उद्योगी व्यवसायीको मनोबल उकास्ने नीति अबलम्बन गर्न अर्थमन्त्रीलाई परिसंघको आग्रह


काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले अर्थ मन्त्रालयमा भेट गरी बधाई तथा शुभकामना दिदै विद्यमान अर्थतन्त्रका विषयमा छलफल गरेको हो ।

परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताए । उद्योगी व्यवसायीको घट्दो मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने नीति अबलम्बन गर्न आग्रह गरे ।

उनले उद्योगी व्यवसायीको घटेको मनोबल उकास्न तत्काल २ प्रतिशतसम्म प्रति महिना ब्याजदर घटाउने र चालु पूँजी कर्जा निर्देशिका पुराना ग्राहकहरुका लागि २ वर्षसम्म स्थगित गर्न सके तत्काल सकारात्मक सन्देश संचार गराउने र उद्योगी व्यवसायीलाई उत्साहि बनाउने बताए ।

यस्तै आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न, कार्यान्वयनमा नआएका ६ वटा औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा सार्वजनिक निजी साझेदारीमा सक्दो छिटो कार्यान्वयनमा लैजान पनि उनले आग्रह गरे ।

उनले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणा अर्थमन्त्री समक्ष पेश गरेका छन् । परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले परिसंघले दिएको सुझाव छलफल गर्दै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । साथै अर्थतन्त्र उकास्न परिसंघसँग सहकार्य गर्ने बताए ।

अर्थमन्त्रीसँगको छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राजश्व सचिव रामेश्वर दंगाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र पनि सहभागी रहेका थिए ।

परिसंघले यसअघि मंगलबारनै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सँग पनि भेटगरी अर्थतन्त्र सुधार सम्बन्धी परिसंघको सुझाव पेश गरेको थियो ।