कुमारी बैंकको नाफा १.७ प्रतिशतले बढ्यो


काठमाडाैँ । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा सामान्य वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार बैंकको नाफा १.७० प्रतिशतले बढेको हो।

बैंकको सञ्चालन नाफामा भने उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर १ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ पुगेको छ। यो गत वर्षको तुलनामा ३२.३९ प्रतिशतको वृद्धि हो।

यद्यपि, बैंकको खुद ब्याज आम्दानीमा भने ठूलो गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ९१ करोड २० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा घटेर २ अर्ब ९ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ। यसमा २८.१९ प्रतिशतको गिरावट देखिएको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ६.३६ प्रतिशतले बढेर ४ खर्ब २८ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो। त्यस्तै, बैंकको कर्जा तथा सापटी प्रवाह ७.६८ प्रतिशतले बढेर २ खर्ब ९३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकको कर्जा तथा सापटी २ खर्ब ७२ अर्ब २० करोड रुपैयाँ थियो।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६.९८ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ८.७२ प्रतिशत पुगेको छ। खराब कर्जामा भएको यो वृद्धि बैंकका लागि चुनौतीपूर्ण देखिएको छ।

यता, बैंकको कोषको लागत (कस्ट अफ फन्ड) भने घटेको छ। गत वर्षको पहिलो त्रैमासमा ४.२९ प्रतिशत रहेको कोषको लागत चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३.४३ प्रतिशत कायम भएको छ। यसमा २०.०५ प्रतिशतको कमी आएको हो।

बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा चुक्ता पुँजीमा परिवर्तन भएको छैन। त्यस्तै, बैंकको जगेडा तथा कोष ५.०७ प्रतिशतले बढेर १८ अर्ब ८१ करोड ६३ लाख रुपैयाँ पुगेको छ।

बैंकको पुँजी पर्याप्तता अनुपात ८.५४ प्रतिशतबाट बढेर ९.१५ प्रतिशत पुगेको छ। तर, वितरणयोग्य मुनाफा भने १४ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक ३९ अर्ब १९ करोड रुपैयाँ रहेको थियो।

त्यस्तै, कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज ६४.४१ प्रतिशतले घटेर ४४ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा यस्तो चार्ज १ अर्ब २६ करोड ४१ लाख रुपैयाँ थियो।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ११ पैसाबाट बढेर १६ रुपैयाँ ३९ पैसा पुगेको छ। यसमा १.७० प्रतिशतको वृद्धि भएको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ पनि १७० रुपैयाँ ७१ पैसाबाट बढेर १७२ रुपैयाँ ३१ पैसा पुगेको छ।