नासा सेक्यूरिटिजले सुरु गर्‍यो मार्जिन ट्रेडिङको सुविधा


काठमाडौं । नासा सेक्युरिटिज कम्पनी (स्टक ब्रोकर नं) ५८ ले नेपालमै पहिलोपटक मार्जिन ट्रेडिङ कारोबार सुरु गरेको छ । कम्पनीले आजदेखि लगानीकर्ताले सेयर ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्नसक्ने मार्जिन ट्रेडिङ कारोबार सुविधा प्रदान गर्न सुरु गरेको हो ।

नासा सेक्युरिटिजले नियमनकारी निकायहरुको मार्गनिर्देशन र मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ बमोजिम लगानीकर्ताका लागि २ प्रकारका योजनाहरु ल्याएको छ।

हिलो योजनाअन्तर्गत रु। १० लाखसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशतमात्र नगद मार्जिन राखी कारोबार सुरु गर्न सक्नेछन्। सो योजना ३० दिने अवधिका लागि उपलब्ध गराइनेछ र यसमा सेवा शुल्क र ब्याजसहित जम्मा शुल्क रु। ९ हजार ९९९ मात्र लाग्ने कम्पनीले जनाएको छ ।

त्यस्तै दोस्रो योजना रु. १० लाखसम्मको पोर्टफोलियोमा ५८ दिने अवधिका लागि हुनेछ र यसमा सेवा शुल्क र ब्याजसहित जम्मा शुल्क रु। २१ हजार ५८ मात्र लाग्नेछ।

यी सुबिधा उपभोग गर्न चाहने ग्राहकले नेप्सेबाट जारी मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूचीभित्र रही कारोबार गर्नुपर्नेछ। कम्पनीले दुवै योजना ग्राहकले आवेदन दिएको ५८ मिनेटभित्रमा स्वीकृत गर्नेछ।

यस कम्पनीसँग हाल उपलब्ध स्रोत धेरैभन्दा धेरै लगानीकर्ताहरुलाई सेवा प्रदान गर्ने उद्देश्यबाट परिचालन गरिएको छ। कम्पनीले भविष्यमा धेरै स्रोतको जोहो गरी छिटोछरितो, गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

कम्पनीले आफ्ना योजनाहरुमा सहभागिता जनाई नयाँ सुविधाको लाभ उठाउन र सेवामा गुणात्मक सुधारका लागि रचनात्मक रायसुझाव दिन ग्राहकलाई आग्रह गरेको छ।

नेपाल स्टक एक्सचेन्जले २०७५ सालमा मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ जारी गरेपछि लगानीकर्तालाई औपचारिक रुपमा यस्तो सुविधा प्रदान गर्ने नासा सेक्युरिटिज पहिलो ब्रोकर कम्पनी हो।