नेपाललाई विदेशससँग जोड्ने बाटाहरू
नेपालको सम्पर्क भारतका अनेक नगर र त्यस बखतका राज्यहरूसँग रहेको कुरा विभिन्न ऐतिहासिक स्रोतबाट थाहा पाइन्छ । पाँचौं शताब्दी ई. पूर्वमा श्रावस्तीका व्यापारीहरू बराबर नेपाल आउने–जाने गर्दथे भन्ने कुरा जिनमित्रद्वारा लेखिएको मूलसर्वास्तिवाद विनयग्रन्थबाट थाहा पाइन्छ । भगवान् शाक्यमुनि बुद्धका प्रमुख शिष्य आनन्दपाणि आफ्ना परिवारका सदस्यसँग भेट्न व्यापारीहरूका साथ नेपाल आएका थिए भन्ने पनि त्यही ग्रन्थबाट थाहा पाइन्छ । आनन्दका परिवारका साथै अन्य शाक्य परिवारहरूलाई पनि कपिलवस्तु र आफ्नो घर छोडी असाध्य जाडो हुुने र बरफले ढाकिएको नेपालमा आउन परेका कारण, भगवान बुद्धकै जीवनकालमा श्रावस्तीका राजा विरूच्दक (प्रसेनजितका छोरा) द्वारा कपिलवस्तुको विनाश गरिएको कारणले होला ।
आचार्य कौटिल्यले आफ्नो अर्थशास्त्रमा नेपालबाट कम्बलहरू भारतीय बजारमा बिक्री गरिने कुराको उल्लेख गरेका छन् । तेस्रो शताब्दी ई. पूर्वमा मगधका सम्राट अशोक नेपालमा आएका थिए । उनले पाटनका सबै दिशाहरूमा स्तूपको निर्माण गराएका र आफ्नो छोरी चारुमतीको विहा नेपालका एकजना राजकुमारसँग गराएका थिए भन्ने कुरा वंशावली र नेपालका जनश्रुतिमा सशक्त रूपमा वणित छन् । चारुमतीकै नाउँबाट देउपाटनका केही भाग चावहिल टोल भनी प्रसिद्ध भएको छ ।
काठमाडौंका मूर्तिकलामा खासगरी हाँडिगाउँबाट प्राप्त पहिलो शताब्दी ई. सन्तिरको यक्षमूर्ति (हाल राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको), केही प्राचीन किसिमका सारा नन्दी र कुमार समेतका उमा–महेश्वर मूर्तिहरू, केही श्रीलदमी मूर्तिहरू, पछि लिच्छविकालका सूर्य मूर्तिहरूमा कुषाण राजाहरूको (लामो कोट र बूटको) प्रभाव आदिले पनि नेपाली मूर्तिकलामा मथुराको कषाणकालीन मूर्तिकलाको निकै प्रभाव र अनुकरण भेटिन्छ । लिच्छविकालका तामा मुद्रामाथि कुषाण, यौधेय र गुप्तमुद्राको तौल र छापको निकै प्रभाव भेटिन्छ ।
चाँदीका पञ्चमार्क, कुषाण र यौधेयगणका मुद्राहरूको काठमाडौंबाट प्राप्त आदि कुराहरूले पनि त्यसकालमा भारतसँग नेपालको व्यापारिक, सांस्कृतिक र आवतजावतको निकै सम्बन्ध रहेको कुरा प्रमाणित गर्दछ । यी सब सम्बन्धका कारण नेपालमा त्यसकालमा आभीर गुप्तहरू हुुन् कि भन्ने सम्भावनातिर औंल्याउँछ । गोपाल वंशावली र लिच्छविकालका शिलालेखहरूबाट नेपालमा आभीर गोमीहरूको राज्य थियो भन्ने प्रमाणित हुन्छ ।
यी आभीरहरू मथुराबाटै नेपालमा पसेका, बढी सम्भावना भएको हुनाले, काठमाडौंमा कुषाण मुद्राको प्रचलन (आफ्नो मुद्रा ढाल्ने सीप नभएकोले) भएको र मूर्तिकलाको विकास पनि मथुराशैलीकै आधारमा लगभग पहिलो शताब्दी ई पूर्व अथवा ई. सन्मा यहाँ भएको अनुमान गर्न सकिन्छ । तर लेख्ने कला (शिलालेख, ताम्रलेख) को विकास यहाँ नभएकाले तात्कालिक इतिहास थाहा पाउन गाह्राे भएको हो ।
भारतको गुप्त साम्राज्यको जग हाल लिच्छवीहरूको निकै देन भएको कुरा चन्द्रगुप्त कुमारदेवी मुद्रमा ‘लिच्छवयः’ अभिलेख हुनु र समुद्रगुप्तको प्रयागस्तम्भ लेखमा आफूलाई ‘लिच्छवोदौहित्र’ भनी लेखाउनुका साथै स्कन्दगुप्तका भितरी स्तम्भलेख र विहार स्तम्भलेख, द्वितीय कुमार गुप्तका भितरी मुद्रालेख आदि सबै प्रमुख गुप्तराजहरूले आफ्ना अभिलेखहरूमा लिच्छवीहरूको उल्लेख गराउनमा गुप्तहरूको उदयका लागि नेपालमा बसोबास गरेका लिच्छवीहरूको ठूलो योगदान थियो भन्ने अनुमान गर्न सकिन्छ ।
त्यसकालसम्म (लगभग पहिलो–दोस्रो शताब्दी ई. सनसम्म) मा लिच्छवीहरूले नेपालमा आफ्नो प्रभुत्व कायम गरिसकेका थिए होला । नेपालमा पनि लिच्छवीहरूको राजनीतिक सत्ता कायम गर्न भारतका गुप्तहरूको अपरोक्ष – हात थियो कि भन्ने शङ्का लाग्दछ । लिपि (ब्राह्मी लिपि), भाषा (संस्कृत भाषा), आर्थिक संगठन, प्रशासनतन्त्र, मूर्तिकला, स्थापत्यकला प्रादि सबै क्षेत्रमा नेपालका लिच्छवीहरूमाथि गुप्तहरूको ठूलो प्रभाव परेको देखिन्छ । यसले उक्त कालमा नेपालको भारतसँग बराबर आवतजावत र दुवै देशलाई जोड्ने राम्रो बाटो भएको प्रमाण प्रस्तुत गर्दछ ।
लिच्छवीकालीन विभिन्न अभिलेखमा पनि दक्षिणतिरबाट नेपालमा बराबर मानिसको आवागमन र वैवाहिक सम्बन्ध भएका थुप्रै घटनाक्रम प्रस्तुत गरिएका छन् । यी चित्र प्रस्तुत गर्ने अभिलेखहरू हुन्–ज्ञानेश्वरको अभिलेखमा शंखमूल सिकुबहीको अभिलेख, यागबहालको संवत् १०३ को नरेन्द्रदेवको अभिलेख । साथै पशुपतिमा रहेको जयदेवको अभिलेखबाट पनि उक्त कुराको पुष्टि हन्छ । लिच्छवी राजा शिवदेव द्वितीयले आदि य से की नातिनी र मौखरी कुलकी छोरी वत्सदेवीसँग विहा गरेका थिए र जयदेव महारानी वत्सदेवीका छोरा थिए । जयदेवले पनि गौड, उड., कलिङ्ग र कौशलका राजा श्री हर्षदेवकी छोरी राज्यमतीसँग विहा गरेका कुरा उनकै अभिलेखबाट प्रमाणित हुन्छ ।
मल्लकालीन नेपालमा पनि भारतसँग व्यापारिक, धार्मिक र वैवाहिक सम्बन्ध कायम भएका धेरै प्रमाण पाइन्छन् । कर्णाटकबाट आएका नान्यदेवले १०६७ ई. मा सिमरौनगढमा आफ्नो राजधानी बनाएका थिए । नान्यदेव र उनका उत्तराधिकारीहरू रामसिंह आदिले काठमाडौंमाथि अनेक पटक आक्रमण गरेका कुरा गोपाल राजवंशावलीबाट थाहा पाइन्छ ।
प्रताप मल्लले पनि काठमाडौं बाहिर महाविहार नगरकी अनन्त प्रियादेवी र भगवतीपुर देशका राजा कीर्ति नारायणको छोरी लालमतीदेवीसँग विहा गरेका थिए । बृहद् नेपालका निर्माता श्री पृथ्वीनारायण शाहको दोस्रो विवाह वनारसमा भएको थियो । उपयुक्त विहाबारीबाट पनि नेपालको भारतसँग घनिष्ट सम्पर्क रहेको थियो र यसबाट नेपाल–भारतको बाटाको इतिहास विभिन्न कालमा राम्रो थियो भन्ने प्रमाणित हुन्छ ।
भारतसँगको सम्पर्क बाटाहरू
प्राचीन नेपालले भारतसँग पूर्व र पश्चिम दुवैतिरबाट जोड्ने बाटो कायम गरेको र तिनको मरमत–सम्भार गरेको थियो । पूर्वको बाटोबारे राम्रो ज्ञान १२२८ ई. सन्मा नेपाल र भारत अध्ययनका लागि आउने तिब्बती विद्वान चाग–लो–त्स–वा (संस्कृत नाउँ धर्मस्वामी) को वर्णनबाट थाह हुन्छ श्री धर्मस्वामी नेपाल (हाल काठमाडौं) बाट ऋषिशीर्ष (कालो पर्वत), महाभारत र चुरे पर्वत पार गरी तीन महीनामा सिमरौनगढ (कर्णाटकी नान्यदेव र तिनका उत्तराधिकारीहरूका राजधानी, हालको कलैया बजारबाट ६–७ कोस पूर्व–दक्षिणमा रहेको भग्नावशेष) पुगेका थिए ।
त्यहाँबाट वैशाली नजिक गङ्गा तरेर उनी पाटलीपुत्र र अरू ठाउँहरूमा गएका थिए । भारतको प्रसिद्ध उत्तरापथ पूर्वमा ताम्रलिप्ति (बङ्गाल) को समुद्री किनारदेखि चम्मा, पाटलीपुत्र, वाराणसी, प्रयाग, साकेत, कान्यकुञ्ज, मथुरा, हस्तिनापुर, शाकल, तक्षशिला, पुष्कलावती, कपिशा, वाहलिक र कम्बोज (कम्पुचिया) सम्म पुग्न सकिन्थ्यो भन्ने कुरा ५०० ई. पूर्वका प्रसिद्ध विद्वान पाणिनिले उल्लेख गरेका छन् । पूर्वमै अर्को बाटो, खासगरी तिब्बतबाट सोझै भारततिर लगिने मालसामानहरू दोलखा, जनकपुर भएर लगिन्थ्यो होला । गोपाल राजवंशावली अनुुसार नान्यदेव वंशका अन्तिम राजा हरिसिंहदेव त्यही बाटो भई यतातिर आउन लागेका थिए र बाटैमा मारिएर लुटिएका थिए ।
नेपालबाट भारततिर लाग्ने पश्चिमको बाटो पनि थियो । यस बाटोबारे पश्चिम अंशुवर्माको भटुआल र टिस्टुङ्गबाट पाइएका एउटै व्यहोरा र शायद एकै मितिमा संवत् ३१ मा कुदिएको छ । यी अभिलेखहरूमा नेपाल देशको त्यसकालमा रहेको पश्चिम–दक्षिण सीमाक्षेत्र (पश्चिम ढोका) को स्पष्ट उल्लेख गरिएको छ । उक्त अभिलेखले जिल्लाधिकारीः भन्सार अधिकृत सीमारक्षक चौकीका सेनाधिकारी आदिका साथ नेपालबाट निर्यात गर्न मनाही गरिएका फलाम, चमर, ऊन, कस्तुरी र तामाका भाँडाहरू बाहेक अरू सामानहरू लिई बाहिर गई बेच्न छुट दिइएको कुरा पनि प्रष्ट पार्दछ ।
यी दुवै अभिलेखबाहेक पनि टिस्टुङ्गबाटै प्राप्त वसन्तदेवको संवत् ४३४ को अभिलेखमा पनि “स्वस्ति नेपालेम्यः” भनी सम्बोधन गरिएको पाइन्छ । यस भेकबाट दुईवटा अरू पनि लिच्छवी अभिलेख पाइएका छन्, ती हुन् तौखेलबाट अंशुवर्माकै संवत् ३७ को तोखेल अभिलेख र अर्को चितलाङबाट महाराज उदयदेवको संवत् ४५ को अभिलेख । यस प्रकार चितलाङदेखि टिस्टुङ्गसम्म जम्मा पाँचवटा अभिलेखको प्राप्तिले पनि भारत जाने बाटो भएको नेपाल राज्यको यस पश्चिमी सीमाक्षेत्रको महत्व र यहाँ रहेको महत्वपूर्ण व्यापारिक बाटोबारे प्रकाश पार्दछ ।
नेपाल तिब्बत–चीन बाटो
नेपालको उत्तरतिरको छिमेकी देश चीनसँग पनि धेरै अगाडिदेखि नै सम्बन्ध र सम्पर्क थियो भन्ने कुरा अनेक ऐतिहासिक घटनाबाट प्रमाणित हुन्छ । यो सम्पर्क र आवतजावतले नेपाल–तिब्बत र चीनका बीच प्राचीनकालदेखि नै बाटो थियो भन्ने कुराको बोध गराउँछ । नेपाल–तिब्बतका बीच पहिलो सम्पर्क अंशुवर्माकालमा भृकुटीको विहा तिब्बती राजा श्रङ्ग–सांग–गम्पोसित गरिएर कायम भएको हो । यस कुराको उल्लेख तिब्बती वंशावलीले गरेको छ । नरेन्द्रदेवलाई सत्तामा ल्याउन तिब्बतीहरूले मद्दत गरेका थिए भन्ने अनुमान गरिएको छ ।
उनको शासनकालमा राजा हर्षशिलादित्यकहाँ चीनका ली–इ–पियो नेपाल हुँदै गएका थिए । अर्का चिनी राजदूत वाङ्ग–हियुन–से पनि नेपालमा नरेन्द्रदेवको आतिथ्य स्वीकार गर्दै हर्षशिलादित्यकहाँ गएका थिए । उनले राजा नरेन्द्रदेव, उनका दरबार, उनका पोशाक र आभूषणका साथै सामाजिक चलनका विषयमा रोचक वृत्तान्त प्रस्तुत गरेका छन् ।
राजदूत वाङ्ग–हियुन–त्सेले त्यस बखतको नेपालमा किसानभन्दा व्यापारीहरूको संख्या बढिरहेको कुरा लेखेका छन् । नरेन्द्रदेवका छोराले ६५१ ई. मा चीनका बादशाहकहाँ उपहार पठाएका थिए भन्ने श्री लेभीको भनाइ छ । शायद यसै कुरालाई समर्थन गर्दै शिवदेव द्वितीयको लगनटोल अभिलेखमा ‘प्रत्येक वर्ष’ पाँचजना मानिसलाई झाराको रूपमा तिब्बत पठाउने कुराको वर्णन छ ।
मध्यकालीन नेपालमा पनि चीनका वादशाह हाङ्ग ऊले नेपालमा दुई पटक आफ्ना दूत पठाएका थिए । पहिलो दूत १३६० ई. मा नेपालका राजा मतनका पालामा र दोस्रो पटक १४१३ मा आएको थियो । नेपाली राजाले चीनका बादशाहकहाँ सुनका मन्दिर र धार्मिक पुस्तक पठाएका थिए । मल्लकाल र शाहकालमा नेपालका अनेक व्यापारीहरूले तिब्बतमा आफ्ना कोठी बनाई नेपाल–तिब्बत व्यापार र यातायातमा नियमितता ल्याएका थिए ।
यी व्यापारिक आवत–जावतका अतिरिक्त नेपालबाट प्रसिद्ध स्थापित अरनिकोले चीनसम्म गई त्यहाँ अनेक मन्दिरहरू बनाएको कुरा सर्वविदितै छ । भारतको विक्रमशिला र नालन्दामा पनि भनेक तिब्बती छात्र र शिक्षक पठन–पाठन गर्दथे । ती दुवै बौद्ध विश्वविद्यालय तुर्क मुसलमानहरूद्वारा मासिएपछि भारतका र नेपालका पनि अनेक विद्वानहरू तिब्बत गएका थिए । तिनमध्ये मुख्य– कुमार, शीलमञ्जुश्री, बुद्धकीर्ति, शान्ति रक्षित, पद्मसम्भव आदि थिए।
श्री लेभीको भनाइअनुसार दुवै देशका बीच आवागमनका दुई वटा बाटा थिए । एउटा किरोङ्गको बाटो, अर्को कुटीको बाटो । किरोङ्गको बाटो दुवैमध्ये अलि सजिलो थियो । श्री लेभीका अनुसार नेपाली राजदूत टोलीले पाँच–पाँच वर्षमा कुटीको बाटो भै चीनको दरबारमा उपहार लग्दथे र त्यहाँबाट चीनका बादशाहबाट पाएका उपहार खच्चर लिई किरोङ्गको बाटो भई फर्कन्थे । नेपाल आउने पहिलो चिनी राजदूत ली–ई–पियाओ पनि तिब्बतबाट किरोङ्गको बाटो भै पाएका थिए । यसरी प्राचीन नेपालमा बाटाको राम्रो व्यवस्था हुनका साथै यातायातका साधनहरू पनि प्रशस्त र विविध किसिमका थिए भन्ने कुराको बोध हुन्छ ।
(पुरातत्व विभागद्वारा प्रकाशित ‘प्राचीन नेपाल’ बाट साभार)
प्रतिक्रिया दिनुहोस्