हरेश नखाएका हरि, तयारी सगरमाथा आराेहणकाे


लडाइमा दुवै खुट्टा गुमाएका पूर्वबेलायती सेना हरि बुढामगर अपांगता जागरणका अभियन्ता, मोटिभेसनल स्पिकर र हिमाल आरोहीका रूपमा विश्वभर चिनिएका मात्र छैनन् । एकपछि अर्को विश्व रेकर्ड पनि बनाइरहेका छन् । पर्यटन प्रवर्द्धन तथा नेपालको आर्थिक विकासको एजेन्डा बोकेर सक्रिय जीवन व्यतीत गरिरहेका छन् ।

रोल्पा जिल्लाको मिरुलमा जन्मिएका हरि बुढामगर पूर्वबेलायती (गोरखा सैनिक) सेना हुन् । घुँडा भन्दामाथिदेखि दुुवै खट्टा नभएका उनी कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पसम्म हिँडेर पुग्ने तथा सगरमाथामा स्काइड्राइभ गर्ने पहिलो व्यक्तिको रूपमा यतिबेला चर्चामा छन् । 

बुढामगरको यो चर्चा क्षणिक चर्चा मात्र हैन । उनलाई यस्ता विश्व रेकर्ड राख्ने लत नै लागेको छ । साहसिक यात्रा गर्न रुचाउने उनलाई यस्ता रेकर्डको तल नै लागेको छ । उनको अदम्य साहसको विश्वले मुक्तकण्ठले प्रशंसा गरिरहेको छ । गोर्खाली सेनाको हैसियतमा अफगानिस्तानको लडाइमा दुवै खुट्टा गुमाएका उनले आफ्नो अपांगतालाई कमजोरी बनाएनन् । हरेस खाएनन् । बरु जुरुक्क उठेर विश्वमै प्रेरणाका स्रोत बनेर उदाएका छन् ।

अपांगता भएका व्यक्तिले पनि समाजलाई सामान्य नागरिक सरह योगदान गर्न सक्छन् भन्ने उदाहरणका स्थापित गर्न सफल बुढा अपांगता जागरणका अभियन्ता हुन् । उनी मोटिभेसनल स्पिकर र साहसिक हिमाल आरोहीका रूपमा विश्वभर चिनिएका मात्र छैनन् । एकपछि अर्को विश्व रेकर्ड पनि बनाइरहेका छन् । पर्यटन प्रवर्द्धन तथा नेपालको आर्थिक विकासको एजेन्डा बोकेर सक्रिय जीवन व्यतीत गरिरहेका छन् । पछिल्लो समयमा बाहिर भन्दा बढी नेपालमै धेरै समय बिताउँदै आएका उनको अबको मिसन सगरमाथा हो । अबको एक वर्षमा सगरमाथा आरोहण गर्ने लक्ष्य अनुरूपको तयारी उनको छ । 

जवानीमै ब्रिटिस आर्मीमा भर्ती भएका बुढा हाल ४२ वर्षका भए । लामो समय बेलायत सरकारलाई दिएका उनी अब भने माृतभूूमि नेपालका लागि समय खर्चने बताउँछन् । “१५ वर्षदेखि हालसम्मको समय र मेरो दुवै खुुट्टासमेत ब्रिटिस सरकारका लागि सुम्पिएँ, अब मातृभूमि र मानव सेवाका लागि समय लगानी गर्ने योजनामा छु,” उनले भने, “विभिन्न च्यारिटीमार्फत् अपांगता सचेतना र मानव सेवाका लागि विश्व समुदायसँग जोडिएर काम गर्छु, नेपालको अर्थ–सामाजिक विकासमा समय र लगानी बढाउने योजनामा छु ।” भौतिक रूपमा पनि धेरै समय नेपालमा र थोरै मात्र बाहिर समय खर्चने उनले बताए । 

कीर्तिमानको लत

बुढालाई कीर्तिमानको लत लागेको छ । उनी एकपछि अर्को कीर्तिमानी काम गरेर फरक क्षमता भएका व्यक्तिहरूको मनोबल मात्र बढाइरहेका छैनन् । नेपाल र नेपालीका लागि पनि गर्व गर्न लायक काम गरिरहेका छन् । उनी चर्चामा आइरहँदा नेपाल, रोल्पा र मिरुल गाउँले पनि चर्चा पाइरहन्छ । सर्वोच्च शिखर सगरमाथाको देशको चर्चा, सगरमाथाझैं उचाइ लिइरहेको छ । बुबा, पत्नी, छोरी र दुई छोरासहितको पारिवारिक र इष्टमित्रको हौसलाले ‘नयाँ जीवन’ बाँचिरहेको बताउने उनी जीवनलाई सार्थक बनाइरहेका छन् । 

सन् २०१० मा अफगानिस्तानको लडाइँमा घुँडाभन्दा माथिबाट दुवै खुट्टा गुमाएपछि दुई वर्षजति मानसिक तनाबमा मात्र रहे । तर, त्यसपछि केही गर्नुपर्छ भन्ने सोच आयो र साहसिक पर्यटनमार्फत् आफूलाई विश्वमा अब्बल सावित गर्न थालेका हुन् । अहिले नै उनले आधा दर्जन बढी कीर्तिमान राखिसकेका छन् । रोका कृत्रिम खुट्टा लगाएर युकेको सबैभन्दा अग्लो पहाड चढ्ने पहिलो व्यक्तिको कीर्तिमानी आरोही हुन् । 

“हामी नेपालीको लागि त सानो डाँडा मात्र हो तर पनि कृत्रिम खुट्टाको सहाराले चढ्दा २३ घण्टा २० मिनेट लाग्यो, विश्व कीर्तिमान कायम गर्न पाउँदा निकै उत्साहित बनें,” बुढाले अनुभव सुनाए । बुढाले हिमाल आरोहण गर्ने पहिलो घुँडामाथि डबल एम्प्युटी (दुवै अंगविच्छेदन) को रूपमा निरन्तर कीर्तिमान राख्दै आएका छन् । पश्चिम युरोपको सबैभन्दा अग्लो मोन्ट ब्लांक चढेर पनि उनले रेकर्ड राखे । साथमा एक साथी पनि थिए । 

अफ्रिकाको सबैभन्दा अग्लो किलेमन्जारो चढ्ने पनि उनीसहित अर्का एक विदेशीले रेकर्ड राखे । मेरा पिक हिमाल चढेर पनि अर्को कीर्तिमान थपे । मेरा पिक ६ हजारभन्दा माथि चढ्ने पहिलो व्यक्ति बुढा नै हुन् । उनी चुलु फार इस्ट पनि चढिसकेका छन् । हालै हिँडेर सगरमाथा आधार शिविर पुग्ने र सगरमाथा माथि स्काइ ड्राइभ गरेर ताजा कीर्तिमान कमाएका उनको सपना सगरमाथा आरोहण हो । 

जुरेको सगरमाथा स्काइ ड्राइभ रेकर्ड

सगरमाथा आधार शिविरसम्म दुवै कृत्रिम खुट्टाको सहायताले हिँडेर पुग्ने र सगरमाथामा स्काइ ड्राइभ गर्ने पहिलो व्यक्तिको रेडर्क उनको योजना अनुरूपको थिएन । “मेरो सपना सगरमाथा आरोहणको हो, यसका लागि र अब देशमै केही गर्नुपर्छ भन्ने योजना भएकाले म नेपालमै बढी समय रहने गरेको छु,” उनले भने, “बेलायतकै चर्चित च्यारिटीमा पर्ने पिल्ग्रिम ब्यान्डिटस् च्यारिटीको योजना रहेछ, म नेपाली पनि भएकाले च्यारिटीको अफर स्वीकार गरेर अगाडि बढ्दा सफल पनि भइयो ।” 

च्यारिटीले बुढासमेत २० जनाको टोलीलाई योजनामा समावेस गरेको थियो । यो योजनाका लागि च्यारिटीले एक लाख ३५ हजार पाउण्ड खर्च गरेको छ । २० मध्ये छानिएका ४ जनामध्येमा पनि बुढामगर उत्कृष्ट सावित भए । “चार महिना पहिले नै बेसक्याम्प हिडेर पुग्ने योजनामा थिएँ, सगरमाथा चढ्नका लागि अभ्यास पनि पर्याप्त जरुरी भएकाले यसो गर्ने योजना थियो,” उनले थपे, “समय जुरिरहेको थिएन, जब नेपालका अफर गर्दा समूहमा थप सहजताका साथ जाने अवसर मिल्यो ।” 

सबै खर्च च्यारिटीले नै बेहोरेर नयाँ कीर्तिमान कायम गर्न उपलब्ध भएको अवसरका लागि उनले च्यारिटी र प्राविधिक सहयोगका लागि ‘प्याराबेलम टेक्टिकल ट्रेनिङ’ लाई आभार व्यक्त गरे । लुक्लासम्म हवाई यातायातबाट पुगेको टोलीसँगै बुढा पनि लुक्लाबाट नक्कली खुट्टाको सहायताले हिँडेरै सगरमाथा आधार शिविर पुगेका हुन् । “बिहान ५ बजे नै उठेर अभ्यास गर्नुपथ्र्यो, अप्यारो बाटोमा नौ दिनसम्म हरेक दिन कम्तिमा चार किलोमिटरदेखि बढीमा ११ किलोमिटरसम्म यात्रा गरेपछि बेसक्याम पुग्यौं,” बुढाले अनुुभव सुनाए । 

नक्कली खुट्टा भएकाले अफ्ठ्यारो बाटोमा झनै गाह्रो हुँदा पनि उनको यात्रा रोकिएन । त्यसमाथि लेक लाग्ने (अल्टिच्युडको समस्या) ले आराम गर्दै हिँड्दा समय लागेको थियो । दुवै खुट्टा नहुँदा पनि सगरमाथामा स्काइ ड्राइभ गर्ने विश्वकै पहिलो व्यक्ति हुन पाउँदा निकै आनन्दित बनेको उनले सुनाए । “स्काइ ड्राइभ पहिले पनि गरेको थिएँ तर अहिलेको अलिक फरक थियो, केही सहज पनि,” बुढाले उत्साहित हुँदै भने, “२३ हजार फिटबाट गर्नुपर्ने, अक्सिजन सिलिन्डर राख्नुपर्ने, हेलिकप्टरबाट माथि पुग्न नै आधा घण्टा लाग्ने भएकाले केही डरजस्तो लागेको थियो । तर, मनोबल उच्च बनाउँदै गएँ, सफल भइयो ।” 

आधा घण्टाको समय हेलिकप्टरलाई उचाइमा लाने थियो । त्यसपछि करिब ३० सकेन्ड फ्रिफल र त्यसपछिको १० मिनेट प्यारासुटसहित सगरमाथामा उनले स्काइ ड्राइभ गरेका थिए । दुवै कीर्तिमानी कदमले बुढाको सगरमाथाको शिखर चुम्ने सपना पूरा गर्ने मनोबल थप बलियो बनेको छ । 

मिसन सगरमाथाः योजनामा ठेस र खुलेको बाटो

अबको मुख्य योजना, सपना, लक्ष्य, सोच सबै सगरमाथा केन्द्रित छ, बुढाको । पहिलो सगरमाथा चढ्ने घुुँडाभन्दा माथिबाट दुवै खुट्टा नभएको व्यक्ति बन्ने विगतदेखिको योजनामा नेपालको कानुनी प्रावधान पनि बाधकको रूपमा देखिएको थियो । पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को ३ को उपनियम २ (ग) मा उल्लेखित ‘दुवै हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्ने’ ले सगरमाथा आरोहण गर्न नपाउने व्यवस्थाले बुढाको सगरमाथा आरोहण गर्ने योजनामा चुनौती थपिदियो । 

चार वर्षअघि केही समय अलमलमा परेको उनको योजनालाई सर्वोच्च अदालतले बाटो खोलिदिएपछि पुनः एभरेस्ट मिसनमा लागेका हुन् । नेपालको संविधानको धारा, १८ को उपधारा, २ मा अपांगता भएको कारणले कानुनको प्रयोगमा विभेद गर्न नपाइने व्यवस्था अनुरूप अदालतले मार्गप्रशस्त गरिदिएपछि बुढा सगरमाथा आरोहणको तयारीमा लागेका हुन् । 

यसबीच कोरोना महामारीले पनि तयारीमा केही समस्या थपियो । अब भने आउँदो वर्ष सन् २०२३ मा सगरमाथा आरोहण गर्ने गरी तयारीमा छन् । “यसअघि नेपाल र बाहिरका पनि केही साना साना हिमालहरू आरोहण गर्नेछु,” बुढा थप्छन्, “समाज कल्याणको सन्देश बोकेर विभिन्न च्यारिटीहरूको अनुरोधमा साना कार्यक्रम जारी रहे पनि मेरो मुख्य योजनामै केन्द्रित छु ।” यसका लागि उनी केही समय नेपालमा हुनेछन् । सगरमाथा आरोहणका अभ्यास जारी राख्नेछन्, अन्य आफ्नो नियमित कामसँगै । 

अबको समर्पणः दिगो आर्थिक विकासका लागि 

बुढाका लागि सामाजिक कार्यका लागि सानातिना रकम जम्मा गर्र्नु सामान्य विषय बनिसकेको छ । उनले आगलागी, बाढीपीडितदेखि अपांगता भएका धेरैलाई सहयोग गरेका छन् । व्यक्तिगत रूपमा र फेसबुकमा समेत आह्वान गरेर कोष जम्मा गरेर सम्बन्धित पीडित वा आवश्यकता भएका व्यक्तिलाई लाखौं रकम तथा सो बराबरको पटक–पटक जिन्सी वितरण गरेका छन् । “हिमाल आरोहणसँगै अपांगता अभियानका सामाजिक कार्य जारी नै राख्नेछु,” उनी भन्छन्, “तर एक दुई पटक बाँडिएको रकम वा सामानले जीवनस्तरमा खासै फरक पर्ने देखिँदैन । त्यसैले अबको दिनमा जति सक्छु नेपालीको दिगो आर्थिक विकासका लागि काम गर्ने योजनामा छु ।”

आफू एक्लैले सिंगो नेपालको आर्थिक रूपान्तरणका लागि काम गर्न सम्भव नभए पनि आफ्नो गाउँ, जिल्ला, प्रदेश र नेपालमै पनि आर्थिक विकास र गरिबी निवारणका काममा संलग्न हुन थालेका पनि छन् बुढा । उनी गोर्खा वेलफेयर ट्रस्टको सद्भावना राजदूतसमेत हुन् । सन १९६९ मा स्थापित ट्रस्टले गोर्खा भेट्रान, उनीहरूका परिवार र नेपालमा रहेका समुदायलाई शिक्षा, स्वस्थ्य, खानेपानीलगायत महत्वपूर्ण क्षेत्रहरूमा सहयोग प्रदान गर्दै आइरहेको छ ।  जन्मथलो मिरुल, रोल्पा जिल्ला र साविक राप्ती अञ्चल केन्द्रित कार्यक्रममा व्यक्तिगत रूपमै सञ्चालन गर्दै आएका उनी नेपालको ठूलो व्यावसायिक घरानामा पर्ने गोरखा ग्रुपसँग पनि आबद्ध भएका छन् । 

“कतै न कतै प्रत्यक्ष संलग्न भएर नेपालमा आर्थिक क्षेत्रमा काम गर्ने योजना अनुरूप ३ हजारभन्दा बढीलाई रोजगारी दिइरहेको गोर्खा ग्रुपमा आबद्ध भएको छु,” उनी थप्छन्, “ग्रुपमार्फत् शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिमा लगानी गरेर आर्थिक विकासमा केही गरिरहेको छु ।” यसबाहेक दिगो आर्थिक विकासको उद्देश्यले गरिने अन्य योजना तथा कार्यक्रमहरूमा पनि प्रत्यक्ष अप्रत्यक्ष सहभागिता तथा सहयोग गर्दै अगाडि बढ्ने उनको योजना छ । जसका लागि उनी अधिकतम समय नेपालमै बिताइरहेका छन् ।

(टक्सार २०७९ जेष्ठ अंक बाट)

हरेश नखाएका हरि, एक माथि अर्काे किर्तिमानी रच्दै भिडियाे सामाग्री