स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत १७ नवउद्यमी छनोट


काठमाडौं । उद्योग संगठन मोरङले यस बर्ष १७ वटा नविन व्यवसायिक आइडियाहररूलाई स्टार्टअप उद्यमीका रूपमा छनौट गरेको छ । नवीन सोच विचार तथा अवधारणा भएका युवाहरूलाई उद्यमशिलतामा रूपान्तरणका लागि सहजीकरण गरी नयाँ व्यवसायहरूको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले संगठनले गत बर्षदेखि स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम गर्दै आएको छ । गत वर्षदेखि सुरुवात भएको कार्यक्रम अन्तर्गत यस वर्ष १७ युवा उद्यमी छानिएका छन् ।

यस बर्ष छ जना महिला र ११ जना पुरुष नवउद्यमीहरू छानिएका छन् । छनौट भएका स्टार्टअपलाई गत असोज २७ देखि ३० गतेसम्म बुट क्याम्पमा राखेर बिजनेश हेल्थ चेकअप गरी मेन्टर तथा बिजनेश कोचहरुसंग म्याच मेकिङ गरिएको थियो ।
कार्यक्रम अन्तर्गत १८ जना मेन्टर, ५ जना बिजनेश कोच र ६ जना स्टार्टअपफेलो समेत चयन गरिएको छ ।

छनौट भएका स्टाटअपहरूको व्यवसायिक योजना तयारी, सो अनुरूप आवश्यक पर्ने प्राविधिक बिषयहरूमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना जस अन्तर्गत बिजनेश क्यानभास मोडेल, बिजनेश हेल्थ चेक अप, उपभोक्तासंग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न बिषयगत कार्यक्रमहरूका माध्यमबाट १२ महिना व्यावसायिक सेवा उपलब्ध गराउँदै आवश्यक पर्ने लगानीमा समेत सहजीकरण गरिने कार्यक्रम रहेको संगठनका स्टार्टअप कार्यक्रमका समितिका संयोजक सुरेन्द्र गोल्छाले बताए ।

कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार उद्योग श्रम तथा रोजगार मन्त्रालय, बिराटनगर महानगरपालिका, स्विस कन्ट्याक्ट, आसामान नेपाल, पूर्वाञ्चल विश्व विद्यालय, अन्तरप्रेरणा प्रा.ली, नबिल बैंक लिमिटेड, नेपाल युवा उद्यमी मञ्च लगायतका संस्थाहरूसँगको सहकार्य गरिएको छ ।