई प्याकिङ र बजारीकरणमा सहयोग गर्छौं,” उनले भनिन् । 

अर्गानिक कृषि व्यवसायमा तीन पुस्ता

दिपकप्रकाश बाँस्कोटाले सुरु गरेको चिया उद्यम मुख्य रूपमा छोरीहरू शान्ता र ताराले अंगालेका छन् । जसको नेतृत्वदायी भूमिकामा शान्ता छिन् । चिया उद्यममा नाति÷नातिनासमेत प्रत्यक्ष संलग्न हुन थालेका छन् । विदेशमा छरिएर रहेका दिपकका तेस्रो पुस्ताले अन्तर्राष्ट्रिय बजारीकरणमा नयाँ गन्तव्यको खोजीदेखि नेपालको मौलिकता झल्कने आकर्षक प्याकिङका कार्यमा सहयोग गर्दै आएका छन् । उनी भन्छन्, “हाम्रो तीन पुस्ता एउटैै समयमा चिया व्यवसायमा सहकार्य गर्न पाउँदा गौरवान्वित छौं ।” 

पारिवारिक मात्र नभएर यो कञ्चनजंघा सहकारी मोडलको रूपमा अघि बढेको व्यवसाय हो । सुरुवाति दिनदेखि नै बाँस्कोटाले किसानहरूको जमिनलाई सेयरमा रूपान्तरण गरेर सहकार्यमा स्थापना भएको थियो । आज पनि उनै किसानहरू साझेदार छन्् । पाँचथरलगायत विभिन्न जिल्लामा आबद्ध हुने कृषिलाई माया गर्ने, साना ठूला व्यवसाय गर्ने यसमा आबद्ध छन् । “सुरुवाति अवस्थामा जसले जिम्मेवारी लिएको हो उसले अघि त बढाउन प¥यो, सुरुमा अरुले नेतृत्व लिन चासो नदिएपछि यसलाई हामीले नै अघि लिएर जानुपर्छ भन्ने उद्देश्यका साथ म र मेरो बहिनी यो क्षेत्रमा होमियौं,” शान्ताले भनिन् । कम्पनीलाई बचाउन पर्छ भन्ने सोच लिएर उनकी बहिनी र भाइसमेत लागे । शान्ताको भाइ निश्चल बाँस्कोटाले अमेरिकामा ‘नेपाल टी कलेक्टिभ’ कम्पनी खोलेर अन्तर्राष्ट्रिय बजार हेर्छन् । आवश्यकताअनुसार शान्ता आफै पनि विदेशमा हुने नेपाली उत्पादन प्रवद्र्धन कार्यक्रममा पुग्छिन्, उनले नेपाली चिया विश्वभर पु¥याउन भूमिका खेल्दै आएकी छिन् । 

थरी थरिका स्वाद 

चिया विशेषतः दुई प्रकारका मात्र हुन्छन्, एउटा सिटीसी चिया, अर्को अर्थोडिक्स चिया । हामीले जुन बजारमा सिटीसी भनेर दूधको चिया खाएका छौं, त्यो चिया स्थानीय बजार र भारतमा धेरै खपत हुन्छ । अर्थोडिक्स चिया सामान्य रूपमा पहाडी क्षेत्रमा उत्पादन हुन्छ भने तराई क्षेत्रमा सिटीसी चियाको उत्पादन बढी हुन्छ । वर्षमा आठ महिना चियाका लागि उत्तम सिजन मानिन्छ ।

अहिले विश्व बजारमा बढी माग हुने गोल्ड टी, ह्वाइट टी, सिल्भर टीलगायतका चिया स्पेसल चिया हुन् । यसबाहेक साधारण दैनिक जीवनमा प्रयोग गरिने ग्रीन लिफ, ब्ल्याक लिफजस्ता साधारण खालका पनि उत्पादन गर्ने शान्ताले बताइन् । “अहिले युरोपमा सादा चियाभन्दा फ्लेवर चियाको माग बढी छ,” उनले भनिन्, “जिन्जर, लेमन ग्रास, कार्डामन, मिन्ट टी, म्यामोमाइल जस्ता १५ भन्दा बढी स्वादमा उत्पादन गर्छौं ।” 

अर्गानिक उत्पादन निर्यातमा सहज

अन्य उत्पादनका तुलनामा अर्गानिक उत्पादन विदेशमा निर्यात गर्न सहज हुने शान्ताको अनुभव छ । अर्गानिक सर्टिफिकेसन भएकाले विश्वका धेरै देशमा निर्यात गर्न बाधा नपर्ने उनको भनाइ छ । भारतमा भने उसले नेपालीको चियालाई ब्राण्डका रूपमा स्वीकार्न नचाहेका कारण निर्यात गर्न कठिनाइ भएको उनको अनुभव छ । अन्तर्राष्ट्रिय बजारमा लैजान सकिने उत्पादनलाई सर्टिफिकेसनका लागि गुणस्तरीय ल्याब परीक्षणको व्यवस्था भए अझै कम मूल्यमा नेपालको चियालाई विश्वबजारमा थप प्रवद्र्घन गर्न सकिने उनले बताइन् । 

प्रतिकेजी पाँच सय रुपैयाँदेखि प्रतिकेजी १० हजारसम्म पर्ने सिर्भल टिप्स उत्पादन गर्ने उनले बताइन् । उत्पादन गर्ने चियाको ७० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने उनले बताइन् । “उपभोक्ताको मागअनुसार फरक स्वादका चिया उत्पादन गर्छौं । जापान, जर्मनी, अमेरिका, क्यानडा, हङकङ, चीनलगायतका दर्जनौं देशमा निर्यात गरिरहेका छौं,” उत्पादन गर्नसके वार्षिक रूपमा करिब ५० टन बराबरको चियाको कारोबार गर्न सकिने उनले बताइन् । बगैंचामा काम गर्ने कामदारको अभावले चाहेजति उत्पादन गर्न नसकेको उनको भनाइ छ । चियामा सर्वाेत्कृष्ट क्वालिटीका लागि हरेका ४÷५ दिनमा कटिङ गर्नुपर्ने हुन्छ, शान्ताले भनिन, “त्यसको रोटेसन समयमा पूरा गर्न सकिएन भने गुणस्तरमा गिरावट आउँछ ।” 

चिया क्षेत्रलाई प्राथमिकता राख्नुपर्‍यो

सरकारले चिया क्षेत्रलाई प्राथमिकतामा नरखेकोको उनको बुझाइ छ । केही वर्ष पहिलासम्म चियालाई कृषि पेशामा समेत संलग्न गराइँदैन थियो । लामो पहलपछि सरकारले कृषि कर्जाका रूपमा चिया किसानलाई समावेश गराए पनि सन्तोषजनक कर्जा प्रवाह नभएको उनको गुनासो छ । निर्यातबाट विदेशी मुद्रा आर्जनको उच्च सम्भावना बोकेको चिया क्षेत्रलाई सरकारले नयाँ नीति तर्जुमा गरेर किसानमुखी योजना ल्याउन सके चिया उत्पादन र गुणस्तर बढ्ने उनले बताइन् । 

चियाखेती दिगो पेसा हो, चिया रोपेको पाँच वर्षपछि मात्र उत्पादन दिन सुरु गर्ने हुँदा धैर्यता आवश्यक छ । चियाखेतीमा लाग्ने व्यवसायीले बगैंचामा उत्पादन, प्रोसेसिङदेखि बजारीकरण हुँदै उपभोक्ताको मागलाई सम्बोधन गर्ने उत्पादन ल्याउनतर्फ लाग्नुपर्ने उनको बुझाइ छ । बाँसबाट बनाइएका झोला, नेपाली कागज, मिथिला चित्रकलाले सजिएका आकर्षक प्याकमा प्याकेजिङ गरेर निर्यात भइरहेको उनले बताइन् । “हामीले उत्पादनमात्रै बजारीकरण गरेका छैनौं, हाम्रो मौलिकता झल्कने कुरा यसमा समावेश गराएका छौं,” शान्ताले भनिन । उनको यो व्यवसायबाट १५० भन्दा बढी मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् । यसबाहेक प्याकिङ गर्ने मौलिक बक्स तथा चित्रकलामा पनि मानिसले रोजगारी पाएका छन् । 

चिया क्षेत्रको भविष्य उज्यालो हुँदै गएको उनको अनुभव छ । सुरुका दिनमा कठिन संघर्षको बाटो हिँड्न परे पनि धैर्यसाथ गुणस्तरीय उत्पादन दिनसके अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहने उनी बताउँछिन् । एकैनासको उत्पादनभन्दा बजार माग र नयाँ स्वादमा चियाका परिकार र तीनको आकर्षक प्याकेजिङ गर्नसके भविष्य थप सुनिश्चित हुने शान्ताको बुझाइ छ । 

२० वर्षअघिको जागिर खोज्दै भौंतारिएको जीवनमा चिया क्षेत्रमा लागेकै कारण जीवनमा आमूल परिवर्तन आएको उनको अनुभव छ । अहिले शान्ता अन्तर्राष्ट्रिय बजारीकरणदेखि फर्माको हेरचाह र कर्मचारी व्यवस्थापनका काममा नेतृत्व गरिरहेकी छिन् । यसबाहेक उनी निर्यात व्यवसायीको छाता संगठन, उद्योग वाणिज्य महासंघ, अर्गानिक उत्पादनका संघसंस्था गरि आधा दर्जन बढी संस्थाको विभिन्न पदमा रहेर सक्रिय जीवनलाई व्यवस्थित गर्दै अगाडि बढेकी छन् ।

(टक्सार म्यागजिन, असार २०७९, पृष्ठ ४७–४९)