सेयरबजारको ओरालो यात्रा कायमै, ३३ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । सेयरबजारको ओरालो यात्रा आज पनि कायमै रहेको छ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ३३ अंकले घटेको छ । समग्र नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने सुधार आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३३.३६ अंकले घटेर १९८९.२६ अंकमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.०५ अंकले घटेर ३८५.७० अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी सबै वटा उपसमूहको सेयर घटेको छ ।

आइतबार कारोबार रकमका आधारमा अरूण काबेली पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड ३३ लाख ६१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन गर्न गत शुक्रबार विद्युत नियमन आयोगबाट अनुमति थियो ।

नेप्सेमा आजको दिन राधी विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो कम्पनीको सेयरमूल्य ५.९० प्रतिशतले बढेको छ ।

त्यस्तै आज रूरू जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कूल २२४ वटा कम्पनीको ६१ लाख ४८ हजार ३ सय ४१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ९७ लाख ३७ हजार एक सय ३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।