ह्वावेले गर्यो दोस्रो वर्षको सिड्स फर द फ्युचर कार्यक्रम समापन


काठमाडौं । ह्वावेले यस वर्षको सिड्स फर द फ्युचर कार्यक्रम समापन गरेको छ । सूचना, प्रविधि तथा सञ्चार सम्बन्धि विषयका स्नातक तहका विद्यार्थीहरूका लागि रहेको ग्लोबल फ्ल्यागशिप सिएसआर कार्यक्रम समापन गरेको हो । यस वर्ष नेपालभरबाट २५६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ । जसमध्ये ७ जना विद्यार्थी छनोट भएका थिए ।

छनोट भएका विद्यार्थीहरूले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा आयोजित पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा भाग लिएका थिए । उनीहरूले मेटाभर्स, फाइभ जी, एआई, क्लाउड कम्प्युटिङ, डिजिटल पावर र अन्य इमर्जिंग प्रविधिहरूका बारेमा सिकेका थिए ।

अगस्ट २९ सेप्टेम्बर २ सम्म सिंगापुरमा आयोजित टेक फो गुड एक्सेलेटर क्याम्पमा नेपालको टोली पनि छनोट भएको छ । त्यसमा सहभागी हुन २४ मध्ये ७ विजेता टोलीमध्ये टिम नेपाल एक हो।

उनीहरूले ५जी का व्यावहारिक एप्लिकेसनहरू हेर्नुका साथसाथै १६ देशका ११६ विद्यार्थीहरूसँग क्रस कल्चरल शिक्षामा पनि सहभागी भएका थिए । उनीहरूले “टेक फो गुड” प्रतियोगितामा भाग लिए जहाँ उनीहरूलाई रियल वर्ल्ड वातावरणीय वा सामाजिक समस्याहरू विरुद्ध लड्न मौलिक विचारको साथ आउन आवश्यक थियो । क्लाउड, एआई र ब्लकचेन प्रविधि प्रयोग गरेर नक्कली औषधि पत्ता लगाउनको लागि अद्वैत, वान(स्टेप सोलुसनको आफ्नो विचार पनि प्रदर्शन गरे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले युवामा लगानी गरेर भविष्यलाई लगानी गरिरहेको बताउँदै विद्यार्थीले नेपालमा आफ्नो करियर अगाडि बढाउने विश्वास व्यक्त गरे।

छनोट समितिका सदस्य प्रा. डा. शशिधर राम जोशीले थाइल्यान्ड र सिङ्गापुरमा भएको ज्ञान आदानप्रदान सेसनले उनीहरूलाई आफ्ना विचारहरू प्रस्ट्याउन मद्दत गरेको र उनीहरू भविष्यका उद्यमी बन्न सक्ने उनले बताए ।

प्रा. तिमिला यामी थापाले सिड्स फर द फ्युचर विद्यार्थीका लागि आफ्नो प्रतिभा र सीपलाई परिष्कृत गर्ने ठूलो अवसर भएको बताइन् ।

प्रा. डा. सुवर्ण शाक्यले सिड्स फर द फ्युचर जस्ता सिएसआर कार्यक्रमहरूमा ध्यान केन्द्रित गरेको र नेपाललाई सहयोग गरेकोमा ह्वावेलाई धन्यवाद दिए। “मलाई आशा छ ह्वावेले भविष्यमा अनुसन्धानमा आधारित सहकार्यका लागि विश्वविद्यालयहरूसँग पनि काम गर्नेछ,” उनले भने ।

ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले ह्वावेले प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म उपलब्ध गराउन सक्षम भइरहन चाहेको बताए ।

नेपालबाट निर्माण खड्का, बंशज पौडेल, जतिन भुसाल, रीया बैद्य, नदिका पौडेल, प्रज्ञा मल्लिक र अजु तामाङ् छनोट भएका थिए ।

ह्वावेले यो कार्यक्रम पहिलो पटक थाइल्याण्डमा २००८ मा गरेको थियो । ह्वावेले त्यस लगायत १३० भन्दा बढी देश र क्षेत्रका १२ हजारभन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन् ।