अर्घाखाँचीमा निजी स्वामित्वको जग्गामा दैनिक १२ सय टन चुनढुङ्गा उत्खनन हुने


अर्घाखाँची । अर्घाखाँचीमा निजी स्वामित्वको जग्गामा चुनढुङ्गा उत्खनन हुने भएको छ दैनिक १२ सय टन चुनढुङ्गा उत्खनन गर्ने गरी विजया सिमेन्ट्स प्रा.लि.ले खानी सञ्चालन गर्न लागिएको हो ।

भूमिकास्थान नगरपालिका वडा नंं . ९ को सानडेभामा प्रस्तावित ३.४६ हेक्टर क्षेत्रफलको निजी स्वामित्वको जग्गामा चुनढुङ्गा खानी उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदन तयार पारी रायसुझाव संकलन तथा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।

बिजया सिमेन्ट प्रालि कृष्णनगर कपिलवस्तुले प्रतिवेदन तयार गरी खानी तथा भूगर्भ विभागमा बुझाएको र सोही प्रतिवेदनमाथि स्थानीय बासिन्दा, जनप्रतिनिधि, बुद्धिजीवी लागायतसँग छलफल गरिएको हो ।

दैनिक १२ सय टन चुनढुङ्गा उत्खनन गर्दा वार्षिक २७० दिन उत्खनन गर्दा करिब १० बर्षसम्म खानी सञ्चालन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

खानीबाट उत्खनित चुनढुुङ्गा कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं. ८ लोहरौला क्षेत्रमा सञ्चालन भइरहेको विजया सिमेन्ट उद्योगमा प्रयोग हुने छ ।

खानी उत्खनन् गर्दा खानी तथा भुगर्भ विभागलाई प्रतिटन रु. ६० र स्थानीयकर प्रतिटन रु. ६ का दरले भूमिकास्थान नगरपालिकाले कर प्राप्त गर्ने छन् ।