खाद्य स्वच्छताकाे आर्थिक असर


खाद्य सुरक्षाको बारेमा पर्याप्त चर्चापरिचर्चा हुने गरेको छ तर यसको तुलनामा खाद्य स्वच्छता कम बहस गरिएको विषय हो । खाना खाएकै कारणले मानिसले ज्यानसम्म गुमाउनु पर्ने अवस्थाको सुधार गर्न अहिले पनि नबोले कहिले बोल्ने ?

अरूण जिसी-

सन् २०२० मा विश्वको नौ प्रतिशतभन्दा बढी जनसंख्या कुपोषित छन्, जुन संख्यामा झण्डै ७२ करोड हुन आउँछ । कोभिड–१९ को महामारीका कारणले मात्र करिब ४ करोड ६० लाख मानिस भोकमरीको अवस्थामा पुगेको अनुमान गरिएको छ । यो सभ्य भनिएको समाजमा पक्कै पनि पाच्य विषय होइन । आखिर विश्वभरमा हामी कति खाद्यान्न उत्पादन गर्छौं र यति धेरै मान्छेहरू भोकमरीको चपेटामा पर्छन् त ? 

यदि विश्वव्यापी आपूर्तिलाई हेर्ने हो भने लगभग प्रतिदिन प्रतिव्यक्ति २९२० किलो क्यालोरी बराबरको खाद्यान्न उत्पादन हुनेगर्छ । अफ्रिकाकै उदाहरण हेर्ने हो भने पनि  खाद्यान्न उपलब्धता प्रतिदिन प्रतिव्यक्ति २५४७ किलो क्यालोरी छ । 

महत्वपूर्ण पक्ष के छ भने एक स्वस्थ वयस्क मानिसको लागि सिफारिस गरिएको औसत आवश्यकता भनेको प्रतिदिन २२०० किलो क्यालोरी हो । प्रस्तुत तथ्यांकले हामी समग्र स्तरमा आफूलाई आवश्यक खाद्यान्न उत्पादन गरिरहेका छौं । हामीलाई स्पष्ट संकेत गर्छ तर विश्वव्यापी रूपमा आज पनि यतिका संख्या मानिसहरू भोकमरीको चपेटामा छन् त ? 

यो उत्पादन मात्र समस्या पक्कै पनि होइन । उत्पादनको वितरण र विशेषतः उत्पादनका बखत वा उत्पादनपश्चात हुने क्षति र खेर फालिने खाना पनि प्रमुख समस्या हुन् । विभिन्न अध्ययनले देखाए अनुसार हामीले उत्पादन गरेको एक तिहाइ खानेकुरा नखाई विभिन्न चरणमा नष्ट हुन्छन् वा खेर जान्छ ।

खाद्य स्वच्छता

माथि उल्लिखित तथ्यले खाद्य असुरक्षा अझै पनि प्रमुख चुनौती हो भन्ने कुरामा कुनै दुई मत छैन । यद्यपि, खाद्य स्वच्छताको मुद्दा पनि कम पेचिलो छैन । फरक के मात्र हो भने खाद्य सुरक्षाको बारेमा पर्याप्त चर्चापरिचर्चा हुने गरेको छ तर यसको तुलनामा खाद्य स्वच्छता कम बहस गरिएको विषय हो । खाना खाएकै कारणले मानिसले ज्यानसम्म गुमाउनु पर्ने अवस्थाको सुधार गर्न अहिले पनि नबोले कहिले बोल्ने ?

खाद्य स्वच्छताको बारेमा चर्चा गर्नुपूर्व एक प्रश्न– के तपाईंलाई कहिल्यै कुनै खाना खाएपश्चात कुनै प्रकारको स्वस्थ्य समस्या भएको छ ? सम्भवतः छैन भन्ने जवाफ हामीले विरलै प्राप्त गर्छौं । हामीले कहीँ न कहीँ र कुनै न कुनै बेला खाना खाएपश्चात कुनै प्रकारको स्वस्थ्यमा गडवडी भोगेका छाैँ । कसैलाई कुनै भोज खाएपश्चात यस्तो अनुभव भयो होला त कसैलाई कुनै नयाँ ठाउँमा जाँदा वा कतिपयलाई वरपर वा घरमै तयार गरेको खाना खाएपश्चात यस्तो भोगाइ भएको होला ।

खाद्य स्वच्छतालाई सरल भाषामा परिभाषित गर्दा खानेकुराहरूमा जैविक भौतिक वा रासायनिक संक्रमण नभएको वा स्वीकार्य मात्रामा यस्ता जोखिमयुक्त वस्तुहरू रहेको अवस्था हो । अझ सहज भाषामा भन्दा जुन खानेकुरा उपभोगबाट हामीलाई कुनै प्रकारको स्वास्थ्य जोखिम हुँदैन त्यस्तो नै खाद्य स्वच्छताको अवस्था हो । 

हाल राष्ट्रिय सभामा विचाराधीन रहेको खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा ‘खाद्य स्वच्छता भन्नाले खाद्य पदार्थ तयारी तथा उपभोग (इन्टेन्डेड युज) गर्दा मानव स्वास्थ्यको दृष्टिकोणले सुरक्षित रहेको सम्झनु पर्दछ’ भनी परिभाषित छ । 

विश्व बैंकका अनुसार न्यून र मध्यम आय भएका देशहरूमा खाद्य स्वच्छताको आर्थिक असर प्रतिवर्ष १ खर्ब १० अर्ब अमेरिकी डलर बराबर छ, जसमध्ये १५ अर्ब अमेरिकी डलर उपचार खर्चको लागत हो भने बाँकी ९५ अर्ब अमेरिकी डलर असुरक्षित खानाबाट मानिसले गुमाएको ज्यान वा सक्रिय जीवनका कारण अर्थतन्त्रले गुमाएको रकम हो । 

यस अध्ययनले न्यून तथा मध्यम आय भएका मुलुकहरूको आर्थिक असर समावेश गरे पनि विकसित मूलुकमा पनि खाद्य स्वच्छताको अवस्था सन्तोषजनक छैन । फरक कति मात्र हो भने प्रायः विकसित देशहरूमा उत्पादनदेखि उपभोगसम्म समस्त खाद्य श्रृंखलामा नियमनकारी निकायको सक्रिय निगरानी हुन्छ र कुनै समस्या देखिए त्यसको उपचारात्मक तथा सुधारात्मक कार्य बिना विलम्ब गरिन्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक बमोजिम विश्वभर अस्वच्छ खाद्यवस्तुको उपभोगबाट दुई सयभन्दा ज्यादा प्रकारका रोग लाग्छन् भने प्रत्येक वर्ष करिब चार लाख २० हजार मानिसले ज्यान गुमाउने गरेका छन् । डिसएकेलिटी एड्जस्टर्ड लाईफ एयर मापन विधि अनुसार प्रतिवर्ष असुरक्षित खाद्यको उपभोगबाट तीन करोड तीस लाख स्वस्थ्य जीवनहरू गुमिरहेका छन् ।

कारण

खाद्य अस्वच्छता कुनै एक स्थान विशेषमा नभई आलीदेखि थालीसम्मको कुनै पनि विन्दुमा हुन सक्ने संक्रमणका कारण सिर्जना हुन्छ । कृषि तथा पशुपन्छी उत्पादनकै क्रममा प्रयोग भएका मल, विषादी, दाना, एन्टिबायोटिक्स आदिबाट पनि विभिन्न संक्रमण हुन सक्छ । 

साथै खेतीमा गरिने सिँचाई, उत्पादनपश्चात हुने धुने तथा पखाल्ने पानी मार्फत्को संक्रमणदेखि ढुवानी बजारीकरण तथा भान्सासम्मै विभिन्न विन्दुहरूमा संक्रमणका जोखिम हुन्छन् । भौतिक जैविक तथा रसायनिक संक्रमणले हाम्रो खाना दूषित भई खाद्य अस्वच्छता हुन सक्छ । 

भौतिक संक्रमण भन्नाले विभिन्न प्रकारका भौतिक वस्तुहरू खानेकुरामा मिसिने प्रक्रियाका रूपमा बुझ्नु पर्छ । जस्तै ढुंगा, सिसाका टुक्रा कपाल आदि । यस प्रकारका संक्रमण स्थिर हुन्छन् । यसको मतलब यो वृद्धि हुँदैन तर जैविक संक्रमण जस्तै– ब्याक्टेरिया, फंगस, भाइरस, परजीवी लगाउतका जीवाणु तथा विषाणुहरू उपयुक्त वातावरण प्राप्त गरे ठूलो मात्रामा वृद्धि भई खानेकुरा जोखिमयुक्त हुन्छन् । 

प्रायः रासायनिक संक्रमण भने समयक्रममा घट्दै जान्छन् जस्तै विषादीको असर, जुन क्रमिक रूपमा क्षय हुँदै जान्छ तर केही रसायनहरू भने विभिन्न प्रतिक्रियामार्फत अझ विषाक्त हुन पनि सक्छन् । 

विश्व बैंकका अनुसार न्यून र मध्यम आय भएका देशहरूमा खाद्य स्वच्छताको आर्थिक असर प्रतिवर्ष १ खर्ब १० अर्ब अमेरिकी डलर बराबर छ, जसमध्ये १५ अर्ब अमेरिकी डलर उपचार खर्चको लागत हो भने बाँकी ९५ अर्ब अमेरिकी डलर असुरक्षित खानाबाट मानिसले गुमाएको ज्यान वा सक्रिय जीवनका कारण अर्थतन्त्रले गुमाएको रकम हो ।

——

विषादी

हामीकहाँ मात्र नभई विभिन्न देशमा विशेष चर्चा पाएको विषय हो– विषादी । खाद्य अस्वच्छताको एक प्रमुख कारण विषादी हो । विश्वभर एक हजारभन्दा ज्यादा प्रकारका विषादीहरू प्रयोगमा छन् । भर्खरै आठ अर्ब पुगेको जनसंख्या सन् २०५० सम्म ९.७ अर्ब पुग्ने अनुमान छ ।

संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन (एफएओ)का अनुसार उक्त विशाल जनसंख्यालाई पर्याप्त हुने खाद्यान्नका लागि हालको उत्पादन भन्दा ६० प्रतिशतभन्दा ज्यादा उत्पादन गर्नुपर्ने हुन्छ । यो ६० प्रतिशतको पनि ८० प्रतिशत उत्पादन वृद्धि उत्पादकत्व वृद्धिबाट आउनु पर्ने हुन्छ । किन कि, हामीसँग क्षेत्र विस्तारको ठूलो सम्भावना छैन । 

यस प्रकारको उत्पादकत्व वृद्धिका लागि विषादी लगायतका अन्य कृषि रसायनको प्रयोगमा उल्लेख्य वृद्धि हुनेछ । यसको मतलब हो खाद्य जोखिम पनि उच्च हुनेछ । अतः विषादीको जोखिम विश्लेषण वैकल्पिक विधिहरूको पहिचान र वैज्ञानिक विधिको प्रयोग अति आवश्यक छ । 

कृषि तथा खाद्य संगठन तथा विश्व स्वास्थ्य संगठनको संयुक्त पहलमा कोडेक्स एलिमेन्टारियसको स्थापना गरिएको छ । कोडेक्सको मुख्य कार्य भनेको विश्वव्यापी रूपमा सदस्य राष्ट्रहरूका लागि खाद्य स्वच्छतासम्बन्धी वैज्ञानिक अध्ययन तथा विभिन्न मापदण्डहरू तयार गर्ने हो । कोडेक्स एलिमेन्टारियसले हालसम्म १०० भन्दा बढी विषादीहरूको मापदण्ड विकास गरिसकेको छ ।

अन्य खतरा

प्रायःजसो हामीले विषादीका विषयमा सरकार र अन्य सरोकारवालाहरू निकायहरूको ध्यान अधिक केन्द्रित भएको पाउँछौ । यद्यपि, विषादी तथा कृषि रसायनहरू खाद्य सुरक्षा जोखिमहरूको ठूलो चित्रको एक अंश मात्र हो । त्यहाँ धेरै ब्याक्टेरियाहरू छन् जसले खानाजन्य रोगहरू निम्त्याउँछन् । साल्मोनेला, क्याम्पिलोब्याक्टर एन्टरोहेमोरेजिक एस्चेरिचिया कोलाई, लिस्टेरिया भिब्रियो कोलेरा आदि खानामा संक्रमण गर्ने प्रमुख ब्याक्टेरिया हुन् । एन्टिबायोटिकको अन्धाधुन्ध प्रयोगले एन्टिमाइक्रोबियल प्रतिरोधात्मक क्षमता निम्त्याइरहेको छ । ब्याक्टेरियाबाहेक, भाइरस, परजीवी र प्राइन्स खाद्य सुरक्षाका लागि प्रमुख चिन्ता हुन् । 

जिम्मेवारी

खाद्य स्वच्छता एकल बिन्दु सृजित समस्या होइन । तसर्थ, खाद्य स्वच्छता सुनिश्चित गर्न सबै कृषि–खाद्य प्रणालीका सरोकारवाला निकायहरूको समान रूपमा जिम्मेवारी रहन्छ । किसानहरूलाई असल कृषि अभ्यासहरू अपनाउन प्रोत्साहित गरिनु पर्छ । 

ढुवानीकर्ता र व्यापारीहरूमाझ जोखिम विश्लेषणमा आधारित ‘क्रिटिकल कन्ट्रोल पोइन्ट प्रणाली (ह्यास्याप)’ अपानउनु पर्छ । सरकारले विज्ञानमा आधारित नियमन र प्रवर्धन प्रणाली चाहिन्छ । यो प्रक्रियाको अर्को महत्वपूर्ण पक्ष भनेको मिडिया हो । 

सञ्चार माध्यमहरूले सरकार र अन्य संस्थाहरूसँग मानिसहरूलाई खाद्य स्वच्छताको बारेमा सुसूचित गर्न सहयोग गर्नु पर्छ । एफएओ, कोडेक्स, आईपीपीसी, डब्लूएचओजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले प्राविधिक सहयोगलाई वृद्धि गर्नुपर्छ ।

सबै देशले खाद्य स्वच्छताको पर्याप्त स्तर कायम गर्न ठूलो रकम लगानी गर्न सक्छ भन्ने कुरा स्वीकार कठिन छ तसर्थ कम लागत र कार्यान्वयन गर्न सजिलो समुदायमा आधारित समाधनाहरू पहिचान गर्नु महत्वपूर्ण छ । सरकारले एक्लैले यस्ता ठूला समस्या समाधान गर्न सक्दैन भन्ने कुरा हामीले बिर्सनु हुँदैन । त्यसैले सहशासन र स्वशासन आवश्यक छ । सौभाग्यवश, हामीसँग अहिले बलियो स्थानीय सरकारहरू छन् र खाद्य स्वच्छता कायम राख्न तिनीहरूको भूमिका महत्वपूर्ण छ ।

बढ्दो खाद्यान्न नोक्सानी र खाना खेर फाल्नाले थप उत्पादनको माग गर्दछ । उत्पादनले खेती र खाद्य प्रणालीमा रसायनहरूको उच्च प्रयोगलाई निर्धारित गर्दछ । तसर्थ, खाना खेर फाल्ने क्रममा नियन्त्रण गरिनु खाद्य सुरक्षाको दृष्टिकोणबाट मात्र महत्वपूर्ण हैन कि यो त दिगोपन र जलवायु परिवर्तनको दृष्टिले पनि उत्तिकै महत्पूर्ण छ । त्यसैगरी, लामो खाना श्रृंखलाले खाद्यान्नहरू संक्रमित हुने सम्भावना बढाउँछ । तसर्थ, स्थानीय खाद्य प्रणाली र छोटो मूल्य श्रृंखलाको प्रवर्द्धन बाञ्छनीय छ ।

(टक्सार म्यागजिन, पुस २०७९ बाट)