हरि राेका-
पछिल्लो राजधानी सहर काठमाडौँको स्थानीय सरकार, काठमाडाैँ महानगरपालिकामा ठुलो हल्ला–खल्ला भइरहेछ । बालेन्द्र शाह मेयर निर्वाचित भएको केही महिना नबित्दै फूटपाथ व्यापारीहरूलाई हटाउने अभियान सुरु गरियोे । फुटपाथमा मान्छे हिँड्न दिक्कत हुनेगरी पसल थाप्नेहरूलाई सजाय दिएकोमा सडक–सभ्रान्तहरू दङ्ग थिए तर सानो परिणाममा व्यापार गरेर जीविकोपार्जन गरिरहेकाहरूको रोजीरोटी कसरी चल्ला भन्ने मानवीय दृष्टिकोण त्यो कार्यलाई अन्जाम दिइरहँदा कतै दृष्टिगोचर भइरहेको देखिँदैन थियो ।
त्यस्को केही महिनापछि सहरको माझमा बग्ने मृतखोला इच्छुमती (टुकुचा) अतिक्रमण गर्ने सभ्रान्त सहरियाका घर–कम्पाउन्डमाथि डोजर लगाउने कुरा चल्यो । केही क्षेत्रमा उत्खनन् पनि गरियो । टुकुचामाथि घर–कम्पाउन्ड बनाउनेहरूले इतिहास कोट्याए ।
सायद पावर भिडाए । पुरातत्व विभागको निर्देशनपछि उत्खनन् हाल स्थगन देखिन्छ । पारिएका प्वालहरू टालिएका छैनन् । यी दुवै काम अधुरो छोडेर महानगरपालिकाको ध्यान सुकुमबासी हटाउन तल्लिन देखियो । सुकुमबासीहरूले त्यस कार्यको प्रतिवाद पनि गरे । जे होस मेयरसाहेबमा सहरलाई नया ढंगले रूपान्तरण गर्ने हुटहुटी देखिन्छ ।
नेपालीमा एउटा उखान छ कि “साँघु बनाउनेको नाम आँउछ, कि साँघु भत्काउने को” । किनकि यी दुवै काम मान्छेले पछिसम्म भुल्दैनन् । त्यसैले यी सब काम योजनाबद्ध ढंगले, वैकल्पिक तथा संस्थागत व्यवस्थापनका उपायहरू नखोजीकन वा सहजीकरणको परिस्थिति नमिलाइकन लहडवाजी देखाएको सर्वत्र महसुस गरिएको देखिन्छ ।
सहर निर्माणको ऐतिहासिकता
केही ठाउँहरूमा सहर छिटै स्थापित हुन्छन, जस्तो नेपालकै पूर्वपश्चिम राजमार्गमा बसेका सहरहरू बिर्तामोडदेखि महेन्द्र नगरसम्म । त्यस्तै पूर्वपश्चिम पहाडी राजमार्गमा केही नगरपालिकाहरू छिटछिटो सहर बन्ने क्रममा छन् । केही सहरहरू प्राचीन कालमै अर्थात ८/१० हजार बर्षै अगाडि बने,जस्तो मेरोपेटोमिया, इर्दु, उरुक, आदि ।
त्यस्ता सहरहरू प्राचीन चीन र सिन्धु उपत्यकामा निर्माण भए । मानिसहरू सिकार र पशुपालन व्यवसायमा घुमन्ते हिसाबमा गर्थे भने कृषि व्यवसायमा आएपछि स्थायी बसोबास सुरु भयो र सहर बन्ने क्रम थालनी भयो । स्थायी बसोवास भएपछि खाद्यान्न लगायत अत्यावश्यक वस्तुको जगेडा गर्नु आवश्यक भएपछि गोदामघरहरू र व्यापार व्यवसाय सुरु भयो ।
एकअर्काले उत्पादन गरेको वस्तु तथा सेवा विनिमय गर्नका लागि सहज आवागमन तथा सहजतापूर्वक सामान उपलब्ध हुने ठाउँ चाहियो । फलस्वरूप बजारको जन्मसँगै सहरको जग बस्यो । यद्यपि सहरीकरणसँगै सामाजिक जीवन जटिल बन्दै जानु अस्वभाविक थिएन । मानिसहरूले लेख्न र बोल्न सिके । नयाँ खेतिपातीका लागि नयाँ औजारहरू वा नयाँ प्रविधिको विकास हुन थाल्यो ।
धातुका सामाग्रीहरू प्रचलनमा आए । यी सेवाले मानिसलाई सहजता उपलब्ध गरायो तर संसारका सहरहरू एकैखाले आवश्यकता पूर्ति गर्नका लागि भने बनेका होइनन् । कोही व्यापारका लागि, कोही उत्पादनका लागि, कोही निर्माणका लागि बनेको देखिन्छ ।
जस्तो नेपालका अधिकांस सीमाका सहरहरू जस्तो विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढी जस्ता सहरहरू भारतीय नाका भएर व्यापार गर्ने सिलसिलामा खुलेका थिए । संसारका अधिकांस ठुला सहरहरू व्यापारका लागि नै निर्माण भएका हुन् भन्दा हुन्छ । कतिपय सहरहरू राज्य प्रशासन चलाउनका लागि खडा भए । जस्तो नेपालको काठमाडाैँ र ७७ जिल्लाका सदरमुकामहरू । त्यसैले सहर बन्नुका पछि विविध कारणहरू रहेका हुन सक्छन् । बितेका ऐतिहासिक कालखण्डमा मानिसहरू व्यापार, संस्कार र संस्कृति सिक्न, शिक्षा हासिल गर्न तथा बन्दव्यापार तथा आर्थिक अवसरहरू प्राप्त गर्नका लागि सहर भित्रिने काम जारी रह्यो तर सँधै एकनास तवरमा भित्रिइरहे भन्ने पनि होइन । भित्रिए पनि स्थिर बसोबासका लागि सहर नहुन पनि सक्थ्यो ।
त्यसैले सहरको जनसंख्या वृद्धिदर कहिल्यै स्थिर थिएन । अर्थात् गाउँ फर्कने क्रम पनि सरावरी जस्तै थियो । जस्तो सन् १८०० मा ९० प्रतिशत मानिसहरू गाउँमै बस्थे । उदाहरणका लागि संयुक्त राज्य अमेरिकामै पनि ९४ प्रतिशत गाउँमै थिए तर सन् १९०० अर्थात सय वर्षपछि गाउँमा बस्नेहरूको संख्या अमेरिकामा ६० प्रतिशतले घट्यो । सहरीकरण बढ्नुको पहिलो कारण औद्योगिक क्रान्ति थियो । (National Geography, https://education.nationalgeographic.org/resource/history-cities), जुन बेलायतबाट युरोप हुँदै अमेरिका पुगेको थियो ।
औद्योगिक क्रान्तिले सहरमा कारखानामा काम गर्ने मजदुरको माग बढ्यो र एक शताब्दी नबित्दै करोडौँ मानिसहरू कृषि छोडेर सहर पसे । पछिल्लो समयमा फलामका घर र विद्युतीय भर्याङहरूको आविष्कार भएपछि सानो जग्गामा पनि सैयौँ परिवार अटाउने आकास छुने अग्ला भवनहरू बन्न थाले र बसोबास सहज बन्न पुग्यो ।
सहरसम्बन्धी विज्ञहरूका अनुसार अहिल्यै नै (सन् २०२२) आधारभन्दा बढी जनता सहरमा बस्ने गरेका छन् र आगामी सन २०५० सम्ममा दुईतिहाइ मानिस सहरमा बस्न पुग्नेछन् । नेपालमै पनि केही दशक सहरीकरण एउटा प्रवृत्तिकै रूपमा हुर्की रहेको छ । सहरबाट गाउँतर्फको बसाइसराई सन् १९९२ पछि झन तीव्र बन्यो र पछि सन् १९९६–२००६ को माओवादी विद्रोहको कालखण्डमा सहरमा स्थायीरूपमै बसोबास गर्ने जनसंख्या भारी संख्यामा बढ्यो ।
नेसनल जोग्राफीको रिर्पोर्टअनुसार संसारमा सहरहरू बढ्ने क्रम मात्र जारी छैन, भयंकर ठुला सहरहरू बन्ने क्रम पनि सँगसँगै जारी छ । सन् १९५० मा १ करोडभन्दा बढी जनसंख्या भएका सहरहरू दुईओटा मात्र थिए । जापानको टोकियो र अमेरिकाको न्युयोर्क । सन् २०१८ मा आइपुग्दा त्यस्ता सहरहरूको संख्या संसारभर ३७ पुगेको छ ।
टोकियोमा सन् २०१९ मा ३ करोड ३७ लाख मानिस बसोबास गर्थे । हाम्रो छिमेकी मुलुक भारतको राजधानी दिल्लीमा अहिले हाम्रो कूल जनसंख्या जति अर्थात ३ करोड मानिस बसोबास गर्छन् । चीनको सांघाई, न्यु मेक्सिको, ब्राजिलको साओपाउलो जस्ता सहरहरूको जनसंख्या २ करोडभन्दा बढी देखिन्छ ।
सहर कसरी बन्यो ? सहरमा मानिस किन आउन लालायित हुन्छन ? भनेर सहरको निर्माण प्रक्रिया र आवश्यकताका बारेमा अध्ययन हुन जरुरी हुन्छ । अझ भनौँ सहर के हो र कस्तो हुन्छ भन्ने ऐतिहासिक प्रक्रियालाई बझनु पर्ने हुन्छ ।
सर्वसाधारण र सहर
म आफैँ कसरी सहर आइ पुगेँ ? म र म जस्ता लाखौँ, करोडौँ नेपालीहरूको सहर आगमनका कथाहरू बटुल्ने हो भने सबैखाले साहित्यभन्दा बढी हुनेछन् । म पढाइको सिलसिलामा सहर आइपुगेको थिएँ । बिचको एक दशक राजनीतिमा समय ब्यतीत गरेपछि जीविकोपार्जन तथा राजनीतिपछिको जीवनको विकल्प खोज्न पुनः राजधानी सहरमै फर्किनु पर्योे ।
सहरले मलाई बस्न बध्य तुल्याए पनि वशिभूतमा पार्न सकेन । अपनत्व दिन पनि सकेन । मलाई सहर कहिल्यै आफ्नो लागेन । बर्षौ होइन दशकौँ सहरमा बिताइ सक्दा पनि सहरभित्र खाइखेलेको, हिँडेडुलेको, बातचित मारेको सपनामा पनि सहर देखा पर्दैन ।
यी शब्दहरू लेखिरहँदा पनि म सहरमै छु । म आफैँलाई पनि मन परोस या नपरोस् मेरो उमेर, स्वास्थ्य स्थितिले, जीविकोपार्जनका लागि गरिरहेको पेशागत अभ्यासले हालसालै सहर छोड्न सक्ने अवस्थामा छैन । म र म जस्ता हजारौँ, लाखौँ परिवारलाई सहरले बोक्नु पर्ने वाध्यता छ ।
सन् २०१२ मा कालीकोटमा भेट भएका भूपेन्द्रबहादुर शाही हुन या सन् २०२१ मा भोजपुर श्यामशीलामा भेट भएका काजीमान शेर्पा दुवैको लवजमा मानिस किन सहर पस्छ भन्ने तर्क आआफ्ना किसिमले गजप र अकाट्य थिए ।
शाहीलाई भेट्दा उनको उमेर ७० अधिक जस्तो थियो । त्यो छोटो वार्ताले हाम्रो परिवेशमा खास गरी सन् १९९० पछि कसरी परिवर्तन भयो र कसरी राज्यले ध्यान नपुर्याउँदा मुलुक आर्थिक रूपमा समस्याबाट जकडिँदै गयो भन्ने बुझ्न आँखीझ्यालको जस्तो काम गरेको मैले अनुभूत गरेको थिएँ ।
उनका अनुसार साढे तीन दशक अघि झण्डै चार सय मुरी अन्न फलाउने, लेकको गोठमा झण्डै ५ हजार हाराहारीमा भएका भेडा च्यांग्रा, सय हाराहारी चौँरी गाई, कछाड र बेँसीमा गरी सात–आठमाउ भैँसी, टाट्नामा पालिएका पचासौँ खसी, ५/६ हल गोरु कसरी वितेका दुई अढाई दशकमै दुई तिहाइले सखाप भए भन्ने कथा उनले सूत्रमा बताएका थिए ।
“लेकका भेडा, च्याङ्ग्रा लगायत पशु किन अहिले ५ सयभन्दा कम भएका होलान ?” मैले सोधेँ ।
सूत्रमा उनको जवाफ थियो– स्कुल
गाउँको अन्न उत्पादन ४ सय मुरीबाट कसरी ४० मुरीमा झर्यो ?
‘मोटर बाटो’
उनको अनुभवअनुसार बहुदलको जागरणसँगै बच्चाबच्ची पढाउनै पर्छ भन्ने सामाजिक माहोल बन्यो । गोठमा गोठाला बस्न, केही केटाकेटी तयार हुने कुरा भएन । किनकि बच्चाहरूका लागि शिक्षा आवश्यक नै थियो र केटाकेटीहरूले स्कुल रोजे ।
गोठ पाकाहरूले मात्र पनि धान्न सक्ने कुरा थिएन । अक्सर गोठमा १०–१२ वर्षमा पुस्तान्तरण हुने गर्छ तर दुई पुस्तान्तरण गर्न नपाउँदा त गोठ सकिने अवस्था आउँदो रहेछ र सकियो । वास्तवमा यो अर्थशास्त्रमा देखा पर्ने सामान्य व्यापार–चक्र जस्तै थियो ।
औल या गाउँको अन्नको कुरा बाटोसँग कसरी जोडियो भन्ने विषयमा अनुरोध गर्दामा उनले भने, जब सुर्खेत–जुम्ला बाटो बन्न सुरु भयो, मानिसले नगद ज्याला प्राप्त गर्न थाले । त्यो पनि गाउँमा पाउने ज्यालाभन्दा दोब्बरले बढी । बाटोसँगै अन्नपात सागसब्जी पनि बाहिरबाट आउन थाल्यो ।
बाटोको नगद छोडेर गाउँमा बनीबुतो गर्न आउने मानिस निख्रँदै गए । कति परिवार जोसँग जग्गाजमिन थिएन तिनीहरू परिवार सहित बाटोमा लागे, जसका जग्गा जमिन र घर थिए तिनको हातमा नगद भएपछि आफ्नै पारिवारिक सुतीथाती गर्न थाले ।
त्यो अमूक बाटो सकिएपछि, ठेक्केदारसँग अर्को अमूक बाटोमा लागे गाउँ र बनीमा फर्किएनन् । खेतमा काम गर्ने मजदुर, घाँस र गोठ हेर्ने गोठालो, जोत्ने हली नभएपछि घरपालुवा जानवर पनि विस्तारै सकिँदै गए । त्यसपछि कृषिलाई दुःखिया पेशा ठान्न थालियो ।
मानिस विस्तारै थोरै तर मिठो खान र राम्रो लाउन अनि सफा सुग्घर बस्न सहर पस्न थाले । वास्तवमा शिक्षा पाउनु पर्छ भन्ने बालबालिकामा मात्र होइन बा–आमा समेत चेतनाको यो विस्तार र पूर्वाधार विकासले नयाँ चरणमा प्रवेश गरेपछि ग्रामीण कृषिमा अनुत्पादन वा कम उत्पादनको सिलसिला सुरु भएको थियो ।
यद्यपि यो परिवर्तनलाई नीति निर्माता र सरकारहरूले कहिल्यै मनन् गरेको देखिएन । वास्तवमा नेपालको आर्थिक सामाजिक हिसाबले त्यो ठूलो रूपान्तरण थियो । जनसंख्या वृद्धिदर घट्नुमा, सरदर नागरिकको उमेर बढ्नुमा, ग्रामीण बसाइसराई बढ्नुमा, कृषि ओह्रालो लाग्नु र वैदेशिक रोजगारीमा जाने क्रम बढ्नु, वैदशिक रोजगारी वृद्धिसँगै निर्यातको तुलनामा वस्तु तथा सेवा आयात बढ्नुमा र परनिर्भर हुँदै जानुमा माथि उल्लेखित शाहीको वर्णनले उब्जाएको तर्कसँग धेरै कुराको उत्पत्ति र विस्तार भएको देखिन्छ ।
माथिल्लो कथाको झण्डै एक दशकपछि काजीमान शेर्पासँग श्यामशीला बजारमा भएको कुराकानी पनि रोचक थियो ।
“हाम्रो खेती किन कमजोर भयो ? उत्पादन किन घट्यो ?”
“उत्पादन लागत बढ्यो । गरिएको उत्पादित वस्तुले बाह्य बजारबाट ल्याइएका उत्पादनसँग स्थानीय बजारमा प्रतिषपर्धा गर्न सकेनन् । यस्तो अवस्थामा नोक्सान उठाउन किन खेती गर्ने ?”
“जमिन किन बाँझो राख्न पर्यो ?”
“जमिनको स्वामित्व बोकेकाहरू खेती गर्दैनन्, जसको जमिन छैन उनीहरूलाई वैदेशिक रोजगारीको तुलनामा स्थानीय बनीबुतोले पोसाउँदैन । अर्थात्, जहानबच्चा पालनपोषण, पर्ढाई लेखाई धान्दैन ।”
“अब सुधार्न के गर्नु पर्छ ?”
“धेरै थोक गर्नु पर्दैन । सहरका सुविधा गाउँमै पाउने व्यवस्था गर्नुपर्छ ।”
“त्यसको अर्थ ?”
शेर्पाको जवाफको समग्र आशय नगरपालिकाभित्र कम्तिमा बच्चा पाउने सुविधा सहितको सामान्य स्वास्थ्य उपचारका लागि केही सै्यया सहितको सार्वजनिक अस्पताल । सुरक्षित कृषि बजार र खाद्य सुरक्षाको प्रत्याभूति, कम्तिमा कक्षा १२ सम्म हाम्रा नानी बाबुहरूका लागि स्तरीय शिक्षाको स्थानीय व्यवस्थापन ।
राज्यको स्तरमा कृषि उत्पादन र विस्तारका लागि भएको कृषि विश्वविद्यालयले कृषक उत्पादन गर्ने व्यवस्था । संघीय सरकारले (उनको भनाइको मतलव तीनवटै सरकार) यी व्यवस्थापन गर्न जति ढिलाई गर्छ मधेस र सहरतिर हामफाल्ने क्रम रोकिनेवाला छैन । धेरैका लागि होइन शिक्षा र सामान्य स्वास्थ्य प्राप्तिका लागि ।
सहरमा संघर्ष
सबै तह र तप्का अर्थात वर्गीय व्यक्तिहरूको इच्छा आकांक्षा र आवश्यकतावाट एउटा सहरको निर्माण हुन्छ । भनिरहनु पर्दैन, सहरको निर्माण मानिसहरूले नै गर्ने हुन तर जब निर्माणकर्ताहरूलाई नै सहरमा बसोबास गर्दा असहिष्णुता अपनाइन्छ तब अप्रत्यक्ष ढंगले सहरमा अर्को नयाँ खेती सुरु हुन्छ ।
त्यसैले प्रश्न के उठ्छ भने कस्तो प्रकारको सहर हामी रुचाउँछौ ? त्यसैले प्राकृतिक रूपमै नयाँ सामाजिक सम्वन्धहरू निर्माण हुँदै जान्छन् । त्यसैले नै जस्वन पद्धति निर्माण हुँदै जान्छ । त्यसैले नै प्रविधिको प्रयोग, सुन्दरिक मूल्य र मानिसका इच्छा र आकांक्षा तयार हुन्छन् ।
सहरका अध्यता भूगोलविद् डेभिड हार्वेको विचारमा सहर बन्ने क्रममा जम्मा हुने स्रोत र साधनका, निर्माणमा सहभागी हुने श्रमशक्ति र उनीहरूले गर्ने योगदान जसरी जम्मा भएको हुन्छ त्यस कारणले सहरको अधिकार व्यक्तिको निजी स्वतन्त्रताभन्दा गहकिलो हुन पुग्छ (David Harvey, The Right to the City, NLR 53, September–October 2008 (newleftreview.org)।
माथि उल्लेख गरेझै सहरहरूमा भोगौलिक तथा सामाजिक रूपमा बचत उत्पादन, ग्रामीण क्षेत्रमा जम्मा हुने नगद बचत पनि अन्तमा यहीँ जम्मा हुन आइपुग्छ । उदाहरणका लागि नेपालको मोफसलमा पठाइने विकास बजेट खर्च नहुनु वा कागजमा मात्र खर्च हुनु वा स्थानीय तवरमा खर्चिनु तर त्यसबाट भएको नाफा वा बचत पुनः सहरमै ठेक्केदार, इन्जिनियर, नेता मात्र होइन सर्वसाधरण जो पुँजी निर्माणमा सामेल हुन्छन्, छोराछोरीको पढाइ तथा वा आमाको उपचारका नाममा सहरमै फर्कने गर्छ ।
त्यसरी फर्किने पुँजी थोरै मानिसहरूको चंगुलभित्र जकडिन पुग्छ र कम मात्रै फेरि पुनर्निर्माण र पुनर्वितरणमा आउने गर्छ । त्यसैले सहरीकरण आफैँमा वर्गीय प्रवृत्ति बन्न पुगेको हुन्छ । यो एउटा अनवरत प्रक्रिया हो ।
नवउदारवादी अर्थराजनीति सुरु भएपछि तेस्रो विश्वका अधिकांस सहरहरूलाई औद्योगीकरणको प्रक्रिया तथा अन्य विकास प्रक्रियाबाट अलग राख्ने प्रयत्न गरिँदै आएको देखिन्छ । कतिपय व्यक्तिले सहरलाई अति संवेदनशील क्षेत्र मात्रमा केन्द्रित गर्ने घोषणा गरिँदैछ ।
कतिपयले अमेरिकाको ‘सिलिकन क्यापिटालिजम’को नक्कल गरेर उत्पादन र रोजगारी बृद्धिको अर्थतन्त्रवाट सहरलाई अलग राख्नु पर्ने गिग इकोनोमी अर्थात अस्थायी प्रकृतिको काममा सीमित गर्नु पर्ने बताउँदै आएका छन् ।
कार्ल माक्र्स म्याक्स वैबरको विरासत छोडेको वर्गीय सामाजिक सिद्धान्तमा विश्वास गर्ने हो भने सहरहरूले पुराना औद्योगिक सहरहरू जस्तो बेलायतको म्यानचेस्टर, जर्मनको बर्लिन तथा अमेरिकाको सिकागोले झै उत्पादन तथा रोजगारी वृद्धिको कामलाई अगाडि बढाइरहनु पर्छ ।
सहरले उत्पादन नबढाउँदा वा रोजगारी वृद्धि नर्दा आफूभित्र बढ्दो जनसंख्याको चापलाई धान्न सक्दैन, मानिसले छिट्टै पलायन रोज्नु पर्ने हुन्छ । जस्तो अमेरिकाको डेट्रोइट सहरले सन् १९७० को दशकपछि बेहो¥यो । तेश्रो विश्वका मुलुकहरूका राजधानीहरू जस्तो भारतको राजधानी दिल्ली र त्यसको आसपासको क्षेत्र, किन्सासा र खार्तुम, दारेसलाम र ढाका वा लिमा जस्ता सहरहरूले आफू मक्किएको थोत्रो सहर देखिँदा–देखिँदै पनि आयात प्रतिस्थापन उद्यम तथा खुम्चँदो भए पनि सार्वजनिक आर्थिक संस्थाहरूका कारण आफूलाई धानी रहेका छन् ।
सहरभित्रका गरिब बस्ती/झुग्गी झोपडीवाला बस्ती वा नेपालीमा सुकुमबासी बस्तीको शब्दावली पहिलो पटक सन् १८१२ मा प्रचलनमा ल्याइएको थियो । अन्तबाट लखेटिएर आएका वा फ्याक्ट्रीमा काम गर्न ल्याइएका गरिव मानिसहरू छाप्रो हालेर बस्न थाले ।
योजनाविहीन छाप्रो हालेर बस्ने क्रम बढ्दै स्थायी बसोबासको रूप लिएपछि पछि त्यसैलाई स्लम्प भनियो । भारत र अमेरिकामा यस्ता धेरै अव्यवस्थित बसोबासका पुस्तौनी सुकुमबासी बस्तीहरू रहेका छन र यस्ता बस्तीहरूको पछि अन्तर्राष्ट्रियकरण नै हुन पुग्यो । अत्याधिक भीडभाडवाला यी बस्तीहरू अशिक्षा, गरिवी, भोकमरीका तथा बेरोजगारी आदि चरित्रका रूपमा नै देखा पर्छन ।
एउटा गणना अनुसार सन् २००१ म ९२ करोड १० लाख मानिसहरू झुग्गी झोपडीवाला सुकुमबासी बस्तीहरूमा जीवन गुजार्न बाध्य रहेको जनाइएको थियो, (Martin Ravallion, On the urbanization of poverty, World Bank paper, 2001) ।
माइक डेभिसको किताब ‘प्लानेट अफ स्लम्स ’का अनुसार सहरी झुग्गी झोपडीमा बसोबास गर्नेहरूमध्ये इथियोपियामा ९९.४ प्रतिशत, चादमा ९९.४ प्रतिशत, अफगानिस्तानमा ९८.५ प्रतिशत र नेपालमा ९२ प्रतिशत मानिसहरू गरिबीको उच्च चापमा रहेका छन् ।
यस्ता गरिबमध्ये थोरैले सहर अवस्थित फ्याक्ट्रीहरू, तथा सरकारी संस्थाहरूमा काम गर्ने अवसर पाउँछन् । अलि थोरैले गैह्र सरकारी कार्यालयहरूमा सानो कर्मचारीका रूपमा र सहरका सभ्रान्तहरूकहाँ घरेलु नोकरका रूपमा कामको अवसर प्राप्त गर्छन् । अधिकांश परिवारहरू थोरै उत्पादन वा कमाइबाट गुजारा गर्न बाध्य हुने गर्छन् ।
त्यसैले अधिकांश बालबच्चाहरूमा कुपोषणको सिकार बन्नु पर्ने अवस्था आउँछ । दिल्लीको झुग्गी झुपडीहरूको बारेमा एउटा सर्भेले सुकुमबासी भित्रका सुकुम्बासी रहेको जनाएको थियो । यसको अर्थ सहरले आफूभित्र बसोबास गरिरहेका सामान्य मानिसहरूको जीवन पद्धति सुधार्न कुनै वैकल्पिक व्यवस्था तयार पारेन भने ती सर्वसाधरणलाई सहरले धान्न गाह्रो पर्छ ।
कुनै पनि सहर त्यो समयमा मात्र सस्तो हुन्छ, जब सस्ता दाममा मजदुरी गर्नेहरू भेटिन्छन् । माथि उल्लेख गरिएझैँ जापानको टोकियो संसारकै पुरानो मेगा सिटी हो र दिल्ली नयाँ मेगा सिटी । दिल्लीभन्दा टोकियो सयौँ गुणा महँगो छ । यसको पहिलो कारण हो दिल्लीमा सस्तो मजदुरीमा काम गर्ने जनसंख्या धेरै छन् ।
धनाढ्य सरकारी पदाधिकारीहरू सहर सफासुग्घर, चिटिक्क राख्न रहर गर्छन् । त्यसकारण उनीहरूका आँखामा सहरका किनारमा रहेका झुग्गी झोपडीहरू आँखामा बिझाँउछन । त्यसैले बेलाकुबेला सुकमवासी हटाउन बल प्रयोग गर्छन् । जस्तो उहिलेको पेरिसमा गरिएको थियो । सन् १८५०–६० को दशकमा पेरिसलाई ‘दि सिटी अफ लाइट’ भन्ने गरिन्थ्यो ।
हुन पनि त्यो सहर उपभोक्ताहरूको सहर बनेको थियो । राम्रा क्याफेहरू थिए, ठूला बडेमानका डिपार्टमेन्टल स्टोर्सहरू थिए, फेसन इन्डस्ट्री चम्किएको थियो । उपभोक्तावाद धेरै दिन टिकेन किनकि जुन रफ्तारमा खर्च बढी रहेको थियो त्यो तुलनामा धनको सञ्चिति अवरुद्ध हुन पुग्यो ।
ऋण लिएर सहर धान्न जब कोशिस गरियो त्यसपछि सहरको अनुमानमा आधारित लगानी गर्ने काम अचानक टुट्यो र अर्थतन्त्र धरासायी हुन पुग्यो । यो सन् १८६८ मा भएको घटना थियो । यसको असर सबैभन्दा पहिला स्लममा पर्नु अस्वभाविक थिएन । त्यही अप्ठ्यारोमा संसारको इतिहासमा सहरी विद्रोह हुन पुगेको थियो, जस्लाई हामी पेरिस कम्युन भनेर जान्दछौँ ।
सन् १९६८ को विश्वव्यापी बनेको विद्यार्थी आन्दोलन यस्तै घटनाहरूको संग्रहका कारण उब्जिएको थियो । खास गरेर बैंक तथा वित्तीय संस्थाहरूको कारण । त्यही कारणले ५ वर्षपछि सन् १९७३ मा सम्पत्तिको अवमूल्यनका कारण ‘पोपर्टी मार्केट बबल’ जन्मिन पुगेको थियो ।
यस्तै घटना सन् १९९० पछि आम रूपमा विस्तार हुँदै गयो जस्तो सन् १९९५ मा मेक्सिको, सन् १९९८ मा रुस र दक्षिण एसियाली वित्तिय संकट, सन् २००४ मा अर्जेन्टिनी संकट र सन् २००८/०९ मा अमेरिकी संकट ।
अर्को वैकल्पिक दृष्टिकोणबाट हेरियो र व्यवहार गरियो भने कुनै पनि सहरलाई अपनत्व बोध हुने गरीे साझा सहर बनाउन सकिन्छ । सहरीकरण आजको आवश्यकता हो । सबै खालका पूर्वाधारहरूमा (शिक्षा, स्वास्थ्यलय, खानेपानी, विजुली, मनोरञ्जन, पार्क, विश्वविद्यालय, सञ्चार, सार्वजनिक यातायात आदि) आम जनसमुदायको पहुँच पु¥याउनका लागि सहरीकरण हुँदा कम व्ययभारमा सबैलाई सुविधा उपलब्ध गराउन सकिन्छ ।
पश्चिमा पुँजीवादी मुलुकहरूका अनुभवहरूभन्दा चीनको सहरीकरण गर्ने प्रक्रिया पृथक देखिन्छ । चीनले गएको दुई दशकको समयमा (सन् २००१देखि २०२१) सबैभन्दा बढी पूर्वाधार विकासमा आफ्नो ध्यान केन्द्रित गरेको देखिन्छ । पूर्वबाट पश्चिम फर्किने चिनियाँ नीतिमा पूर्वाधारमार्फत उत्पादन बढाउने र रोजगारीमार्फत खपत बढाउने नीति अख्तियार भयो । उनीहरूले यस बिचमा सबैभन्दा बढी सिमेन्ट उत्पादन गरे मात्र होइन, संसारले खपत गर्ने सिमेन्टको आधा हिस्सा चीन आफैले खपत ग¥यो । त्यही अनुपातमा स्टिल उत्पादन र अन्य उत्पादनहरू पनि बढे ।
सन् २००० देखि सन २०२० सम्म उनीहरूले लगभग ६ देखि १० लाख जनसंख्या अट्ने २ सयभन्दा बढी स्मार्ट सहरहरू निर्माण गर्न पुगे । बीआरआई अर्थात ‘रोड एन्ड बेल्ट इनिसियटिभ वास्तवमा सडक लगायतका पूर्वाधार मात्र थिएन नयाँ नयाँ सहरीकरणको अभियान पनि थियो । सहरीकरणसँगै आवश्यक पर्ने उत्पादन, आम सर्वसधारणका लागि आवासको प्रबन्ध, त्यही अनुसारको पूर्वाधार निर्माण सँगसँगै गर्नु पर्ने हुन्थ्यो ।
अन्तमा…
सहरलाई सबैको साझा सहर नबनाउने हो भने सामाजिक अन्तरविरोधहरू बेहोर्नै पर्ने हुन्छ । एउटा सहर बढी नै भीडभाडयुक्त भयो भन्ने लाग्यो वा मानिसहरू बसाइसराई तीव्र भयो र सहरमा चाप बढी भयो भन्ने लाग्यो भने सत्ताधारी वर्गले अरू बढी वैकल्पिक अन्य सहरहरू बनाउनु समय र नगद दुवै खर्च गर्नुपर्ने हुन्छ तर अहिले पूर्वाधार निर्माणका जुन विधि र प्रक्रियाहरू अपनाइएका छन, जसरी सहर निर्माण वा पूर्वाधार निर्माणका प्रोजेक्टहरू छानिन्छन् र ती विधि र प्रक्रियाले त्यस्तो चापलाई रोक्न वा कम गर्न सक्तैन ।
वास्तवमा मुलुकभित्र रहेको वा मुलुकमा भित्रिने ऋण वा सहयोग परिचालन जुन कुरा उत्पादन गर्ने लक्ष्य लिएर भित्रन्छन् त्यसमाथि बृहत लोकतान्त्रिक नियन्त्रण (democratic control over the production and utilization) हुन जरुरी हुन्छ । त्यसैगरी व्यवस्थापन र रोजगारी वितरणको सन्दर्भमा समेत पारदर्शिता अपनाइनु पर्ने हुन्छ ।
लोकतान्त्रिक नेपालले बिताएको तीन दशकलाई फर्केर हेर्दा बडा भद्दा मजाक गरेर सत्ताधारीहरूले समय व्यतीत गरेझैँ लाग्छ । खासगरी राजधानी काठमाडौँलाई नियाल्दा यस्तो अनुभूति हुन्छ । सहर हुनका लागि आवश्यक पर्ने कुनै पनि साधन, स्रोत र पूर्वाधारहरू पर्याप्त मात्र छैनन् मात्र होइन, भएका पनि प्रयोग गर्ने पर्याप्त आधार छैनन् । जस्तो टोलमा आगलागी भयो भने आगो निभाउन दमकल छिर्ने बाटो छैन ।
सार्वजनिक पार्क र खाने पानीको व्यवस्था छैन । सस्तो सुलभ यात्राका लागि सार्वजनिक यातापात प्रणाली व्यवस्थित गरिएको छैन । सार्वजनिक अस्पताल र स्कुलहरू कहीँ कतै व्यवस्थित छैनन् । नवउदारवादी व्यक्तिवाद र कर्पोरेट क्यापिटलसँग मिलिभगत गरेर हलक्क अग्लिएको नवधनाढ्य वर्ग आफ्ना लागि मात्र सहर हुनु पर्छ भन्ने कुरा प्रदर्शन गर्न खोजिरहेका छन ।
यसले निम्त्याउने भनेको सहरी विद्रोह नै हो किनकि सीमित सहरमा सवै किसिमका शक्ति जम्मा गरेपछि रित्तो मान्छे परिवार सहित सहर नै पस्ने हो । उनीहरूकै बहुमत हुने हो । खाली हात सुविधाविहीन भएर गाँउमा कसरी एउटा परिवार बाँच्न सक्छ र ?
(टक्सार म्यागजिन, २०७९ पुस, पृष्ठ २६ देखि ३० सम्म)
प्रतिक्रिया दिनुहोस्