काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले इनर्जी ड्रिङ्कको उत्पादन, बिक्रीवितरण र सेवनमा सतर्कता अपनाउन उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई आग्रह गरेको छ।
विभागले इनर्जी ड्रिङ्कमा हुने क्याफिनको मात्रा, यसको सेवनबाट पर्न सक्ने असर र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्तो आग्रह गरेको हो।
विभागले क्याफिनयुक्त पेय पदार्थको सेवनसम्बन्धी वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा सचेतना फैलाउन पनि अनुरोध गरेको छ।
विभागका अनुसार इनर्जी ड्रिङ्कमा क्याफिन, ग्वाराना, टाउरिन, इनोसिटोल, कार्निटिन, बी भिटामिन, चिनी, पानीलगायतका पदार्थ मिसाइएको हुन्छ। चिया, कफी, चकलेट र इनर्जी ड्रिङ्कजस्ता विभिन्न स्रोतबाट शरीरमा क्याफिन पुग्ने भएकाले यसको कुल दैनिक सेवनमा ध्यान दिन आवश्यक छ।
विभागले उल्लेख गरेको अन्तर्राष्ट्रिय अध्ययन तथा नियामक निकायका सन्दर्भअनुसार स्वस्थ वयस्कले सबै स्रोतबाट दैनिक सेवन गर्ने क्याफिनको मात्रा ४०० मिलिग्रामभन्दा बढी नहुने गरी उपभोग गर्न सक्ने आधार प्रस्तुत गरिएको छ। तर, यो मात्रा सबै व्यक्तिका लागि समान रूपमा सुरक्षित हुने ग्यारेन्टी भने होइन।
नेपालमा इनर्जी ड्रिङ्क उत्पादन तथा बिक्रीवितरण गर्ने १७ वटा उद्योगले सरकारी निकायबाट अनुमति लिई उत्पादन तथा बिक्रीवितरण गरिरहेको विभागले जनाएको छ। ती उत्पादनको लेबल विवरण र प्रयोगशाला परीक्षण प्रतिवेदनमा क्याफिनको मात्रा मानव उपभोगका लागि तोकिएको सुरक्षित सीमाभित्र रहेको देखिएको विभागको भनाइ छ।
गर्भवती, बालबालिका र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई सेवन नगर्न सुझाव
विभागले इनर्जी ड्रिङ्कको लेबलमा उल्लेख गरिएको चेतावनी सन्देशअनुसार बालबालिका, गर्भवती तथा स्तनपान गराइरहेका महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई यसको सेवन नगर्न आग्रह गरेको छ।
त्यस्तै, सेवन गर्न मिल्ने व्यक्तिले पनि एक दिनमा दुई क्यान (प्रति क्यान ३३० मिलिलिटरसम्म) भन्दा बढी इनर्जी ड्रिङ्क सेवन नगर्न विभागले अनुरोध गरेको छ। इनर्जी ड्रिङ्कलाई पानी, जुस, दूध, मोहीलगायतका पोषणयुक्त पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न र अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न पनि विभागले सुझाव दिएको छ।
विभागले इनर्जी ड्रिङ्कका उत्पादक तथा विक्रेतालाई विज्ञापन गर्नुअघि प्रचलित कानुनबमोजिम अनुमति लिन र विज्ञापन तथा लेबलमा आवश्यक चेतावनी सन्देश उल्लेख गर्न निर्देशन दिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि उत्पादनको सुरक्षित सेवनसम्बन्धी जानकारीसमेत प्रचारप्रसार गर्नुपर्ने विभागको भनाइ छ।
वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डमा आधारित सूचना प्रवाह गर्न आग्रह गर्दै विभागले खाद्य स्वच्छता तथा गुणस्तर कायम राख्ने विषयलाई प्राथमिकता दिन सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रतिकूल हुने गरी काम गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।


प्रतिक्रिया दिनुहोस्