‘विदेशी विनिमय सञ्चिती नबढेसम्म ब्याजदर घट्ने अवस्थामा छैन’


काठमाडौं । विदेशी विनिमय सञ्चिती नबढेसम्म ब्याजदर घट्ने अवस्था नरहेको नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठले बताएका छन् ।

विहिबार (आज) भएको नेपालको वर्तमान आर्थिक अवस्था र सुधारका निम्ति सञ्चारकर्मीले खेल्नुपर्ने भुमिका विषयक कार्यक्रममा श्रेष्ठले विदेशी विनिमय सञ्चिती नबढेसम्म तरलताकोे अवस्था सामान्य अवस्था नआउने बताए ।

श्रेष्ठले भने,”कोभिडको महामारी कम भएपछि कर्जा विस्तार बढेको र त्यो कर्जा बाहिरीएकोले तरलता अभाव भएको हो ।” उनले विदेशी विनिमय सञ्चिती घट्नेक्रममा रहेको तर पहिलाको जस्तो अवस्था नरहेको जानकारी दिए ।

उनले भने,”विदेशी विनिमय सञ्चिती नबढेसम्म तरलताकोे अवस्था सामान्य अवस्थामा आउँदैन । ब्याजदर पनि केहि समय घट्ने अवस्थामा छैन ।” उनले अहिलेको ब्याजदर इतिहासकै उच्च नरहेको बताए । ब्याजदर २०७५ असारमा औषत ब्याजदर १२.४७ रहेको बताए । ब्याजदर बढ्दा समस्या आउनु स्वभाविक प्रकृया रहेको उनले जानकारी दिए ।

श्रेष्ठले समाचार लेखनमा शब्द चयन गर्दा ख्याल गर्नुपर्ने बताएका छन् । उनले समाचारमा लिक्विडिटी क्राइसिस अथवा लिक्विडिटी क्रन्च शब्द आउँछ त्यस्तो अवस्था नभएको बताए । उनले भने,”समाचार लेख्दा शब्द चयनमा ध्यन दिनुपर्छ । लिक्विडिटी क्राइसिस अथवा लिक्विडिटी क्रन्च शब्द आउँछ । त्यसको अर्थले राम्रो अवस्थालाई पनि नराम्रो पार्न सक्छ । अहिले ऋणको चाहिने पुँजीको अभाव हो । कर्जा विस्तार पुँजी अभाव हो ।” लिक्विडिटी क्राइसिस अथवा लिक्विडिटी क्रन्चको अवस्था नरहेको बताए ।

राजस्व सचिव रामेश्वर दंगालले आयात प्रतिबन्धको कारण भन्सारबाट उठ्ने राजस्व कम भएको बताए । उनले भने ५० प्रतिशत राजस्व भन्सारबाट उठ्छ । अहिले आयात घटेको कारण भन्सार राजस्व घटेको छ ।

अर्थविद् चन्द्रमणी अधिकारीले राजस्वमा राजनीतिकर्मीको ध्यान कम जाने बताए । राजनीतिकर्मीको ध्यान राजस्वको कस्तो नीति ल्याउने, करको दर घटबढ गर्ने, राजस्वको संरचना कस्तो बनाउने भन्दा पनि आप्mनो क्षेत्रमा कति बजेट लैजाने तिर ध्यान हुने उनले बताए ।