नेपालमा आन्तरिक उडान गर्ने सबै विमानहरुको प्राविधिक परीक्षण गर्नुपर्ने


काठमाडौं । सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । आइतबार अकस्मात बसेको मन्त्रीपरिषद् बैठकले नेपालमा आन्तरिक उडान गर्ने सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिने निर्णय गरेको हो ।

प्राविधिक परीक्षणको अनुगमन नागरिक उड्‍ययन प्राधिकरणले गर्ने पनि सरकारले निर्णय गरेको छ । ‘यो व्यवस्थाले हवाई दुर्घटना हुन नदिन भूमिका खेल्ने हाम्रो विश्वास छ,’ बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने ।

त्यस्तै सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा उच्चस्तरिय जाँच आयोग गठन गरेको छ । यसको सदस्यहरुमा नेपाली सेनाका अवकाश प्राप्त उपरथि दीपकप्साद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंङ थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्‍ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

दुर्घटनाको जाँचका लागि ४५ दिनको समय तोकिएको आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता दुर्घटना हुन नदिनका लागि अपनाउनुपर्ने वा गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन तयार गर्ने छ ।