डेरी उद्योग संघले चितवनमा बनायो २०० मेट्रिक टन क्षमताकाे सामुहिक शितभण्डार


काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १ ठिमुरामा रहेकाे चितवन मिल्क लिमिटेडमा बिहानको ९ बजेसम्म ४ वटा दूधका ट्याङ्करले दूध छाडेर गइसकेका थिए । नारायणगढको मुख्य सडकबाट करिब २ किलोमिटर भित्र रहेकाे चितवन मिल्कमा ट्याङ्कर आउने जाने प्रक्रिया दिनभरी नै चलिरहन्छ ।

विभिन्र डेरिबाट दूधका ट्याङ्करहरूले उक्त प्लान्ट दूध ढुवानी गर्छन, त्यसपछि ल्याबमा दूधको गुणस्तर चेकजाँच गरिन्छ । चेकजाँच गरेपछि उक्त दूधलाई धुलाे दूध पाउडर लगायत अन्य दुग्धजन्य चीज र परिकार निर्माण गर्न प्रविधिक कार्यहरु गरिन्छ । याे प्रक्रिया बिहानदेखि बेलुकासम्म चलिरहन्छ । दैनिक १० देखि १५ वटा ट्याङ्करले करिब ८० हजार लिटर दूध प्लान्टमा ल्याउँछन् । यसरी आवश्यक भन्दा बढी उत्पादन हुने सिजनकाे दूधलाइ खासगरी धुलाे दूध बनाइन्छ । अहिले दूध उत्पादनकाे फल सिजन अर्थात बजार माग भन्दा बढि दूध उत्पादन हुने सिजन हाे । याे सिजन फागुन, चैतसम्म जारी रहन्छ ।यसरी निर्माण हुने धुलाे दूधलाइ काेल्ड स्टाेरमा राख्नुपर्छ ।

भर्खरै निर्माण सकिएकाे यस कोल्डस्टोर स्थापना गर्न नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रीकृत सहयोग इकाई हेटौडा र डेरी उद्योग संघ बीच कुल लागत रु. १ करोड ८४ लाख १८ हजार मा सम्झौता भई गत वर्षको मंसीर ७ गते सार्वजनिक सुनुवाई गरी कोल्ड स्टाेरकाे निर्माणको कार्य सुरु गरेको थियो ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रीकृत आयोजना सहयोग इकाईको ५० प्रतिशत पुरक अनुदान सहयोगमा देश भरीका डेरी उद्योगहरुको छाता संस्था डेरी उद्योग संघले चितवन मिल्क लिमिटेडको जग्गामा कोल्ड स्टोर निर्माण सम्पन्न पछि सोमबार (हिजो) औपचारिक रुपमा उद्धघाटन गरिएकाे हो । चितवन मिल्कमा काेल्ड स्टाेरकाे समस्या भाेग्दै अाएका व्यवसायिलाइ यसले राहात दिने छ ।

नव निर्मित सामुहिक कोल्डस्टोरमा देशभरिका किसानबाट उत्पादन भएको ४५ लाख लिटर दूधबाट उत्पादित २०० मे.टन भन्दा बढि बटर माइनस १८ डिग्रीमा चिसो तापक्रमा भण्डारण गर्न सकिने सामूहिक शितभण्डारका व्यवस्थापक कृष्ण प्रसाद बास्तोलाले बताए ।

उनका अनुसार बजारमा खपत हुन नसकेको दूधबाट निर्माण गरिने दूध र मख्खन मध्य मख्खनको गुणस्तर कायम गराउन –१८ डिग्री से. मा भण्डारण गर्न आवश्यक हुन्छ ।

बास्तोलाले भने, “दूधको उत्पादन बढि हुने समय भाद्र देखि चैत्र सम्म बजारमा दूध बिक्री हुन नसक्ने दूधबाट बन्ने मख्खन भण्डार गरी वर्षायाममा बजारको माग अनुसार आपूर्ति गर्न करिव २०० मे.टन क्षमताको बटर भण्डारण कोल्ड स्टोर स्थापना भएको हो ।’’

शितभण्डारको उद्धघाटन गर्दै नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाका आयोजना निर्देशक डा. उमेश दाहाल डेरि उद्योग संघले निर्माण गरेको सामूहिक भण्डारले किसानहरु र डेरि उद्योगहरुलाई उत्पादन भण्डारण गर्न सहज हुने बताएका छन् । उनले भने, “शित भण्डार भरिभराउ भयो हामीले भण्डार गर्न सक्दौनौँ भन्रे अवस्थाको अन्त्य भएको छ । २०० मे टन क्षमताको भण्डार ठूलो संरचना र आधुनिक तरिकारले निर्माण भएकाले यसले डेरि उद्योगी र किसानहरुकाे लागि सहज वातावरण सिर्जना हुनेछ ।’’

यता चितवनका किसानहरु भने सिजनमा पनि दूधकाे उत्पादन घटेको बताउँदै आएका छन् । चितवन महानगरपालिका वडा नम्बर १ ठिमुराकी सीता बस्यालले जाडोमा समेत गाई, भैसीको दुध घटेको बताएकी छन् । उनले भनिन्, “गाई, भैसीले दुध बढाउनको लागि दाना आवश्यक हुन्छ तर बजारमा यसको भाउ तिव्र रूपमा वृद्धि भएको छ । हामीले दुध बेचेर कमाउने पैसा सबै दाना खरिदमा नै जान्छ ।’’ दानाको मुल्यवृद्धिका कारण नै आफूहरुले ठूलो मात्रमा गाई, भैसी पाल्न नसकेको यहाँका किसानकाे गुनासाे छ ।

यो विषयमा भने नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाका आयोजना निर्देशक दाहालले घाँसमा आधरित पशुपालन पद्धति अवलोकन गर्न नसक्ने बेलासम्म उत्पादन घट्ने बताएका छन् । उनले भने, “घाँस बढी हुने समयमा त्यसलाई सुकाएर राख्ने, समय अनुसारको व्यवसायीक घाँसको उत्पादनमा जोड दिने हो भने दानामा आधरित कृषिबाट हामी बाहिर निस्किन सक्छौँ ।’’

नवनिर्मित शित भण्डार संचालनमा आए पछि किसानको बजार सुनिश्चित भई थप १,५०० किसान परिवार लावान्वित हुने अपेक्षा लिइएकाे छ । दैनिक १ लाख ५० हजार लिटर दूध प्रशोधन क्षमता भएको चितवन मिल्क लिमिटेडले डेरी उद्याेगीले ल्याउने झोल दूधलाइ धुलो दूध एवं बटर कन्भरसन गर्दै आएकाे छ । हाल देशभरिका उद्योगहरुलाई वार्षिक ४,००० मे.टन धुलो दूध कच्चा पदार्थको रुपमा आवश्यकता पर्दछ । यसका लागि करिव ५ करोड लिटर झोल दूध चाहिन्छ ।

डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले किसानहरुले उत्पादन गरेको दूध हरेक ठाउँबाट ढुवानी गरेर ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दाहालले सामुहिक बटर भण्डारण कोल्ड स्टोर स्थापना भए पछि बार्षिक थप ४० लाख देखि १ करोड लिटर सम्म बढि दूध संकलन गर्न सक्षम हुने बताएका छन् । उनले भने, “विश्वव्यापि रुपमा फैलिएको काेभिड महामारीकाे असर दुग्ध क्षेत्रमा पनि पर्न गयो । लामो बन्दाबन्दीले दाना, चोकरको अभाव हुनु र उत्पादित दूधले बजार नपाएको कारण यस वर्षको हिँउदयाममा चाहिए जति दूध उत्पादन हुन सकेको छैन । किसानबाट बढि भन्दा बढि दूध उत्पादनको लागि सरकारले प्रोत्साहित गर्नुपर्छ ।’’