‘सुनको आवश्यकता पूरा गर्न कठिन’


काठमाडौं । दैनिक १० किलो मात्र कच्चा सुन आयात हुने गरेकोले आम उपभोक्ताको आवश्यकता पुरा गर्न कठीन भएको जनाइएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा सुनचाँदी तथा रत्न आभुषण क्षेत्रको विकास र विस्तार हुँदै गर्दा सरकारले दैनिक १० किलोग्राम सुनको आपूर्ति व्यवस्था गरेकोले उपभोक्ताको आवश्यकता पूरा गर्न कठीन भएको जनाएको हो ।

बजारमा सिजनको समयमा दैनिक ४० किलोको हाराहारिमा र अफ सिजनको समयमा पनि झण्डै १० देखि १५ किलोको हाराहारिमा कच्चा सुनको माग हुने भए पनि सरकारले अहिले दैनिक १० किलो मात्र कच्चा सुन आयात अनुमति दिएको छ ।

निर्धारित कार्यविधि अनुरूप तीनै महासंघका सदस्य व्यवसायीहरुले अत्यन्त थोरै मात्रामा प्राप्त गर्ने उल्लेख गरिएको छ।

महासंघले विदेशबाट नेपालीहरुले लिएर आउने सुनले बजारको मागलाई केही हदसम्म भरथेग पुयाइरहेको अवस्था जनाएको छ । बैंकवाट आउने सुन वाहेक विदेशवाट आउने नेपालीहरुले विना भन्सार ५० ग्राम सम्म र भन्सार तिरेर थप १०० ग्राम सुनका गरगहना ल्याउन पाउने व्यवस्था रहेको छ ।

महासंघले पछिल्लो समयमा यसरी ल्याइएका सुनका गरगहनाहरुलाई प्रहरी प्रशासनले जफत गर्ने, सुनको कारोबार गर्ने व्यवसायीहरुलाई पक्रने, अनावश्यक दुःख दिने, मानसिक तनाव दिन लागेको जनाएका छन् । राज्यले तोकेको मापदण्ड अनुरुप ल्याइएका सुनका गरगहनाको कारोबार गर्ने व्यवसायी लाई अपराधी जस्तो व्यवहार गर्न थालिएको महासंघले उल्लेख गरेका छन् ।

सरकारले सुनका गरगहना नेपाल ल्याउँदा सम्वद्ध चेकजाँच गर्ने स्थान (भन्सारनाका) मा नै त्यसको वैधता परीक्षण गर्न आवश्यक हुन्छ । भन्सार वाट विविधत रुपमा ल्याइएका गरगहनाहरु त्यस पश्चात व्यवसायीको पसल, निमा जम्मा हुँदा त्यसैलाई अवैध सम्झने, गरगहना देख्ने वित्तिकै त्यस प्रति गलत आसंका गर्ने, व्यवसायीलाई सित र आतंकित बनाउने, अनुसन्धानका नाममा अनावश्यक दुःख दिने जस्ता कार्य निन्दनिय छन् ।

महासंघले २०६६ साल चैत्र ३१ गते देखि सुनचाँदी बजार एकाधिकार रुपमा परिमाणात्मक बन्देज (कोटा) प्रणालीमा वाणिज्य बैंकहरुको मात्र एकल आपुर्तिबाट संचालन हुँदा निजी क्षेत्रका वैधानिक रुपमा पेशा व्यवसाय दर्ता गरेर व्यवसायीहरुले यस क्षेत्रको बजारमा प्रतिस्पर्धा गर्न नपाउँदा बजार एकपक्षिय र अन्यायपूर्ण रुपमा संचालन हुँदै आएको उल्लेख गरेको छ।

तीनै महासंघले स्वदेशी रोजगार सिर्जना गर्दै पेशा व्यवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न राज्यका तर्फबाट प्रष्ट मापदण्ड (निर्देशिका) ऐन, कानून बनाई लागु गर्न सरकारसँग माग गरेका छन् ।