आयात नियन्त्रणका बाबजुद विदेशी मुद्राको भण्डार रित्तिँदै


काठमाडौं । सरकारले घट्दो विदेशी मुद्राको भण्डार बचाउनका लागि भन्दै १० प्रकारको वस्तु आयातमा नियन्त्रण गरे पनि विदेशी मुद्राको सञ्चिति लगातार घट्ने क्रम जारी छ ।

गत २०७८ मंसिरदेखि विदेशी मुद्राको भण्डार लगातार घट्न थालेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७८ कात्तिकमा १० अर्ब ४७ करोड १५ लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा नेपालमा सञ्चितिमा रहेकोमा मंसिरमा त्यो १० अर्ब २ करोड ४९ लाखमा झरेको थियो ।
त्यसपछि पनि विदेशी मुद्राको सञ्चिति घट्ने क्रम जारी रहेपछि पुसमा ४७ समूहका वस्तु आयातमा मार्जिन शतप्रतिशत व्यवस्थासँगै विदेश जाने नेपालीले लान पाउने अमेरिकी डलरको सटहीमा पनि कडाइ गरेको थियो ।

राष्ट्र बैंककै सुझावअनुसार वैशाखदेखि १० प्रकारका वस्तुको आयातमा पूर्ण बन्देज लगाइएको भए पनि विदेशी विनिमयको सञ्चिति घटने गतिमा कुनै सुधार नआएको पाइएको छ ।
२०७९ वैशाखमा करिब १० अर्ब अमेरिकी डलर बराबर रहेको विदेशी मुद्रा भदौ मसान्तमा आइपुग्दा ९ अर्ब ३७ करोड ७२ लाखमा झरेको छ । यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेकोमा २०७९ भदौ मसान्तमा २.० प्रतिशतले कमी आई ९ अर्ब ३५ करोड कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सञ्चिति घटे पनि आयातमा कमी आएपछि आर्थिक वर्ष २०७९/८० को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.० महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न हुने राष्ट्र बैंकको दाबी छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को दुई महिनामा कुल वस्तु आयात १३ प्रतिशतले घटेको छ । साउन र भदौमा रु.२ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँको वस्तु आयात भएको छ ।

आयातसँगै निर्यात पनि घटेको छ । आर्थिक वर्ष २०७९/८० को दुई महिनामा कुल वस्तु निर्यात ३४.९ प्रतिशतले कमी आई रु.२८ अर्ब ६८ करोड पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा निर्यात ११५.४ प्रतिशतले बढेको थियो ।

निर्यातबाट २८ अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको मुलुकले रेमिट्यान्सबाट १ खर्ब ८७ अर्ब ४ करोड र पर्यटनबाट ५ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको छ । यी आर्जनहरूले वस्तु तथा सेवा आयातको बिल तिर्न नपुगेका कारण विदेशी मुद्राको सञ्चिति लगातार घटेको हो ।

मुलुकभित्रै परिवर्त्य विदेशी मुद्राको सञ्चितिमा कमी आइरहेको बेला सरकारले अमेरिकी डलर बेचेर भारु किन्ने क्रम भने जारी राखेको छ । भारतसँगको व्यापार तथा नेपालीहरूको भारत यात्रासहितका कामका लागि भारु चाहिन्छ । अहिले सरकारसँग रहेको कुल विदेशी मुद्राको सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षभरिमा ४ अर्ब ९१ करोड ५२ लाख अमेरिकी डलर भारतलाई बेचेर ३ खर्ब ७२ अर्ब भारु किनेकोमा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा ९२ करोड अमेरिकी डलर बेचेर ७३ अर्ब २६ करोड भारु किनेको छ ।