समृद्धिका लागि कर्पाेरेट वास्तु


औद्योगिक क्षेत्रको वास्तु प्रयोगका लागि निकै फराकिलो खोज र अनुसन्धान भएका छन् किनकि निकै ठूलो धनराशि र समय खर्च गरेर स्थापित गरिने उद्योग, उद्देश्य अनुरूप अघि नबढेमा प्रत्युत्पादक हुने हुँदा वास्तुमा यसबारे विस्तृत चिन्तन गरिएका छन्। 

दिवाकर पन्त

वास्तुशास्त्र पूर्वीय दर्शन र सभ्यताको अनुपम पुरातन ज्ञान हो । यसले संरचनासम्बन्धी विस्तृत इन्जिनियरिङ प्रस्तुत गरेको छ र यो केवल भौतिक संरचनाको व्याख्यात्मक प्रयोगको ज्ञान मात्र नभई यसमा कला समिश्रित हुन पुगेको छ । जसले गर्दा यो त्यसबेलाको समाजमा पनि उच्चतमस्तरको भौतिक संरचनाहरूको निर्माण कलात्मक शैलीमा गर्ने ज्ञानका रूपमा उदय भएको देखिन्छ । हजारौं हजार वर्षअघि विकसित भएको र निरन्तर रूपमा नेपाल, भारतसहित भारत वर्षमा अभ्यासरत यस शास्त्रको ज्ञान श्रृङ्खला पाश्चात्य जगतको सिमेण्टजस्ता वस्तुको प्रयोग ह्वात्तै बढेपछि सान्दर्भिक छ कि छैन भन्ने प्रश्न जो कोहीको मनमा उठ्नु स्वाभाविक नै हो । 

अझ भनौं, यस आधुनिक समयमा हाम्रा ऋषिमुनिहरूले कोरेका वास्तुशास्त्रका ज्ञानको सान्दर्भिकता कायम छ कि छैन ? वा, आजको जमानामा पनि हजारौं वर्षअघि भनिएको सूत्र विद्यमान रहन सक्ला र ? 

जसरी बहुतले भवनमा बस्ने, आकासमा उडिरहेको विमान सयर गर्ने, धर्तीको फराकिला सडकमा गुडिरहेको गाडीमा हुत्तिने, लाखौंको ल्यापटप बोकेर हिँडिरहेको मानिसलाई मनको शान्तिका लागि ट्रेकिङ, हाइकिङ आदिका नाममा उही पहाड तथा हिमालका कन्दरा, जंगल, पाखापखेरा र छहरा धाउनु परेको छ । त्यसरी नै सैयौं तले भवनमा बस्ने वा व्यवसाय गर्ने वा रोजगारी गर्ने मानिसलाई केवल भौतिक सुन्दर संरचनाले मात्र शान्ति दिन अवश्य सकेको छैन । त्यसैले विगत केही दशकयता ओझेलमा परेको जस्तो देखिएको वास्तुको अवस्था हाल पुनः खोजी गर्ने तहमा ब्युँतिएकाे छ । यो खोजी त्यत्तिमा मात्र सीमित बनेको छैन कि व्यावसायिक वास्तुको चरणमा उक्लिएको छ । त्यसैले हिजोआज नेपाल–भारतसहित पूर्वका देशहरूसहित युरोप, अमेरिका, अष्ट्रेलिया पुगेका नेपाली र भारतीयहरूले आफ्नो मौलिक वास्तुकलाको ज्ञानलाई समिश्रित गरी भवन तथा भवनको आन्तरिक व्यवस्थापनमा प्रयोग गर्न थालेका छन् ।

समृद्धिका लागि वास्तुको प्रयोग

वास्तुको आधारभूत सिद्धान्तले कुनै पनि स्थानमा उपलब्ध ऊर्जाको समुचित सन्तुलन र त्यसको प्रयोगबाट उक्त स्थानमा बसोबास गर्नेहरूको उन्नतिका लागि मार्गनिर्देशित गर्दछ । त्यतिमात्र होइन, वास्तु यस्तो सोच पनि हो जसको माध्यमबाट समृद्धिको परिदृष्यको कलात्मक छनक र दृश्यात्मक छवि प्रस्तुत गरिन्छ । त्यसैले वास्तुको अभ्यासमा कुन–कुन दिशा र कुन–कुन कोणमा के कस्ता प्रयोजनका उद्देश्यहरू प्रयोग गर्ने र के कस्ता भने नगर्ने भन्ने स्पष्ट मार्गनिर्देशन छ । जसले गर्दा उक्त स्थानमा ऊर्जाको व्यवस्थित सन्तुलन कायम हुन पुग्दछ । जब ऊर्जा र शक्तिको सन्तुलन हुन्छ, त्यहाँ उन्नति प्रगतिको ऊर्जा नहुने भन्ने प्रश्न नै आउँदैन किनकि संसार ऊर्जाको शक्तिको आधारमा चलिरहेको आधुनिक विज्ञानले पनि भनिसकेको छ । 

वास्तुको प्रयोगमा पृथ्वी तत्व, जल तत्व, अग्नि तत्व, वायु तत्व र आकाश तत्वबाट समुदित ऊर्जालाई अधिकतम् मानव हित र मानव उन्नतिका लागि केन्द्रित गरिन्छ । जुन कोठामा स्पष्ट उज्यालो हुन्छ, त्यहाँ बसेर काम गर्ने मानिस र जुन कोठा उज्यालो छैन तथा ओसिलो छ त्यहाँ बसेर काम गर्ने मानिसका बीचमा सहजै कार्यसम्पादन तथा मानसिक चिन्तनको अन्तर तुरुन्तै मूल्यांकन गर्न सकिन्छ । त्यसैले वास्तुको उद्देश्य सदैव शक्तिको समुचित प्रयोग समृद्धिका लागि केन्द्रित गर्ने मूल सिद्धान्तमा अडेको छ । हिजोआज कर्पाेरेट वास्तुको क्षेत्रमा शास्त्रहरूमा भए–गरेका मार्गनिर्देशनका अलावा आधुनिक समयमा आवश्यक पर्ने विषयमा निकै धेरै खोज अनुसन्धान भएका छन् । ती नवीन खोज अनुसन्धान वास्तुको मूल मर्मको जगमा टेकेर विस्तारित आयामहरूका रूपमा विस्तारित हुँदै र लोकप्रिय हुँदै गएका छन् । 

कर्पाेरेट वास्तु (Corporate Vastu)

शास्त्रसम्मत हिसाबले हेर्दा नाफा आर्जनका लागि गरिने स्थलहरू, उद्योग कलकारखाना लगायतमा के कस्तो वास्तुको संयोजन रहनु पर्ने भन्ने चर्चा रहेको पाइन्छ । तर हिजोआज यो विधा कर्पाेरेट वास्तुका हिसाबले प्रचलित र लोकप्रिय बन्न पुगेको छ । यसमा विभिन्न ठूूला–ठूूला व्यावसायिक घराना तथा संगठनहरूको संस्थागत संरचना तथा तीनका कार्य प्रकृतिअनुसार व्यवस्थित गरिने वास्तु नै कर्पाेरेट वास्तु हो । व्यावसायिक संस्थाको प्रकृति र उसले सञ्चालन गरिराखेको फरकफरक निकायका लागि सोहीबमोजिम गरिने वास्तुको सन्तुलन यसभित्र पर्दछ । 

आजभोलि कर्पाेरेट वास्तुको अभ्यास एक फराकिलो आयामका रूपमा स्थापित भएको छ । जसले फरक फरक प्रकृति र उद्देश्यका लागि स्थापित कर्पाेरेट हाउसहरूमा वास्तुको प्रयोगलाई ध्यान दिइन्छ । त्यतिमात्र होइन यस कर्पाेरेट वास्तुमा शिक्षा संस्थाहरूमा वास्तुको सन्तुलन, अस्पतालमा वास्तुको सन्तुलनलगायतका विविध खालका ठूल्ठूला सेवामूलक स्थानमा जहाँ सयौं मानिस आफ्ना उद्देश्यका लागि आउँछन्, त्यस्ता संवेदनशील स्थानहरूको वास्तु सन्तुलनसमेत मिलाइन्छ । तसर्थ हिजोआज कर्पाेरेट वास्तु निकै स्थापित र लोकप्रिय बनेको छ । आजकल करोडौं लगानीमा स्थापित व्यवसायमा ‘वास्तुको परामर्श मिलाउनु पर्दछ है’ भन्ने मान्यता स्थापित हुन थालेको देखिन्छ । र यसरी वास्तुको सिद्धान्तसहित बनाइएका र अघि बढाइएका कर्पाेरेट व्यवसायहरू सफल पनि बनेका छन् । नेपालमा दशकौंदेखि स्थापित अधिकांश कर्पाेरेट हाउसहरूले पहिलेदेखि नै पनि वास्तुको सिद्धान्तहरूलाई वास्तुशास्त्रीमार्फत अवलम्बन गर्दै आएका थिए भने हाल नयाँ–नयाँ स्थापित कर्पाेरेट हाउसहरूले पनि वास्तुको पक्षलाई पछ्याउन थालेका छन् ।

कार्यालय वास्तु (Office Vastu) 

कुनै पनि कार्यालयको वास्तु संरचना यसअन्तर्गत हेर्ने गरिन्छ । कार्यालयको प्रकृतिअनुसार वास्तुको सन्तुलन मिलाइएको हुन्छ । के कस्तो उद्देश्यसहित के कस्तो कार्यका लागि खोलिएको कार्यालय हो सोबमोजिम वास्तुको सन्तुलन मिलाउने गरी यसअन्तर्गत कार्य गरिन्छ । यसमा सरकारी कार्यालयको वास्तुदेखि निजी तथा अन्तर्राष्ट्रिय संघ–संस्थाका वास्तुसमेत यसमा पर्दछ । 

साथै यसमा कार्यालयको प्रकृति र उद्देश्यअनुसार फरक–फरक वास्तु सिद्धान्तहरूको प्रयोग गर्ने गरिन्छ, जस्तो– बैंक तथा वित्तीय संस्थाका लागि आवश्यक पर्ने वास्तुको सन्तुलन फरक हुन्छ भने कुनै पनि शैक्षिक परामर्श दिने कार्यालयका लागि मिलाइने वास्तुको सिद्धान्तहरूको सन्तुलन फरक हुन्छ । त्यसैले हिजोआज अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना शाखा कार्यालयहरू विस्तार गर्ने क्रममा होस् वा अन्य अवस्थामा होस् वास्तुको पक्षलाई ध्यान दिन थालेका छन् । साथै, अन्य विभिन्न कार्यालयहरूले पनि आफ्ना कार्यालयहरूको विस्तार, पुनव्र्यवस्थापन आदि गर्दा वास्तुलाई अंगिकार गरेर गर्ने गर्दछन् ।

व्यावसायिक स्थलमा वास्तु (Business Zone Vastu)

आर्थिक मुनाफाका लागि गरिने व्यवसायमा विशेष प्रकृतिको वास्तु संयोजन आवश्यक पर्दछ । सबै व्यावसायिक स्थलमा एकै प्रकृतिको वास्तु सिद्धान्तहरूको प्रयोग फलदायी हुनै सक्दैन । फरक–फरक व्यावसायिक कार्य प्रकृतिअनुसार फरक–फरक वास्तु सिद्धान्तको प्रयोग हुने गर्दछ । जसको अध्ययन र व्यवस्थापन यस विधाअन्तर्गत रहेर गर्ने गरिन्छ । यसमा पसल, दोकान, डिपार्टमेण्टल स्टोर, मल्टि स्टोर, सुपर मार्केट, व्युटु सप, किराना पसल, कपडा पसल, फेन्सी पसल, सुन पसललगायतका तमाम व्यावसायिक जगतको वास्तु यसअन्तर्गत पर्दछ ।

उद्योग, कलकारखाना, पसल, ठूला साना सपिङ सेण्टर, सुपर स्टोर, मार्ट, किराना पसललगायतका तमाम खालका सबै खाले पसल आदिमा वास्तु सन्तुलनको अभ्यास गरिन्छ । यिनको आयाममा पनि निकै फराकिलो विस्तार भएको छ ।

औद्योगिक वास्तु (Industrial Vastu)  

औद्योगिक क्षेत्रको वास्तु प्रयोगका लागि निकै फराकिलो खोज र अनुसन्धान भएका छन् किनकि निकै ठूलो धनराशि र समय खर्च गरेर स्थापित गरिने उद्योग, उद्देश्य अनुरूप अघि नबढेमा प्रत्युत्पादक हुने हुँदा वास्तुमा यसबारे विस्तृत चिन्तन गरिएका छन् । औद्योगिक वस्तुको उत्पादन, भण्डारण तथा बजारीकरणसँग सम्बन्धित विषयको वास्तु सन्तुलन यस विधाअन्तर्गत आउँछ । कच्चा पदार्थको भण्डारणदेखि वस्तु उत्पादन र त्यसको बिक्रीबाट नाफा उत्पन्न गराउनका लागि आवश्यक पर्ने ऊर्जाको सन्तुलनलाई विशेष जोड दिइएको हुन्छ । साथै, औद्योगिक स्थलमा कार्यरत मजदुरको आवाससहित समग्र औद्योगिक जगतको वास्तु यस विधाको कार्यक्षेत्र हो ।

वैदिक शास्त्रहरूमा केही वास्तु सन्दर्भ

श्रीमद्भागवत–महापुराणमा देवशिल्पी विश्वकर्माद्वारा भगवान श्रीकृष्णको आदेशबाट समुद्रभित्र द्वारकापुरी नामको अत्यन्त दुर्गम नगरको निर्माण गरिएको वर्णन छ जसमा सबै वस्तु अद्भूत रहेको उल्लेख छ, जसको लम्बाइ – चौडाइ ४८ कोश थियो । उक्त नगरको एक–एक वस्तुमा विश्वकर्माको विज्ञान अर्थात् वास्तुशास्त्रको शिल्पकलाको दक्षता प्रकट भएको छ । त्यहाँ वास्तुशास्त्रको नियमअनुसार चौडासडक, चोक तथा बाटोहरूको यथायथा स्थानमा ठीक–ठीक तरिकाले व्यवस्था र निर्माण गरिएको थियो ः–

इति सम्मन्त्र्य भगवान् दुर्गं द्वादशयोजनम् ।

अन्तः समुद्रे नगरं कृत्स्नाद्घ्रुतमचीकरत् ।।

दृश्यते यत्र त्वाष्टं विज्ञानं शिल्पनैपुणम् ।

रथ्या चत्वरवीथिभिर्यथावास्तु विनिर्मितम् ।।

(श्रीमद्भागवत दशम स्कन्ध, अध्याय–५०)

वाल्मीकि रामायणमा वास्तुशास्त्रबारे चर्चा

वाल्मीकिकृत रामायणमा वास्तुशास्त्रसम्बन्धी विभिन्न चर्चा र प्रशंसा गरिएको पाइन्छ । त्यसमध्ये केही महत्वपूर्ण सन्दर्भका प्रसंग यहाँ उल्लेख गरिएको छ, जसमध्ये राजा दशरथका पालामा देशमा वास्तुशास्त्र र यसको प्रयोग अत्यन्त उचाइमा थियो । अयोध्या नगरीको वास्तु कौशलाबारेमा यस्तो लेखिएको छ –

आयता दश द्वे च योजनानि महापुरी ।

श्रीमती त्रीणि विस्तीर्णा सुविभक्त महापथा ।।

राजमार्गेण महता सुविभक्तेन शोभिता । 

मुक्तपुष्पावकीर्णेन जलसिक्तेन नित्यशः ।।

तां तु राजा दशरथो महाराष्ट्रविवर्धनः ।

परीमावासयामास दिवि देवपतिर्यथा ।।

कपाटतोरणवतीं सुविभक्तान्तरापणम् ।

सर्वयन्त्रायुधवतीमुषतां सर्वशिल्पिभिः ।।

(रामायण बालकाण्ड ५ । ७–१०)

यसमा भनिएको छ– पुरी अर्थात् अयोध्या १२ योजन (६४ मिल अर्थात् लगभग ९६ किमि) लामो तथा तीन योजन (१६ मिल अर्थात् लगभग २४ किलोमिटर) चौडा थियो । जसमा सुविधायुक्त अत्यन्त फराकिला राजमार्गहरू थिए, जसमा हरेक दिन पानी छर्किने गरिन्थ्यो भने पुष्पवृष्टि पनि गरिन्थ्यो । यस परीमा महाराज दशरथ इन्द्र जसरी विराजमान हुन्थे । उसमा कटाप, तोरण, सुविभक्त अन्तरापण अर्थात् बजारहरू थिए । सबै प्रकारका यन्त्रहरू थिए । 

अथर्ववेदको एक ठाउँमा घरको भित्र रहने देवता, अग्नि तथा विष्णुसँग घरमा रत्न एवं धनबाट पूर्ण गरिदिनका लागि प्रार्थना गर्दै भनिएको छ–

अग्नाविष्णु महि तद्वां महित्वं पाथो घृतस्य गृह्यस्य नाम ।

दमे–दमे सप्त रत्ना दधानौ प्रति वां जिह्वा घृतमा चरण्यात् ।।

अग्नाविष्णू महि धाम प्रियं वां वीथो घृतस्य गुह्या जुषाणौ ।

दमे–दमे सुष्टुत्या वावृधानौ प्रति वां जिह्या घृतमुच्चरण्यात् ।।

यसरी शास्त्रसम्मत रूपमा उन्नति प्रगतिका लागि केन्द्रित भएका वास्तुशास्त्रीय सन्दर्भहरू आजभोलि अझ खोज तथा अनुसन्धानसहित कर्पाेरेट वास्तुका रूपमा स्थापित हुँदै गएका छन् ।

(टक्सार म्यागजिन, असार २०७९, पृष्ठ ७०–७२)