राष्ट्र बैंककाे सर्वेक्षण: एक वर्षमा १२ प्रतिशत मूल्यवृद्धि हुने अनुमान


काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा ९२.३ प्रतिशत मानिसले मूल्य वृद्धि हुने अनुमान गरेका छन् । राष्ट्र बैंकले २०७९ पुष २४ गतेदेखि पुष ३० गतेसम्म ६० बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तरवार्तामार्फत सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणमा २ हजार १० जना उत्तरदाताहरुसँग प्रश्न गरिएको थियो । जसमा ८४.६ प्रतिशत उत्तरदाताले तीन महिनामा मूल्य वृद्धि हुने अनुमान गरेका छन् भने ९२.३ प्रतिशतले उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अनुमान गरेका छन् ।

खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा बढेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा केही घटेको छ ।

तीन महिना पछि र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति २०७९ असोजको तुलनामा समान रहेको तीन महिना पछिको औसत र एक वर्ष पछिको औसत अपेक्षित मुद्रास्फीति घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

तीन महिना र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको छ ।