राप्रपाको घोषणापत्र : पाँच वर्षभित्र आर्थिक वृद्धिदर ८ प्रतिशत माथि पुर्‍याउने प्रतिवद्धता


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५ वर्षभित्र आर्थिक वृद्धिदर ८ प्रतिशत भन्दा माथि पुर्याउने जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्दै ५ वर्षभित्र नेपालको आर्थिक वृद्धिदर ८ प्रतिशतभन्दा माथि पुर्याउने उल्लेख गरेको छ ।

अनावश्यक आयात निरुत्साहित गर्न उत्पादन अभिवृद्धि गरी व्यापार घाटा कम गर्ने जनाएको छ । बजार अनुगमन तथा नियमन प्रणालीलाई प्रभावकारी बनाई एकाधिकार, कालोबजारी, सिन्डिकेट तथा विचौलिया प्रथाको अन्त्य गर्ने घोषणापत्रमा उल्लेख छ ।

पुँजीबजारमा साना, स्वदेशी तथा विदेशी संस्थागत लगानीकर्ताको आकर्षण बढाउने जनाइएको छ । समयमानै विकास आयोजना सम्पन्न गर्ने स्थानीय तहलाई प्रोत्साहित गर्ने गरी २ प्रतिशत बोनस सुविधा प्रदान गरिने राप्रपाको घोषणापत्रमा उल्लेख छ ।

उत्पादनमूलक, रोजगारीमूलक उच्चप्रतिफल दिने क्षेत्रलाई विकास गर्न सरल ब्याजदरमा सार्वजनिक ऋण परिचालन गर्ने जनाएको छ ।

यस्तै, राप्रपाले आफ्नो घोषणापत्रमा तीन वर्ष भित्र रासायनिक मल कारखाना स्थापना गर्ने उल्लेख गरेको छ । एक वडा , एक उत्पादनको अवधारणालाई प्रथमिकता दिने जनाएको छ ।