विद्युतिय सवारीः माग बढ्दाे, आपूर्तिमा समस्या, सचेतना बढाउन इभी एक्स्पो हुने


काठमाडौं । नेपालमा विद्युतीय गाडीको माग बढ्दै गएको तर यसको आपूर्तिमा देखिएको समस्याले गर्दा ग्राहकहरुमा विद्युतीय गाडीको चासो घट्दै गएको नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बताए ।

असोज ६ गतेदेखि ९ गतेसम्म भृकुटी मण्डप प्रदर्शनी स्थलमा हुने नाडा इभी एक्स्पो बारे सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा थापाले नेपालको अस्थिर नितिका कारण अटो व्यवसाय धरापमा परेको बताएका हुन् ।

उनले भने, “नेपालको नीति स्थिर र स्पष्ट छैन । त्यसैले नाडाले सरकारलाई स्थिर निति बनाउनको लागि अनुरोध गर्दै आएको छ । ’’ थापाका अनुसार असोजमा हुने नाडा इभी एक्स्पोले विद्युतीय गाडी प्रति मानिसहरुमा रहेको अन्योलता र यसको फाइदाको बारेमा छर्लङ्ग पार्ने विश्वास रहेको छ ।

नाडा इभी एक्स्पो समितिका सभापति अनुप कुमार बरालले नेपालमा विद्युतीय सवारी साधानबारे अत्यधिक जनचेतना अभिवृद्धि गर्न र अटो व्यवसायीहरुको प्रवर्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्नेमा विश्वास रहेको बताएका छन् ।

“बर्तमान समयमा विद्युतीय गाडीहरुको महत्व दिन प्रतिदिन बढ्दै गएको छ । त्यसैले यस्ता सवारी साधानहरुको बढ्दो प्रयोगले मुलुकको जलविद्युतको उपयोग बढ्ने र देशलाई आत्मनिर्भर बनाउने छ । ’’बरालले भने ।

एक्स्पोमा ७ वटा ब्राण्डका चार पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे, १६ वटा दुई पाङ्ग्रे, ३ वटा टायर, २ वटा ब्याट्री, ९ वटा पार्टपुर्जाको सहभागित रहेको छ । उक्त एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन् ।

एक्स्पोलाई व्यवस्थित बनाउन र प्रदर्शनी स्थलमा भिडभाड कम गर्न नाडाले खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको छ । असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियतका साथै प्रत्येक टिकट खरिदमा खल्ती एपबाट २५ प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ ।

त्यसैगरि चार दिनसम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्वास रहेको आयोजकले जनाएको छ ।