सोमबारबाट ७० अंक ल्याए ट्रायल पास


काठमाडौँ । बागमती प्रदेशमा ७० अंक ल्याए ट्रयाल पास हुने निर्देशिका फागुन २ ९सोमबार० देखि लागू हुने भएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार ७० अंक ल्याए लिखित तथा ट्रायल परीक्षा पास हुने उल्लेख गरेको छ । सोमबारदेखि ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ सञ्चालन हुने जनाइएको छ।

यातायात व्यवस्था विभागले २०७८ जेठदेखि नै निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने बताए पनि सबै प्रदेश सरकारले लागू गर्न सकिरकेको थिएन ।

यस निर्देशिका अनुसार सोमबारदेखि लागू हुने व्यवस्थामा मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकिएको भए पनि ७० अंक ल्याए ट्रायल पास हुने उल्लेख गरिएको छ ।

यस व्यवस्था अनुसार ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने छ । बागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेडचालकका लागि घुमाउरो आठ आकारको अंकभार २० तोकिएको छ । दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक पाँच अंकका दरले १० अंकभार घट्नेछ, तर पनि ट्रायल भने फेल भइँदैन ।

दुईपटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ ।

यसैगरी, साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्किए पनि अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा युटर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् ।