फेमिलियर अर्गानिक फार्ममा माघी विशेष खाना महोत्सव सुरु, मौलिक खानाको स्वाद लिन पाइने


काठमाडौं । माघे संक्रान्ति तथा जैविक विविधता दिवसको अवसरमा काठमाडौंको कपनस्थित वल्र्डमार्ट युनिक सोलुसन प्रा.लि. द्धारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छाघरले साप्ताहिकरुपमा खाना महोत्सवको आयोजना सुरु गरेको छ ।

आइतबार बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले महोत्सवको उदघाटन गरेका छन् । माघी विशेष खाना महोत्सव उद्घाटन गर्दे प्रमुख अधिकारीले आफ्नो नगरपालिकाभित्र यो महोत्सव सुरु हुनु गर्वको विषय भएको बताए । “हाम्रा चाडपर्वमा खाइने मौलिक खानाहरु स्वादप्रद्र्धकको साथै स्वास्थ्यको लागि पनि उतिकै महत्व भएकाले यस्तो खाना मौलिक भान्छाको (रेष्टुरेन्ट) मेनुमा राखिनु निकै सकरात्मक काम हो,” उनले भने ।

रैथाने तथा मौलिक खानाले स्वाद र स्वाथ्यका साथै स्थानीय उत्पादनको समेत प्रवद्र्धन हुने भएकोले यस्तो व्यवसयालाई नगरपालिकाले उच्च प्राथमिकता राख्ने पनि बताए । साथै कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका वडा १० का अध्यक्ष नवराज भट्टराई, १२ का अध्यक्ष शम्भु भट्टराईलगायतको पनि उपस्थित रहेको थियो ।

‘बसे पनि शहर, गाउँ कै खाने रहन, स्वादका लागि हैन स्वास्थयका लागि खाऔं’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव आगामी ७ गतेसम्म सञ्चालन गरिने आयोजक सुमन दाहालले जानकारी दिए ।

महोत्सवको पहिलो दिनमा नै उत्साहजनक उपस्थित भएको बताउँदै दाहालले यस अवधिमा ५०० जनाले अवलोकन गराउने लक्ष्य रहेको बताए । मौलिक र रैथाने खानामा स्वास्थ्यमा ख्याल राख्ने आम मानिसको विशेष चासो बढ्दै गएकोले यो कार्यक्रम सञ्चालन गरेपछि आफु उत्साहित भएको उनको भनाई छ ।

सात दिन चल्ने कार्यक्रममा विभिन्न स्वदेशी र रैथाने खानाको परिकारको स्टल राखिएको छ भने एक सेट खाना निशुल्क चखाउने व्यवस्था गरिएको छ ।

मौलिक चाडपर्व र यसमा खाइने विशेष परिकारकोे महत्व बुझाउने उद्देश्यले जैविक विविधता दिवसको अवसरमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, कृषि ज्ञान केन्द्र ललितपुर, राष्ट्रिय युवा परिषद, बुढानिलकण्ठ नगरपालिका र लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा मौलिक भान्छाघरले कार्यक्रम गर्न लागेको हो ।

माघे संक्रािन्तसँग सम्बन्धित परिकारसँगै सात दिनसम्म सात प्रदेशका परिकारहरु अवलोकन तथा खाने व्यवस्था गरिएको छ । आयोजक दाहालले भने, ”हामीले यसै पनि यहाँ ७५३ पालिकाका खाद्य वस्तु तथा प्रांगारिक उत्पादन प्रवद्र्धन गर्दै आइरहेका छौं । हामी कहाँ सातै प्रदेशका परिकार खान र लान पाइने व्यवस्था छ । जैविक विविधता दिवसको समेत अवसर पारेर हामी आयोजक तथा सहआयोजकले मौलिक खाना प्रवद्र्धनको लागि यो कार्यक्रम आयोजना गरिएको हो ।”

मौलिक भान्साघरले माघीका परिकारसँगै प्रदेश १ मा पाइने किनेमा र झ्याउन (राई, लिम्बुको विशेष खाना), मधेश प्रदेशको विशेष खाना भक्का, बागमती प्रदेशमा प्रचलित योमरी (नेवार जातीको विशेष खाना), गण्डकी प्रदेशमा चर्चित खिर र सेल रोटी, लुम्बिनी प्रदेशमा पाइने खिचडी र ढिकृ, कर्णालीको मार्सी खाना सेट र सुदूर पश्चिमको माडासमेतको व्यवस्था रहेको छ ।