नेप्से ३२ अंकले बढ्दा पौने ४ अर्बको कारोबार


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ । अघिल्लो साताको कारोबारको ५ दिनमा ३ दिन सेयरबजार बढेको थियो भने २ दिन बजार दोहोरो अंकले घटेको थियो ।

प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत दिएपछि राजनीतिक समिकरणमा परिर्वतन हुने आशंकाले लगानीकर्ताहरु डराएको हुनाले नाफा बुक गर्दा बजारमा करेक्सन आएको सेयरबजारका विज्ञहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्सेपरिसूचक ३२.७२ अंकले बढेर २१८२.११ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ४.५८ अंकले बढेर ४१५.८३ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ वटा उपसमुहको सेयर बढेको छ भने बैंकिङ उपसमुह मात्रै घटेको छ ।

आज नेप्सेमा कारोबार रकमका आधारमा अपि पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २३ करोड २६ लाख ८ हजार ३ सय ८८ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा ग्रिन भेन्चर आर्दश लघुवित्त, पिपुल्स हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी तीनै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज प्रभु सेलेक्ट फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर ८.४५ प्रतिशतले घटेको छ ।

कुल २५० कम्पनीको ११ करोड८८ लाख ३२ हजार ८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५ सय ८७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।