‘एनसेल भोल्टे’ सेवा शुरु, कुन कुन माेबाइलमा चलाउन मिल्छ ?


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ को शुरुवात गरेको छ । गत बिहीबार सफ्ट लन्च गर्दै उच्च गुणस्तर र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा शुरु गरेको जनाएको छ ।

सुरुवाती चरणमा एनसेलको फोरजी सिम अर्थात यूसिम भएका ग्राहकहरुले सामसङका ग्यालेक्सी ए५१, ग्यालेक्सी ए३३ र ग्यालेक्सी ए५३, भिभोको वाई५५, भी२३ र ह्वावेको नोभा ३आई, वाई९ प्राइम २०१९ मा यो भोल्टे सेवा सुचारु गरि यसको फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।

“ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा थ्रीजी नेटवर्कमा नझरी हाल लाग्दै आएको सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्छन्,” एनसेलले भनेको छ ।

एस्ट्रिक्स १७२०१ ह्यास डायल गरि एनसेल भोल्टे सेवा सुचारु गर्न सकिन्छ । यो सेवा सुचारु गरेसँगै ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट भोल्टे टक टाइम बोनस स्वरुप प्राप्त गर्न गर्नेछन् । प्राप्त बोनस भोल्टे टक टाइम २८ दिनको लागि मान्य रहन्छ ।

ग्राहकले मोबाइलको सफ्टवेयरको पछिल्लो संस्करण भने आफ्नो मोबाइलमा इन्स्टल गरेको हुनुपर्दछ।
व्यावसायिक रुपमा भोल्टे सेवा संचालनमा ल्याई आफ्ना ग्राहकलाई नयाँ प्रविधिमार्फत यसका लाभ प्रदान गर्न पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यो सेवा देशभर धेरै भन्दा धेरै ग्राहकमाझ पुर्याउन भोल्टे चल्ने ब्राण्ड र मोबाइल सेटका मोडलहरु थप गर्दै जाने एनसेलले जनाएको छ ।

एनसेलको फोरजी नेटवर्क उपलब्ध रहेका नेपालभरका सबै एनसेल ग्राहकले भोल्टे सेवाको फाइदा लिन सक्छन् । ग्राहकले यो सेवाबाट लाभ लिन आफ्नो भोल्टे चलाउन योग्य मोबाइल सेटमा फोरजी सेटिङ अन गर्नुपर्ने हुन्छ र फोरजी नेटवर्कमा रहेको हुनुपर्दछ ।