वैदेशिक रोजगारीमा जानेले व्यक्ति नभई संस्थालाई शूल्क बुझाउन मन्त्रालयको आग्रह


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानका लागि लाग्ने शुल्क बुझाउँदा व्यक्तिलाई नभई संस्थालाई बुझाउन आग्रह गरेको छ । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै शुल्क बुझाउँदा व्यक्तिलाई नभई संस्थालाई बुझाउन र रकम बुझाएको प्रमाण अनिवार्य लिनको लागि सूचित गरेको हो ।

संस्थागत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जान चाहनेले आफुले जान खोजेको मुलुक, कामको प्रकृति, आफुसँग भएको सीप, रोजगारदाताले उपलब्ध गराउने सेवाशर्त तथा सुविधा एवम् वैदेशिक रोजगारीमा जानका लागि लाग्ने शुल्क र वैदेशिक रोजगारीमा पठाउने इजाजत प्राप्त व्यवसायी कम्पनी जस्ता महत्वपूर्ण विषयमा पूर्णरुपमा जानकारी लिएर मात्र प्रक्रिया थालनी गर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले व्यक्तिगत तथा संस्थागत रुपमा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकहरुलाई विभिन्न व्यक्ति तथा संस्थाबाट विविध प्रकारका प्रलोभन देखाई ठगी गर्ने गरेको उजुरी, गुनासा तथा समाचारहरुप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयका अनुसार व्यक्तिगत श्रम स्वीकृती मार्फत वैदेशिक रोजगारमा जान चाहने नागरिकहरुले सरकारी राजस्व बाहेक कुनैपनि व्यक्ति वा संस्थालाई कुनैपनि प्रकारको शुल्क बुझाउनु पर्दैन । व्यक्तिगत श्रम स्वीकृतिमा जान चाहने व्यक्तिहरुलाई कोही कसैले भ्रम र दवावमा पारी गैरकानूनी रकम माग गरेको अवस्थामा नेपाल सरकारका सम्बन्धित निकायमा जानकारी गराउन उल्लेख गरेको छ।

साथै वैदेशिक रोजगारीमा पठाउन इजाजतप्राप्त व्यवसायीहरुबाट समेत कानूनी एवम् नीतिगत व्यवस्थाको परिपालना गरी पेशागत इमान्दारिताका साथ काम मन्त्रालयले अनुरोध गरेकाे छ ।

नेपाल सरकारबाट भएको नीतिगत, कानूनी र प्रक्रियागत व्यवस्थाको वर्खिलाप हुनेगरी कोही कसैले वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकहरुलाई ठगी गरेको पाईएमा कठोरतापूर्वक कानूनी कारवाही गर्ने उल्लेख गरेकाे छ ।