सूचना प्रविधिको क्षेत्रमा अध्ययन गरेर अगाडी बढ्छौं: मन्त्री शर्मा


काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा अध्ययन गरेर अगाडी बढ्ने बताएकी छन् ।

क्यान इन्फोटेक मेलाको उद्घाटन गर्दै मन्त्री शर्माले सरकारले योजनाबद्धरुपमा काम गर्न नसकेको अब अध्ययन गरेर अगाडी बढ्ने बताएकी हुन् ।

उनले भनिन्, “सरकारले योजनाबद्धरुपमा काम गर्न सकेको छैन । हाम्रो जनशक्तिलाई विदेश पलायन हुनबाट कसरी रोक्न सकिन्छ त्यसको पनि हामीले अध्ययन गर्नुपर्छ ।”

मन्त्री शर्माले सानो कुरामा सरकारले ध्यान नदिँदा धेरै रकम बाहिरिने गरेको बताइन् । आर्थिक वृद्धिको लागि यो सूचना प्रविधि क्षेत्र महत्वपूर्ण रहेको उनले बताइन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कोभिडको कारण केहि समस्या देखिएपनि सूचना प्रविधि क्षेत्रमा नेपालले धेरै विकास गरेको बताए ।

उनले भने, “कोभिड महामारी पछि हाम्रो डिजिटलाइजेसनको सुरुवात भएको हो । सूचना प्रविधि क्षेत्रमा नेपाल धेरै अगाडी बढिसकेको छ । नेपालमा निर्माण भएका सफ्टवेयर विदेशी कम्पनीका सफ्टवेयरसँग प्रतिस्पर्धा गर्न सक्ने भइसकेका छन् ।”
उनले सरकारले पहिले नेपाली उत्पादनलाई प्रथमिकता दिनुपर्ने बताए । उनले सरकारले यो क्षेत्रलाई प्राथमिता नदिएसम्म अगाडी नबढ्ने उल्लेख गरे ।

नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लले विदेशबाट लगानी गर्न आउने कम्पनीसँग नेपाली इन्जिनियरहरुसँग साझेदारी गरेर अगाडी बढ्नुपर्ने बताएका छन् ।

उनले भने,“नेपालमा लगानी गर्न आउने ह्वावे जस्ता कम्पनीसँग नेपाली इन्जिनियरसँग साझेदारीगरेर अगाडी बढ्नुपर्छ । यो भयो भने नेपालले पनि त्यस क्षेत्रको बारेमा थप बुझ्न सक्दछ । नेपाली इन्जिनियर र विदेशी कम्पनीलाई सयुक्त लगानी गर्ने वातावरण बनाउनुपर्छ ।”