बजाजको ‘पल्सर एनएस १२५’ अब देशभरीका शोरुमबाट बुकिङ गर्न सकिने


काठमाडौ । बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ मोडलको ‘पल्सर एनएस १२५’ को देशव्यापी लन्चिङ गरेको छ ।

नेपाली बजार र चाडपर्वलाई लक्षित गरेर कम्पनीले आधाको आधामा फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ । आधाको आधामा भनेको मोटरसाइकलको कुल लागतको चार भागको एक भाग रकम जम्मा गरेर फाइनान्स गर्न सकिने हो । त्यस्तै, एउटा मोटरसाइकल खरिदमा सात हजार छुट व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

पल्सरको एनएस सिरिजकै बडी डिजाइनमा तयार गरिएको एनएस १२५ मा १२४।४५ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा पाँच स्पीडको गियरबक्स दिइएको छ ।

एनएस १२५ को अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक रहेको मोटरसाइलको अगाडि २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक दिइएको छ । कम्बी ब्रेकिङ सिस्टम, १७ इन्चको अलोय ह्विल, १२ लिटरको इन्धन ट्याङ्क, १७९ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

ट्याङगुलर हेलोजिन हेडल्याम्प, सेमि डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एलइडी टेल ल्याम्प, वल्व इन्डिकेटर जस्ता विशेषता बजाजले एनएस १२५ मा दिएको छ । पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

एनएस १२५ नेपालभर रहेको बजाजको शोरुमबाट बुकिङ गर्न सकिने तथा केही समयपश्चात् डेलिभरी पनि सुरु गरिने कम्पनीले जानकारी दिएको छ । गत भदौ २८ गते बिर्तामोडबाट सुरु भएको यो लन्चिङ कार्यक्रम २९ गते इटहरी, ३० गते जनकपुर, ३१ गते नारायणघाट, असोज १ गते बुटवल र २ गते नेपालगञ्जमा सांगीतिक कार्यक्रम गर्दै सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।