पिपुल्स हाइड्रोपावरले कात्तिक २५ गतेदेखि आइपीओ जारी गर्दै


काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले यहि कात्तिक २५ गतेदेखि ५६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको हो ।

कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयर बाँडफाँड गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता सहित प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन गर्न लागेको हो।

जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ८० हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १९० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा छिटोमा कात्तिक २९ गतेसम्म ढिलोमा मंसिर ९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।