अन्तर्राष्ट्रिय व्यापार १८ प्रतिशतले घट्यो


काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा नेपालले साढे ४ खर्ब रूपैयाँ बराबरकाे अन्तर्राष्ट्रिय व्यापार गरेको छ ।

भन्सार विभागले आइतबार (आज) सार्वजनिक गरेकाे तथ्यांक अनुसार गत आर्थिक वर्षको यहि अवधिको तुलनामा यस वर्ष कुल अन्तर्राष्ट्रिय व्यापार १८.५४ प्रतिशतले घटेर ४ खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख रुपैयाँमा झरेको हाे ।

गत आर्थिक वर्ष सोही अवधिमा नेपालले कुल ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख रुपैँया बराबरको अन्तर्राष्ट्रिय व्यापार गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४ खर्ब ९९ करोड ८३ लाख बराबरको सामान आयात भएको छ । गत वर्षको यहि अवधीको तुलनामा आयात १६.२० प्रतिशतले घटेको हो । गत वर्ष यहि अवधिमा ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख बराबरको सामान आयात भएको थियो ।

नेपाल गर्ने सामान निर्यात भने ३५.७१ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिमा ६५ अर्ब ५ करोड २८ लाख रुपैँया निर्यात गरेकोमा चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४१ अर्ब ८२ करोड १ लाख रुपैँया बराबरको मात्र वस्तु निर्यात गरेको छ ।

नेपालको व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैँया पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा नेपालको व्यापार घाटा ४ खर्ब १३ अर्ब ४७ करोड ३ लाख रुपैँया रहेको थियो ।