सुपर मोदी हाइड्रोले मंसिर २० गतेदेखि आइपीओ जारी गर्दै


काठमाडौं । सुपर मोदी हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साढे १२ लाख बढि कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले यही मङ्सिर २० गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १२ लाख ६० हजार कित्ता सेयर प्रारम्भिक सार्वजनिक निष्कासन ९आइपीओ० स्थानीयवासीका लागि बिक्री खुला गर्ने भएको हो ।

आयोजना प्रभावित कास्कीको मादी गाउँपालिका १ र २ का स्थानीयवासीका लागि तीन लाख १५ हजार कित्ता तथा सोही गाउँपालिकाका ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिकाको २६, २७ र २८ वडाका स्थानीय बासिन्दाका लागि सात लाख ३५ हजार कित्ता सेयर निष्कासन हुने कम्पनीले जनाएको छ ।

त्यस्तै नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई भने कम्पनीले दुई लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले आगामी पुस ५ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे पुस २० गतेसम्म न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीको भनाइ छ ।

लगानीकर्ताले एनसिसी बैंक, कुमारी बैंक तथा माछापुच्छ्रे बैंकले तोकेका शाखा कार्यालय र कम्पनीको आयोजना स्थलबाट सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारिमा रहेको नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फतआवेदन दिन सक्नेछन् ।

कम्पनीले कास्कीको मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदीको बहाव सदुपयोग गरी ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीको उक्त धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।