अबको पाँच वर्षपछि कत्रो होला नेपालको अर्थतन्त्र?


काठमाडौं । यतिबेला देश आमनिर्वाचन–२०७९ को संघारमा छ । निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम सकिइसकेको छ । प्रमुख राजनीतिक दलहरूले निर्वाचनपूर्व नै तयार बनाइ सक्नुपर्ने घोषणापत्र भरखर तयार पार्दैछन् ।

केही आलोचकहरू आममतदाताले निर्वाचन घोषणापत्र पढेर मत दिने नभइ व्यक्ति हेरेर मत दिने भएकाले त्यसको खासै अर्थ नहुने पनि टिप्पणी गर्ने गर्छन् । २०७४ सालको आमनिर्वाचनमा निकै ठूल्ठूला आवश्वासन दिएर विजयी भएका दलहरूले वितेको पाँच वर्षमा आफ्ना घोषणापत्र र वाचा बिर्सेकाले पनि यो आलोचनालाई सही ठहर्‍याउने गरिन्छ ।

आगामी पाँच वर्षमा नेपालको अर्थतन्त्रको आकार कत्रो पुग्ला ? आम नेपालीको प्रतिव्यक्ति आय कति पुग्ला ?
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भर्खरै सार्वजनिक गरेको ‘वर्ल्ड इकोनोमिक आउटलुक–२०२२’का आधारमा आउँदो ५ वर्षमा नेपालको अर्थतन्त्रको आकारबारे केही अनुमान हामीले प्रस्तुत गरेका छौं । मुद्रा कोषले आउँदो ५ वर्षमा नेपालको आर्थिक वृद्धिदर औसत ५ प्रतिशत रहने आधारमा यो प्रक्षेपण गरेको हो ।

मुद्रा कोषका अनुसार आउँदो पाँच वर्षमा नेपालको अर्थतन्त्रको आकार ८२ खर्ब ७३ अर्ब रुपैयाँ (चालू मूल्यमा) बराबरी पुग्नेछ, जुन चालू आर्थिक वर्षमा ४७ खर्ब ३७ अर्ब रुपैयाँ बराबर रहेको छ । स्थिर मूल्यमा भने आउँदो पाँच वर्षमा नेपालको अर्थतन्त्रको आकार ३१ खर्ब ९४ अर्ब रुपैयाँबराबर रहने छ, जुन अहिले २४ खर्ब ८२ अर्ब रुपैयाँ बराबर छ ।

मुद्रा कोषले प्रक्षेपणका लागि राष्ट्रिय तथ्यांक कार्यालयले तयार पारेको राष्ट्रिय लेखा तथ्यांकको उपयोग गरेको छ । अमेरिकी डलरमा भने आउँदो पाँच वर्षमा नेपालको अर्थतन्त्रको आकार ५९ अर्ब ६६ करोड डलर बराबर पुग्नेछ, जुन अहिले ३९ अर्ब अमेरिकी डलरबराबर पुग्नेछ ।

मुद्रा कोषले वार्षिक औसत ५ प्रतिशतको आर्थिक वृद्धिदर कामय रहेमा नेपालीहरूको प्रतिव्यक्ति औसत आय सन् २०२७ मा १८०९ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ, जुन अहिले १२९२ अमेरिकी डलर बराबर छ ।

नेपाली मुद्रामा भने नेपालीहरूको औसत आय २ लाख ५० हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ, जुन अहिले १ लाख ५६ हजार रुपैयाँ बराबर छ । क्रयशक्ति समता (पीपीपी) मूल्यमा भने ६ हजार १६४ अमेरिकी डलर बराबर पुग्नेछ, जुन अहिले ४ हजार ६७६ डलर बराबर छ ।

मुद्रा कोषले आउँदो पाँच वर्षमा नेपालको जनसंख्या झन्डै ३ करोड ३० लाख पुग्ने अनुमानका आधारमा यो गणना गरेको हो । देशको अर्थतन्त्रको कूल आकारलाई जनसंख्याले भाग गरेर प्रतिव्यक्ति औसत आय निकाल्ने गरिन्छ ।

यसैगरी सरकारको राजस्व आउँदो पाँच वर्षमा २१ खर्ब ७४ अर्ब रुपैयाँ पुग्नेछ, जुन अहिले ११ खर्ब रुपैयाँको हाराहारीमा छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २६ प्रतिशत हुनेछ, जुन अहिले २३ प्रतिशत हाराहारीमा छ ।

यसको तुलनामा सरकारको खर्च २४ खर्ब १२ अर्ब रुपैयाँ हुनेछ, जसको अपुगका लागि सरकारले खुद २ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको ऋण उठाउनु पर्ने मुद्रा कोषको अनुमान छ ।

आउँदो पाँच वर्षमा सरकारको खुद ऋण बढेर ४१ खर्ब ३२ अर्ब रुपैयाँ नाघ्ने मुद्रा कोषको प्रक्षेपण छ, जुन अहिले २० खर्ब रुपैयाँ हाराहारीमा छ । हाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४१ प्रतिशत पुगेको सार्वजनिक ऋण सन् २०२७ मा ५० प्रतिशत हाराहारी पुग्ने अनुमान गरिएको छ ।

आउँदो पाँच वर्षमा लगानी खुद लगानी जीडीपीको औसत ३५ प्रतिशत हुने र खुद राष्ट्रिय बचत जीडीपीको ३४ प्रतिशत रहने मुद्रा कोषको अनुमान छ ।