विदेशी विनिमय सञ्चिती घट्यो


काठमाडौं । विदेशी विनिमय सञ्चितीमा कमी आएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार विदेशी विनिमय सञ्चिती साउन महिनाको तुलनामा भदौ महिनामा ८ अर्ब रुपैँयाले घटेको छ ।

साउनमा विदेशी विनिमय सञ्चिती ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैँया रहेकोमा भदौ महिनामा ११ खर्ब ८९ अर्ब १६ करोड रुपैँया कायम रहेको छ ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । असारको तुलनामा भदौ महिनामा विदेशी विनिमय सञ्चिती २.२ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिती साउनमा ९ अर्ब ४२ करोड रहेकोमा भदौ महिनामा ९ अर्ब ३५ करोड कायम रहेको छ । असार मसान्तमा अमेरिकी डलर सञ्चिती ९ अर्ब ५४ करोड डलर रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १० खर्ब ५१ अर्ब ५३ करोड रुपैँया रहेको छ । यस्तो सञ्चिती असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैँया रहेको थियो । असार मसान्तको तुलनामा राष्ट्र बैंकमा कुल विदेशी विनिमय सञ्चिति ०.५ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असारको तुलनामा भदौमा १३.७ प्रतिशले कमी आएको छ ।

२०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ भदौ मसान्तमा १ खर्ब ३७ अर्ब ६३ करोड रुपैँया कायम भएको राष्ट्र बैंकले जनाएको छ । २०७९ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.० महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

२०७९ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४.५ प्रतिशत, ६४.६ प्रतिशत र २१.८ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।