नबिल म्यूचुअल फण्डका इकाइहरु आजदेखि निष्काशन


काठमाडौं । नबिल इनभेस्टमेन्ट बैंकिङले नबिल म्युचुअल फण्डका इकाइहरु आजदेखि निष्काशन तथा बिक्री खुला भएको छ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ७५ करोड रुपैयाँबराबरको म्युचुअल फन्डका इकाइहरु आउँदो कात्तिक २३ गते (आज)देखि बिक्री खुला गरिएको छ।

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको नबिल फ्लेक्सी क्याप फन्डका इकाइहरु बिक्री खुला गरिएको छ। जसअनुसार नबिल इनभेस्टमेन्ट बैंकिङले १० रुपैयाँ अंकित दरका कुल ७ करोड ७५ लाख इकाइ निष्कासन गरेको छ।

कुल इकाइमध्ये बीज पुँजीबापत १ करोड १२ लाख ५० हजार इकाइ वा कुल निष्कासन गरिने इकाइ संख्याको न्यूनतम १५ प्रतिशत काइमध्ये कोष प्रवर्द्धक नबिल बैंकका लागि १४ प्रतिशत वा १ करोड ५ लाख इकाइ तथा योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङलाई १ प्रतिशत वा ७ लाख ५० हजार इकाइ छुट्टाएको छ भने बाँकी ६ करोड ३७ लाख ५० हजार इकाइमध्ये प्रथम चरणमा सर्वसाधारणहरुमा ५ करोड इकाइ बिक्री खुला गरिएको छ।

यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा ७५ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिने व्यवस्था गरिएको छ।

यो फन्डको निष्कासन बन्द छिटोमा कात्तिक २७ गते र ढिलोमा मंसिर ७ गते बैंकिङ समयपछि बिक्री बन्द गरिनेछ।