विगतमा कांग्रेस नेतृत्वको सरकारले सरकारी उद्योग कारखाना निजीकरण गर्दा अहिले समस्या भयो : गौतम


काठमाडौं । बामपन्थी नेता एवं राष्ट्रिय सभा सदस्य बामदेव गौतमले विगतमा नेपाली काँग्रेसको सरकारले सरकारी उद्योग कारखानाहरु निजीकरण गर्दा अहिले समस्या भएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस नेतृत्वका सरकारले विगतमा सरकारी उद्योगहरुमा अफ्ठ्यारो पर्ने र निजीकरण गर्ने काम गरेको गौतमको भनाई छ ।

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा आज बोल्दै सांसद गौतमले वर्तमान सरकारले मुलुक भित्र नै उत्पादन वृद्धि गरी दिगो विकासलाई समेत मद्दत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्नेमा जोड दिए ।

उनले नेपालमा सम्पूर्ण खाद्यन्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेकाले मुलुक गरिबी भएको भन्दै चिन्ता व्यक्त गरे ।

गौतमले अहिले विश्वका अन्य देश भन्दा अर्थतन्त्रमा पछाडि परेको उल्लेख गरे ।

गौतमले अब सबैले समाजवादी उत्पादन,वितरणमा सरकारले जोड दिन आवश्यक रहेको बताए ।

सरकारले मुलुक भित्र उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न सक्नुपर्ने उनको भनाई छ ।

खाद्यन्न,फलफूल,औषधि लगायत उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्नसके मुलुक भित्र नै रोजगारी समेत सिर्जना हुने गौतमको विश्वास छ ।