पुँजीबजार बिस्तारका काम रोकिए कडा प्रतिवाद गर्ने लगानीकर्ताहरुको चेतावनी


काठमाडौं । पुँजीबजार विस्तारका काम रोकिए कडा प्रतिवाद गर्दै सडकमा उत्रिने चेतावनी दिएका छन्। सोमबार लगानीकर्ताहरुका ९ वटा संघसंगठन आज संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।

विज्ञप्तिमा नेपालको पुँजीबजारलाई सही नीति–नियम, अत्याधुनिक प्रविधि, पूर्वाधार र कडा नियमनद्वारा व्यवस्थित गर्न लगानीकर्तासँग भएको सहमति र मागबमोजिम नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्ड तथा नेपाल सरकारका अन्य निकायहरुद्वारा चालिएका कदमहरुमा केही स्वार्थी समूहबाट बाधा सिर्जना गर्ने र रोक्ने काम भएमा ५४ लाख आमनेपाली लगानीकर्ताका सबै संघसंस्थाहरु फेरि सडकमा उत्रिने चेतावनी दिइएको छ।

संयुक्त विज्ञप्तिमा जारी गर्नेमा नेपाल इन्भेस्टर्स फोरम, नेपाल पुँजीबजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता संघ, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, स्वतन्त्र पुँजीबजार संघ, स्वतन्त्र पुँजीबजार सुधार संघ, सेयर लगानीकर्ता दबाब समूह र लगानीकर्ता हित संरक्षण मञ्च रहेका छन्।

नेपालको पुँजीबजारलाई आधुनिक हुनै नदिने र सीमित व्यक्ति वा संस्थाको पकडमा मात्र राखिरहन खोज्ने संविधान र प्रतिस्पर्धा कानुनविपरीत प्रवृत्तिले ४० खर्बभन्दा बढी पुँजीकरण पुगेको बजार आज २८ खर्बमा झरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

जारी विज्ञप्तीमा भनिएको छ ः ‘लाखौँ लगानीकर्तालाई पलायन हुन बाध्य पारेको अवस्था छ भने हुनै लागेका सुधार र विस्तारका काम रोकिए झन ठूलो क्षति नेपालको पुँजीबजारले भोग्नुपर्ने र वर्र्षौं पछाडि धकेलिनेतर्फ सम्बन्धित सरोकारवालाहरुलाई सतर्क गराउँछौँ’,

पुँजीबजारजस्तो संवेदनशील क्षेत्रलाई खेलाँचीका रुपमा नलिई विगतमा भएका विभिन्न आन्दोलनमा राखिएका मागहरु तथा सुझावहरुका साथसाथै ५८ बुँदे सुझाव र १९ बुँदे सहमति तत्काल पूर्ण रुपमा कार्यान्वयन गर्न विज्ञप्तिमा माग गरिएको छ।

त्यस्तै लगानीकर्ताले कुनै बाधा वा विरोध सिर्जना नगरी आमसर्वसाधारण लगानीकर्ताको लगानीको सुरक्षा गरी देशको अर्थतन्त्रको मेरुदण्डलाई मजबुत पार्नुका साथै लगानीको वातावरण तयार पार्न सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।