सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)


काठमाडाैँ। सत्तारुढ गठबन्धनले ‘सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम’ सार्वजनिक गरेको छ । 

सोमवार एक कार्यक्रमबीच सत्तारुढ गठबन्धनले ‘सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम’ सार्वजनिक गरेको हो । गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समितिका संयोजक तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम हस्तान्तरण गरे।

हस्तान्तरण गर्दै अध्यक्ष ओलीले सरकारले विश्वासको मत लिएपछि सो कार्यक्रमहरुको कार्यान्वयनमा सरकार तिव्रताका साथमा लाग्ने विश्वास व्यक्त गरे ।

न्युनतम कार्यक्रममा जनसरोकार र सेवा प्रवाहको विषयलाई मुख्य रुपमा जोड दिइएको छ । २१ बुँदामा ल्याइएको कार्यक्रममा नागरिकताको विषयलाई पहिलो नम्बरमा राखिएको छ । 

कुनै पनि नेपाली नागरिक अनागरिक हुन नदिने प्रतिवद्धता गरिएको छ भने ६ महिनाभित्र नागरिकता नपाउने अवस्थाको अन्त्य गर्ने उल्लेख गरिएको छ । त्यसैगरी राज्यका विभिन्न निकायमा नीतिगत र संरचनागत सुधार, सुशासन र गुणस्तरीय सेवा प्रवाह, अर्थतन्त्रको सबलीकरण गर्ने विषयलाई प्रमुखताको साथ उठाइएको छ । 

सरकारलाई मितव्ययी बनाउने प्रतिवद्धता गरिएको छ । दैनिक उपभोग्य वस्तुलाई सहज बनाउने, कालोबजारी गर्नेहरुप्रति सख्त कारबाही गर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाउने र उपभोक्ता हीतलाई सर्वोपरी बनाउने लगायतको जनसरोकारका विषयलाई समेटिएको छ ।

मेक इन नेपाल कार्यक्रम लागू गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने जनाइएको छ । गैरआवासीय नेपालीलाई सहज रुपमा नेपालमा लगानी गर्ने वातावरण बनाउने, सरकारी स्वामित्वका बन्द उद्योगहरुलाई पुनः सञ्चालनमा ल्याउने विषयलाई पनि न्युनतम कार्यक्रममा समेटिएको छ ।